PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

गाउँपालिका अध्यक्षमाथि यौनजन्य हिंसाका अभियुक्त भगाएको आरोप, अनुसन्धानमा असहयोग गरेको प्रहरीको गुनासो



राधेश्याम पटेल

गाउँपालिका अध्यक्षमाथि यौनजन्य हिंसाका अभियुक्त भगाएको आरोप, अनुसन्धानमा असहयोग गरेको प्रहरीको गुनासो

वीरगंज : पर्साको पश्चिमी क्षेत्रमा पर्ने जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाले यौनजन्य हिंसाका अभियुक्तलाई भगाएको आरोप लागेको छ।

जगरनाथपुर गाउँपालिका वडा नं ४ मा शनिवार साँझ भएको एउटा बलात्कारको घटनाको अभियुक्तलाई मियाले भगाएको पीडित परिवार र स्थानीयले अरोप लगाएका हुन्।

पीडित परिवारका एक सदस्यका अनुसार घरमा कोही पनि नभएका बेला साँझ ६ बजेको समयमा २२ वर्षीय एक युवकले १५ वर्षीया किशोरीको घरमा पसेर मुख्य ढोका बन्द गरी बलात्कार गरेका थिए। किशोरीको भाइ घरमा आउँदा युवक त्यहाँबाट भागेका थिए। दिदीको अवस्था देखेपछि भाइले प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी गराएका थिए।

अभियुक्तले विगत एक महिनादेखि मौका छोपी किशोरीको बलात्कार गर्दै आएको र अभिभावकलाई भने मारिदिने धम्की दिँदै आएका थिए। घटनाको जानकारी पाएपछि प्रहरी चौकी पाडेपुर र सेढवाको प्रहरी टोली गाउँमा पुगेको थियो। प्रहरीले किशोरीको प्रारम्भिक भिडियो बयान पनि लिएको छ। तर त्यसअघि अभियुक्तलाई गाउँपालिका अध्यक्ष मियाले भगाएको पीडित परिवारको आरोप छ।

‘घटनापछि केटा डराएर आफ्नो घरमा लुकेर बसेको थियो, प्रहरी खोज्दै आउँदा उनलाई भगाइयो, त्यसपछि गाउँमै पञ्चायतीबाट कुरा मिलाउने भनेर अध्यक्ष मियाले राति र विहान गरेर दुईपटक दुई पक्षबिच पञ्चायती गरेका थिए,’ पीडितका एक आफन्तले भने।

अनुसन्धानमा असहयोग

पीडित परिवारले घटनाबारे खबर गरेपछि प्रहरीले अनुसन्धान थाल्यो। तर त्यसमा गाउँपालिका अध्यक्ष मियाले असहयोग गरे। प्रहरीलाई गाउँमै पस्न नसक्ने वातावरण सिर्जना गरे। पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले घटनामा गाउँपालिका अध्यक्ष मियाले निकै असहयोग गरेको गुनासो गरे। मियाको असहयोगले अभियुक्त फरार हुन सफल भएको र पीडित किशोरीसमेत सम्पर्कमा नरहेको बताए।

राति प्रहरी गाउँमा गएर किशोरीलाई मेडिकल परीक्षणको लागि वीरगंज ल्याउन खोज्दा पीडितका परिवाजन र गाउँलेले आउन नदिएको एसपी पाण्डेले बताए। ‘अध्यक्ष मियाले आइतवार विहान पीडितलाई वीरगंज पठाइदिने भनेका थिए, तर पठाएनन्। उल्टै वेपत्ता बनाएका छन्। किशोरीको बुवालाई नियन्त्रणमा लिएर अभियुक्त र पीडितको खोजी कार्य भइरहेको छ,’ उनले भने।

यता, गाउँपालिका अध्यक्ष मियाले आफूमाथि लागेको सबै आरोप निराधार भएको दाबी गरे। मियाले बलात्कारको घटनै नभएको दावी गरे। मियाले युवक र युवतीबिच लामो समयदेखि प्रेम सम्बन्ध रहेको र पीडित भनिएकी किशोरीको उमेर २० वर्ष रहेको दावी पनि गरे। उनले भने, ‘किशोरीको उमेर २० वर्ष छ। केटासँग विवाह गरिदिने निर्णय दुवै परिवारले गरेका छन्। हामीले पञ्चायती गरेकै छैनौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell