PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

‘आमाको लागि कोसेली होइन बाको लागि औषधि बोकेर गएको त्यो औँसी’



पहिलोपोस्ट

‘आमाको लागि कोसेली होइन बाको लागि औषधि बोकेर गएको त्यो औँसी’
फाइल फोटो

  • करुण विक्रम महत-

बिहानको ५ मात्र बजेको थियो। फोनको घन्टी बज्यो। स्क्रिनमा नानीको नम्बर देखेपछि नउठाउने कुरै भएन। म बस्ने कोठामा फोनको नेटवर्क राम्रो छैन। आवाज प्रष्ट सुनिएन। केही बेरपछि फेरि फोन गरेपछि लाग्यो -केही आपत् पो पर्‍यो कि? साँच्चै यस पटक उहाँको आवाज केही आत्तिएको थियो।

अस्पष्ट सुनियो तर थाहा पाएँ, बुबालाई केही भयो।

'बुवालाई त खै के भयो के, दुई दिन भयो खाना पनि राम्ररी खानुभएको छैन। रातभर ज्यान दुख्यो भनेर सुत्न नि सक्नुभएको छैन। के गर्ने हो कसो गर्ने हो? तिमी घर आउन मिल्छ?

अप्रत्याशित प्रश्न थियो त्यो।

महामारी चलिरहेको अवस्था। घरमा ८१ वर्षीय बावु बिरामी भएको खबर आयो। जोखिम मोलेरै पनि पुग्नु त पर्‍यो,बिदा मिले पनि नमिले पनि। मनमा अनेक तर्कना बोकेर हान्निएँ घरतर्फ।

वैशाख २८ अर्थात् आमाको मुख हेर्ने दिन थियो त्यो। त्यसअघि मातातीर्थ औँसीको दिन बेशीशहर बजार त्यति सुनसान कहिल्यै देखेको थिइनँ।

करिब ८ बजेतिर भोटेओडार पुगें। दिदीको घर बाटो छेउमै छ, भिनाजु स्वास्थ्यकर्मी भएकाले त्यहाँ पसेर बुवाको लागि के औषधि लैजाने भन्ने सल्लाह गरें। ज्यान दुखेको ठिक पार्ने औषधि खुवाउने सल्लाह दिनुभयो अनि घरतर्फ लागें।

घर पुगेँ। तर, यो पटक औँसीमा समेत मेरो हातमा आमाका लागि उपहार थिएन। बुवाको लागि औषधि थियो। आमाले टीका लगाइदिनुभयो। खाना खाएपछि मात्र बुवालाई औषधि दिएँ। उठ्दा उहाँमा औषधिको प्रभाव देखियो। अघिल्लो दिनभन्दा उर्जा केही पलाएको थियो रे। निद्रा त पर्‍यो तर अरुचि उस्तै। एक गाँस पनि खान नसक्ने। खानै नसकेपछि औषधिले जगाएको उर्जा कतिन्जेल रहनु? उहाँलाई गाह्रो हुँदै गयो।

संक्रमण बढ्दो थियो। जिल्ला अस्पताल पुर्‍याउन पनि जोखिम नै हुने। साम्य हुन्छ कि भन्ने पर्खाइ थियो। तर, नतिजा ठिक उल्टो भयो। भोलिपल्ट बिहान नानी अर्थात् मेरी ठूली दिदीलाई रुघा लाग्यो। ज्वरो पनि देखियो, १०० डिग्री फरेन्हाइट। उहाँलाई सिटामोल र साइनेक्स दियौं। दिउँसोतिर ज्वोरो हटेपछि केही राहत मिल्यो।

अर्कोदिन बिहान आमालाई ज्वरो आयो, रुघासहित। उहाँलाई पनि घरमै औषधि खुवायौं। उहाँलाई पनि दिउँसोपख केही राहत महसुस गर्नुभयो। हामीले पनि शान्तिको सास फेर्‍यौं।

वैशाख ३१ गते बिहानतिर, सामाजिक संजाल हेर्दै थिएँ। मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेको पोस्ट देखेँ। त्यसमा लेखिएको थियो: पीसीआर परीक्षणका लागि प्रत्येक वडामा घुम्ती स्वाब संकलन गर्ने कार्यक्रम छ।

सोही दिन हाम्रो वडाको स्वास्थ्य चौकीमा स्वाब संकलन गर्ने कार्यक्रम रहेछ। घरमा सबै जना बिरामी भएकाले परीक्षण गराउन मन लाग्यो। त्यतिन्जेल बुवालाई पखला समेत चल्न थालेको थियो। खाना नखाने अनि पानी मात्र पिउँदासमेत पखाला। यस्तो बेला स्वास्थ्यकर्मीकै सुझाव पनि परीक्षण गराउने नै रह्यो। रिपोर्ट आउन चाहिँ एक साता लाग्ने रे।

