काठमाडौं : माधवकुमार नेपाल समूहका नेता तथा कार्यकर्तालाई रनभुल्लमा पार्नेगरी हिजो साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको 'आह्वन'मा नेपाल कम्युनिस्ट पार्टी विभाजन हुनुको दोष पुष्पकमल दाहाल प्रचण्डमाथि थोपरिएको छ। त्यसको प्रत्युत्तर दिँदै प्रचण्डले आज ट्विट गरेका छन्।
'प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ,' प्रचण्डले सोमवार दिउँसो ट्विटमा लेखेका छन्, 'त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु।'
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ । त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु ।
— ☭ Comrade Prachanda (@cmprachanda) June 7, 2021
के थियो ओलीको आक्षेप?
हिजो प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६ वटा शर्त सहित पार्टी एकताका लागि आह्वान गरेका थिए। उनले २०७५ जेठ ३ गते पूर्वको अवस्थामा फर्कन तयार रहेको बताउँदै सर्वोच्च अदालतमा दिएको रिटबाट सांसदहरुको हस्ताक्षर फिर्ता गर्नुपर्ने शर्त तेर्स्याएका छन्। ६ बुँदे शर्तभन्दा माथि लामो पृष्ठभूमि छ ओलीको आह्वानमा।
'सर्वोच्च अदालतले त नेपाल कम्युनिस्ट पार्टीको नाम पहिल्यै निर्वाचन आयोगमा दर्ता रहेको हुनाले त्यससँग नाम जुध्नेगरी गरिएको दर्ता मिलेन भनेको हो। एकता कायम राख्ने भए नयाँ नाम प्रस्ताव गर भनेको हो,' ओलीले लेखेका थिए, 'तर पुष्पकमल दाहाल प्रचण्डको अनिच्छाका कारण मेरो प्रयास सफल हुन सकेन।'
ओलीले विभाजन अदालतको फैसलाका कारण नभएको दावी समेत गरेका छन्। 'अदालतको फैसला एकीकरणको प्रक्रिया भङ्ग हुनुको मुख्य कारण थियो भनेर कतिपयले टिप्पणी गर्छन्। तर त्यो यथार्थ होइन,' ओलीको दावी थियो।