PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कसरी भेटियो व्यस्त बस्तीमा मानिसको एउटामात्र खुट्टा? शरीरका अन्य भाग कहाँ?

कसरी भेटियो व्यस्त बस्तीमा मानिसको एउटामात्र खुट्टा? शरीरका अन्य भाग कहाँ?

सविन ढकाल/पहिलोपोस्ट


काठमाडौं : मित्रपार्कबाट पूर्वतिर झरेपछि वाग्मती नदीको करिडोर हुँदै करिब एक किलोमिटर पार गरेपछि पुगिन्छ दिब्य पार्टी प्यालेस। त्यहाँबाट दायाँतिर फराकिलो र सोझो बाटो छ बौद्धतिर जाने। त्यही बाटो पहिल्याउँदै केही अगाडि पुगेर फेरि दायाँतिरै लागेपछि देखिन्छ एउटा खाली जग्गा।

करिब तीन आना जतिको खाली जग्गाको दुवैतिर घरहरु। अगाडिपट्टि पिच गरेको रोडले छोएको अर्का तिर खाली जग्गा। खाली जग्गा हो रामजी श्रेष्ठको। मङ्गलवार बौद्ध वडा नम्बर ६ मा पर्ने यही खाली जग्गामा अचानक एउटा 'क्राइम सिन' बन्यो।

मंगलवार बिहानै यही जग्गामा बोरामा परालभित्र राखिएको मानिसको एउटामात्र खुट्टा भेटियो। खुट्टा आगोले जलाएको जस्तो पनि देखिन्छ। खुट्टा कसको? कसले यस्तो घटना गर्‍यो? अनुत्तरित यिनै प्रश्नको उत्तर बटुल्न प्रहरीको अनुसन्धान टिम जुटेको छ। तर, बिहानै टोलमा यस्तो दृश्य देखेपछि स्थानीय भने भयभित हुन पुगे।

निषेधाज्ञा नहुने हो भने यस ठाउँमा मानिसको उपस्थित बाक्लै हुन्छ। किनकि अगाडिपट्टि नै बौद्ध जाने बाटो छ। त्यस्तै घटनास्थल नजिकै बर्गर हाउस बनिरहेको छ। अतिथि फार्मेसीबाट पनि घटनास्थल प्रस्ट देखिन्छ। यस्तो स्थानमा मानिसको खुट्टा भेटिनु सामान्य कुरा भने होइन।

हत्या गरिसकेपछि शव व्यवस्थापन गर्न सुरक्षित ठाउँको खोजीमा हुने गर्छन् हत्याराहरु। तर जुन स्थानमा खुट्टा भेटियो त्यहाँ शव व्यवस्थापनका लागि अपराधीका लागि कम जोखिमपूर्ण भने छैन। हत्याको घटना शव भेटिएको स्थानमा गर्न सम्भव देखिँदैन। त्यसैले अन्य कतै हत्या गरेर खुट्टाको हिस्सा चाहिँ यहाँ ल्याएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ।

'यही ठाउँमा घटना भएको जस्तो देखिएको छैन। अन्यत्र हत्या गरेर यहाँ फ्याँकिएको हो,' महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले भने।

खुट्टा फ्याँकिएको जग्गा भन्दा ठीक अगाडि सडक पारी सुन्दर खड्काको घर छ। खुट्टा भेटिएको स्थान र घरको दुरी करिब ३० मिटरभन्दा धेरै छैन। तर, सबैको आँखा छलेर शव फ्याँकेर मानिस यहाँबाट कसरी उम्कियो? अहिलेसम्म प्रहरीको अनुसन्धानमा खुट्टा ल्याएर फ्यालेको देख्ने मानिस भेटिएको छैन।

बोरा खोलेर हेर्दा परालभित्र एउटामात्र खुट्टा भेटिनुले अनेकखाले आशंका जन्माएको छ। शव केही डढेको जस्तो पनि देखिन्छ। केही हप्ता अगाडि नै हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ। खुट्टा हेर्दा वयस्क व्यक्तिको जस्तो देखिए पनि महिला पुरुष तथा उमेर समूह भने छुट्टिएको छैन।

'यो केही समय अगाडिको हो। अब डीएनए प्रोफाइलिङ गरेपछिमात्र लिङ्ग र कहिले घटना भएको छुट्टिन्छ,' महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रबहादुर खापुङले भने।

कसरी भेटियो खुट्टा?

