काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्नो प्रमुख उद्देश्य कोरोना भाइरसको महामारीबाट देशलाई मुक्त गर्नु भएको बताएका छन्। सोमबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमार्फत् उनले नागरिकको जीवन बचाउनका लागि दायित्व पूरा गर्ने बताए।
'आम मानिसको जीवनभन्दा ठूलो केही छैन त्यसका लागि सबै भूमिका निर्वाह गर्छु,' उनले भने। सहज उपचार पहुँचका लागि देशभरका एक सय ५६ वटा सरकारी अस्पतालहरूमा सेवा प्रदान गरेको समेत उनले जानकारी दिए।
मन्त्री तामाङले कोरोना कहरबाट नागरिक जोगाउन खोप व्यवस्थापनमा जोड दिएको बताए। हरेकलाई खोपको सुनिश्चितता प्राथमिकताको विषय भएको उनको तर्क थियो।
'बजेट छुट्याएरै खोप ल्याउने तयारी भइरहेको छ। जनस्तरबाट पनि हरेक सुरक्षा मापदण्ड अपनाएर साथ दिन आग्रह गर्छु,' उनले भने।
७ सय ५३ स्थानीय तहमध्ये ६ सय ४९ वटामा अस्पताल निर्माण प्रक्रिया अघि बढेको उनको दावी छ। जसका लागि आउँदो असार मसान्तसम्ममा टेन्डर प्रक्रिया सक्काउने बताए। यसलाई जनस्वास्थ्यको हकमा सुधारात्मक सुरुवातको संज्ञा दिए।
'तेस्रो लहरमा बालबालिकामा अट्याक गर्ला कि भन्ने विज्ञहरूको अनुमान र सुझावमा ध्यान दिँदै सातै प्रदेशमा बाल अस्पताल निर्माण पनि हाम्रो योजनामा रहेको छ,' उनले भने।
मन्त्री तामाङले बिरामीका आफन्तले 'उपचार गराउँदा गराउँदै बीस लाख सकिएको भन्दै शुल्क घटाउन आग्रह गरेको बताउँदै उनले आधारभूत तहमा स्वास्थ्य सेवाको पहुँच र नि:शुल्क सेवा बिस्तारमा जोड दिने दावी गरे। यसका लागि बिमाको कार्यक्रमलाई आम नागरिकको पहुँचको विषय बनाउने सुनाए।
यी सबै योजनाहरू पूरा गर्ने क्रममा कुनै त्रुटि भए खबरदारीको जिम्मेवारी भने आम नागरिकको भएको बताए। 'मन्त्रीको हैसियतले गर्ने सबै काम पारदर्शी राख्छु। र प्रश्न वा सुझावलाई स्वस्थ रुपमा ग्रहण गर्छु,' उनले भने।
सम्मेलन मार्फत् नै मन्त्रीले आफ्नो सम्पत्ति विवरण समेत सार्वजनिक गरे। यस प्रक्रियालाई सार्वजनिक पद धारण गरेका सबैको जिम्मेवारी भएको बताए।
'मन्त्री भएको हैसियतले मैले सार्वजनिक गर्न लागेको हुँ। म अवसर र चुनौती चाहन्छु। यसलाई फेस गरेर नेपाली जनतालाई सुरक्षित राख्ने जिम्मेवारी अब मेरो हो।'
