काठमाडौं : शुक्रवार राति स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका कलाकार मदनकृष्ण श्रेष्ठको अवस्थामा सुधार भएको छ। हाल उनको गंगालाल अस्पतालमा उपचार भइरहेको छ।
उनको मुटुमा एन्जियोप्लास्टी गरी दुईवटा स्टयाण्ड राखिएको र एन्जियोप्लास्टीपछि श्रेष्ठको स्वास्थ्य अवस्थामा सुधार आएको उनका छोरा यमन श्रेष्ठले जानकारी दिए।
'आइतवार बुवालाई आइसियूबाट डिलक्स कक्षमा सारिएको छ। अहिले उहाँको अवस्था सामान्य छ। मुटु दुख्न पनि छाडेको छ। खाना खाइरहनुभएको छ,' उनले पहिलोपोस्टसँगको कुराकानीमा भने।
डेढ वर्ष अघि पनि उनको मुटुमा समस्या देखिएको थियो। त्यो बेला पनि एन्जियोप्लास्टी गरेर एउटा स्ट्यान्ड राखिएको थियो। मुटुमा रक्त प्रवाह रोकिएपछि समस्या पहिचान गरी रक्त संचार गराउने उपचार पद्दती हो।
हाल उनको स्वास प्रस्वासमा पनि केही समस्या देखिएको छ। उनमा कोभिड-१९ को समेत संक्रमण छ।
वैशाख ६ गते मदनकृष्णसहित उनको परिवार सबै जनामा संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण भएको केही दिनमै स्वास्थ्यमा समस्या आएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।
पहिलोपटक ८ दिन र दोस्रोपल्ट १४ दिन आइसोलेसनमा बसेका उनी घर फर्किएका थिए। परिवारका अरु सदस्यको भने कोरोना रिपोर्ट नेगेटिभ आइसकेको छ।
