काठमाडौं: नेपाली फूटबल टोलीले जोर्डनसँगको खेलमा पराजय ब्यहोरेपछि नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडीहरुले राम्रो खेलेको प्रतिकृया दिए। उनले खेलमा जोर्डनले पेनाल्टी पाएसँगै खेलको नतिजा खराब भएको प्रतिकृया दिए।
‘आज हामीले राम्रो खेलेका थियौं। पहिलो हाफमा एउटै गल्ती भयो: पेनाल्टी। यदि त्यो पेनाल्टी थिएन भने नतिजा फरक हुन सक्थ्यो,’ प्रशिक्षक अलमुताइरीले भने, ‘हामीले हाम्रो खेलाडीको पनि ध्यान राख्नुपर्ने हुन्छ। यसमा खेलाडीलाई दोष दिनुहुँदैन, उनीहरुले भर्खर त साँच्चिकै फुटबल खेल्न थाल्दैछन्।’
अब अगाडिको अर्को खेलमा अस्ट्रेलियासँग पनि यस्तै खेल खेलाउने उनले बताए।
‘अस्ट्रेलियाले कुवेतसँग खेलेको थियो जसमा कुवेतले धेरै डिफेन्सिभ खेलेको थियो। र, अस्ट्रेलियाले ३-० ले जितेको थियो। म यदि हार्छु भने सम्मानसँग हार्छु,’ उनले भने, ‘म सन्तुलित फुटबल चाहन्छु। म अस्ट्रेलियासँग पनि यस्तै खेलाउने छु।’
विश्वकप क्वालिफायर्सको एसिया छनोट अन्तर्गत कुवेतमा सम्पन्न समूह बी को खेलमा नेपाली फुटबल टोली जोर्डनसँग पराजित भएको थियो।
खेलको सुरुबाटै आक्रामक देखिएको जोर्डनले खेलको २३ औं मिनेटमा अग्रता बनाएको थियो। पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै जोर्डनका बाह फैसल अग्रता दिलाए।
पहिलो हाफमा एक गोलले अघि रहेको जोर्डनका लागि दोस्रो गोल पनि फैसलले नै ४८ औं मिनेटमा गरेका थिए। त्यस्तै याजन अलअरबले ६७ औं मिनेटमा गोल थप्दा जोर्डनले ३-० को जित निकालेको हो।
यता नेपालका लागि दोस्रो हाफमा अञ्जन बिष्टले पाएको राम्रो अवसरमा पोस्ट बाहिर प्रहार गरेका थिए भने इन्ज्युरीसममा जोर्डनका गोलकिपरलाई बिट गरिसकेका नवयुग श्रेष्ठ बक्समा लडेका थिए।
फीफा वरीयतामा ९५ औं स्थानमा रहेको जोर्डन नेपालको बलियो प्रतिस्पर्धी हो। विश्वकप छनोटकै यसअघिको खेलमा पनि जोर्डनले नेपालमाथि ३-० को गोलअन्तरले जित निकालेको थियो।
जितसँगै जोर्डनले ६ खेलबाट १३ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। शीर्षस्थानमा १५ अंक जोडेको अस्ट्रेलिया छ भने तेस्रो स्थानमा १० अंक जोडेको कुवेत छ। त्यस्तै ६ अंक जोडेको नेपाल चौथो स्थानमा र जितबिहीन चाइनिज ताइपेइ अंकतालिकाको पुछारमा छन्।