जेठ १ गते मेरो जन्मदिन थियो। यस वर्ष मनमा कुनै हर्ष थिएन। घरका सबै बिरामी हुँदा कामनाहरू पनि फिका हुँदा रहेछन्। फेरि त्यही दिन आमाको ज्वरो बल्झिएको थियो। त्यतिखेर हतार भयो रिपोर्टको। तर, पर्खनुको विकल्प थिएन। तत्कालका लागि मेडिकलबाट औषधि ल्याएर खुवाएँ।

भोलिपल्ट सबै जनाको स्वास्थ्यमा पहिलेभन्दा सुधार देखियो। बाध्यताबस् म सबैलाई छाडेर कार्य क्षेत्रतर्फ लागेँ।

बुवालाई खाना रुचोस् भनेर भोटेओडारबाट दिदीले आयुर्वेदिक औषधि पठाइदिनु भएछ। बिस्तारै खाना रुच्यो रे बुवालाई। आमार नानीलाई पनि रुघा, ज्वोरो सबै ठिक भएछ। तर पनि मनले कहाँ मान्नु? आमालाई माइग्रेनको समस्या भएकाले औषधि लिएर जेठ १० गते घरतर्फ लागें। साँझ घर पुगेँ। सबै जनालाई केही बिसेक थियो। तर, एघार दिनअघि गरेको पीसीआर परीक्षणको रिपोर्ट त्यतिन्जेल आएको थिएन।

स्वास्थ्यमा सुधार भएकाले रिपोर्टको बास्ता गरेनौं। यदि स्वास्थ्यमा कुनै समस्या देखिन्थ्यो भने? पीसीआरको रिपोर्ट बिना अस्पतालले भर्ना लिँदैन। त्यो अवस्थामा पुगेकाले के गर्ने?

बाह्रौं दिन आएको रिपोर्टले भन्यो -घरका सबैमा कोरोना भाइरसको संक्रमण पोजेटिभ। मनमा चिसो पस्यो। कसैमा लक्षण बाँकी थिएन तर संक्रमणको दीर्घकालीन असर के हुने हो? मनमा कुरा खेल्यो।

जिल्लादेखि प्रदेशसम्मका स्वास्थ्यकर्मीसँग सल्लाह माग्यौं। उहाँहरूले स्वास्थ्य स्थिति राम्रो भएकाले लिँदा पुनः परिक्षण नगर्न निर्देशन दिए।

तर, त्यस अवस्थामा हाम्रो परिवारले जे जति सहनुपर्‍यो त्यो भने भयावह रह्यो। शत्रु खोज्न धेरै टाढा जानु पर्दैन भनेजस्तै भयो। गाउँतिर हल्ला त पीसीआर गरेदेखि नै चलेको हो। रिपोर्ट आएपछि त झन् कुरा काट्न थालेछन्। हाम्रो रिपोर्टले गाउँमा उग्र रुप लियो।

अरुबेला जसलाई गाह्रो-साह्रो पर्दा हाम्रै सहयोग चाहिन्थ्यो उनीहरूले एक कल समेत गरेनन्। कस्तो छ? केही सहयोग चाहिन्छ? भनेर सोधेनन्। बरु कोरोना संक्रमण हुनुलाई अपराध गरेसरह माने। तर, गुनासो के नै रह्यो र? हामी थियौं, एकअर्काको लागि।

रिपोर्ट पोजिटिभ आएपछि नगरपालिका र स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मी आएर सबै जनाको स्वास्थ्य परीक्षण गरे। अवस्था बुझे। सबै सामान्य नै रहेकाले नआत्तिन सुझाव दिए।

बुवा भने सधैँझै सचेत। फेरि एक पटक सबैको पीसीआर परीक्षण गर्ने अनि मात्र ढुक्क हुने सोचमा हुनुन्थ्यो। उहाँ चाहनु हुन्नथ्यो, हामीमध्ये कसैबाट गाउँका अरु कसैमा संक्रमण नसरोस्। आफूले रोगकै कारण जुन अपहेलना सहनुपर्‍यो, त्यो अवस्थामा कोही पुग्न नपरोस्।

यो पटक नगरपालिकाबाट हामीमा कोभिड-१९ को एन्टिजिन परीक्षण गराइयो। जेठ १७ गते गरेको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आयो। अनि यो पटक काममा फर्कंदा मेरो मनमा तर्कना थिएनन्। खुशी थियो र परिवारको स्वास्थ्य लाभको कामना। जो गाउँमा कसैलाई समस्या पर्दा आफ्नो स्वस्थ्य नभनी सहयोगका लागि कुद्नु हुन्छ भन्नेमा ढुक्क थिएँ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell