काठमाडौं: विश्वकप क्वालिफायर्सको एसिया छनोट अन्तर्गत कुवेतमा जारी समूह बी को खेलमा नेपाल र जोर्डन प्रतिस्पर्धामा छन्। पहिलो हाफ सकिँदा नेपाली टोली १-० ले पछाडि रहेको छ।
खेलको सुरुबाटै आक्रामक देखिएको जोर्डनले खेलको २४ औं मिनेटमा अग्रता बनायो। जोर्डनका बाह फैसलले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै अग्रता दिलाएका थिए।
फीफा वरीयतामा ९५ औं स्थानमा रहेको जोर्डन नेपालको बलियो प्रतिस्पर्धी हो। विश्वकप छनोटकै यसअघिको खेलमा जोर्डनले नेपालमाथि ३-० को गोलअन्तरले जित निकालेको थियो।
समूह बी मा ४ खेलबाट १२ अंक जोडेको अस्ट्रेलिया शीर्षस्थानमा छ भने कुवेत ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा छ। त्यस्तै समान खेल खेलेर १० अंक नै जोडेको जोर्डन तेस्रो स्थानमा रहँदा ६ अंक जोडेको नेपाल चौथो स्थानमा छ। उता चाइनिज ताइपेइ जितविहीन रहँदै तालिकाको पुछारमा छ।