पौने सात बजेतिर घटनास्थल जोडिएकी घरकी महिला दुवो टिप्न भन्दै त्यही पुगेकी थिइन्। खाली ठाउँमा बोरा र खुट्टा जस्तो देखिएपछि उनले आत्तिँदै मानिसहरूलाई बोलाइन्। उनको आवाज सुनेर नजिकै घर भएका सुन्दर खड्का पनि निस्किए। उनीभन्दा अघि त्यहाँ पुगेका केही मानिसले 'डमी' र केहीले शव भएको अभिव्यक्ति दिइरहेका थिए।

'कसैले शव नै हो भन्दै थिए त कसैले होइन मानिस झुक्याउन डमी फ्यालेको होला भन्दै थिए। त्यसपछि मलाई शव नै हो जस्तो लाग्यो। अनि प्रहरीलाई फोन गरेको हुँ,' सुन्दरले भने।

सुन्दरले प्रहरीको १ सय नम्बरमा ६ बजेर ५६ मिनेटमा फोन गरेका थिए। त्यसपछि महानगरीय प्रहरी वृत्त बौद्धबाट डीएसपी नवीन कार्कीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। बोराभित्र शव नै भएको पुष्टि भएपछि काठमाडौँका प्रहरी प्रमुख एसएसपी अशोक सिंह, अपराध महाशाखाका एसएसपी चन्द्रबहादुर खापुङ लगायतको टोली घटनास्थल पुगेको थियो।

घटनास्थल वरपर कसैले केही ल्याएर फ्यालेको नदेखेको स्थानीय बताउँछन्। 'हामीले खै त्यस्तो केही पनि देखेनौं,' घटनास्थल नजिकैको अतिथि फार्मेसीका सञ्चालकले सुनाए।

घटनाको अनुसन्धान गर्न केन्द्रीय कुकुर तालिम केन्द्र महाराजगन्जमा प्रहरीको तालिम प्राप्त कुकुर समेत खटाइएको थियो। तर, प्रहरीको कुकुरले कुनै सङ्केत गर्न सकेन। गत साउनमा गोङ्गबुमा सुटकेस भित्र भेटिएको शवको अनुसन्धानमा प्रहरीको तालिम प्राप्त कुकुरको अनुसन्धानले प्रहरीलाई क्लु मिलेको थियो। कुकुरले नै घटनास्थलबाट तीन सय मिटर पर पुगेर सङ्केत गरेपछि काटिएको टाउको र खुट्टा फेला परेको थियो।

त्यतिखेर प्रहरीले घटनास्थलको अनुसन्धान गर्न क्राइम सिन नजिकै रहेको सीसी क्यामराको फुटेज समेत लगेको थियो। १५ दिन अगाडिदेखि त्यस क्षेत्रमा मानिसको मुमेन्टलाई समेत ध्यानमा राखेर अनुसन्धान गर्न सफल भएको थियो।

तर यस केसमा व्यक्तिको पहिचान त परको कुरा एउटामात्र खुट्टा भेटिएपछि अनुसन्धान केही जटिल बन्ने निश्चित छ। खुट्टा काटिएका व्यक्तिको अन्य अंग कहाँ छ पत्तो छैन।

यस्तो केसमा प्रहरीले पछिल्लो समयमा हराएका मानिसको विवरण समेत हेर्ने गर्छ। मङ्गलवार पनि बौद्धमा शव भेटिएको खबर सुनेर तीन जनामा मानिस घटनास्थलसम्म पुगेका थिए। उनीहरूको १२ वर्षीय बालक हराएकाले कतै त्यही होइन भन्ने आशङ्काले आएको प्रहरीले जानकारी दिएको छ।

पहिचान नखुल्नुले हत्या किन र कसले भन्ने प्रश्न उनुत्तरित नै छ।



ट्रेन्डिङ पोस्ट

Ncell