PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

भीमफेदी–कुलेखानी सुरुङमार्गमा माओवादीको यू टर्न, भन्यो : प्रदेशले यो योजना छाड्दा हुन्छ  



निशा गुरुङ

भीमफेदी–कुलेखानी सुरुङमार्गमा माओवादीको यू टर्न, भन्यो : प्रदेशले यो योजना छाड्दा हुन्छ  
काठमाडौंको एक प्रदर्शनीमा राखिएको हेटौंडा सुरुङ मार्गको परिकल्पनासहितको चित्र। फाइल फोटो

हेटौँडा : नेकपा माओवादी केन्द्र वाग्मती प्रदेशसभा दलले वाग्मती प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको कुनै औचित्य नरहेको जनाएको छ। 

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई आउँदो बजेटमा समावेश गर्नुपर्ने विषयको पत्र बुझाउँदै माओवादी वाग्मती संसदीय दलका नेता शालिकराम जम्कट्टेलले प्रदेशको आगामी वर्षको नीति, कार्यक्रम र बजेटमा प्रदेशको गौरवको आयोजनालाई समावेश नगर्न सरकारलाई सुझाव दिएका हुन्।

एक हप्ता अघि दिइएको ८ पन्ने सुझावपत्रमा सुरुङमार्ग सहित विद्युतीय बस पनि आवश्यक नरहेको बताइएको छ।

तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेको संयुक्त सरकार रहेको अवस्थामा सर्वसंवत रुपमा प्रदेशको गौरवको आयोजनाको रुपमा राखिएको सुरुङमार्ग निर्माणको विषयमा सरकारबाट बाहिरिने बित्तिकै माओवादीको फरक धारणा आउनुलाई अर्थपूर्णं रुपमा हेरिएको छ।

तत्कालीन माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको नाउँबाट नामकरण गरिएको सुरुङमार्ग योजनालाई प्रदेश सरकारले सबैभन्दा महत्वपूर्ण योजनाको रुपमा लिँदै आएको छ। सुरुङमार्ग निर्माणस्थलको माटो परीक्षण, डीपीआर निर्माण लगायतको विषयमा सरकारले लाखौं रुपैया खर्च गरिसकेको अवस्थामा माओवादी केन्द्रले निजी कम्पनीकै अधिनमा रहेको योजना भन्ने शब्द घुसाएपछि यो विषय थप जटिल बनेको हो ।

सुझावमा भनिएको छ - ‘सुरुङ मार्गको क्षेत्र कानुनी हिसाबले निजी क्षेत्रले लिएको र उपादेयताको हिसाबले निजगढ–काठमाडौं मार्ग यसै क्षेत्र नजिकबाट जाने भएका कारण सुरुङमार्गको औचित्य नदेखिएकाले यो योजनालाई प्रदेश सरकारले छोड्नु पर्दछ।'

माओवादी केन्द्रले प्रदेश सरकारको अर्को महत्वपूर्ण कार्यका रुपमा रहेको विद्युतीय बस सञ्चालन गर्ने योजनालाई पनि रोक्नु पर्ने बताएको छ। सुझावपत्रमा अहिलेको अवस्थामा विद्युतीय बस खरिद गर्नुभन्दा पूर्वाधार निर्माणमा ध्यान दिनको लागि सरकारलाई भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell