PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

लोकप्रियताका लागि छुटको घोषणा, भिडको निहुँ पार्दै दुई घन्टा मात्र काउन्टर खुला!



सरला सुवेदी

लोकप्रियताका लागि छुटको घोषणा, भिडको निहुँ पार्दै दुई घन्टा मात्र काउन्टर खुला!

काठमाडौं : बजेटमार्फत् सरकारले साल्ट ट्रेडिङ र खाद्यले बेच्ने खाद्यान्न र ग्यासमा २० प्रतिशत छुट लिन मंगलबारदेखि उपभोक्तालाई अझ असहज भएको छ।

भिड भयो भन्दै साल्ट ट्रेडिङले बिक्री कक्ष २ घन्टा मात्रै खोल्न थालेपछि अब सस्तोमा पाउन लाम लाग्नेहरु जिल्ल पर्दै फर्कनुपर्ने भएको हो। सस्तो लोकप्रियताका लागि सरकारले बजेटमार्फत घोषणा गरेको निषेधाज्ञा अवधिका लागि छुटको घोषणा ६ दिनपछि मात्रै कार्यान्वयनमा ल्याइएको थियो।

सुरुमा खाद्य व्यवस्था र साल्ट ट्रेडिङले सरकारले सल्लाह, परिपत्र केही नगरी सरकारले हठात् छुट घोषणा गरेको भन्दै उपभोक्तासँग अनभिज्ञता प्रकट गरेका थिए। दुवै कम्पनीका बिक्री कक्ष सीमित छन्। सरकारद्वारा घोषित छुट दुवै कम्पनीले बेच्ने सबै खाद्यवस्तुमा नभइ सीमित वस्तुमा मात्रै हो,  बिक्री कक्ष सीमित संख्यामा छन्। त्यसमाथि सबै वस्तु एउटै बिक्री कक्षमा पाइँदैनन्।

उपत्यकाका बासिन्दाले खाद्यान्न र ग्यासमा छुटको सुविधा लिन बिक्री कक्षमै पुग्नु पर्छ। निषेधाज्ञाले सार्वजनिक यातायात चल्दैन, निजी सवारी पनि पास नभइ कुदाउन पाइँदैन। छुट दिने नियत नै नदेखिएको सरकारी घोषणालाई दुवै कम्पनीले पनि मन नलागी नलागी कार्यान्वयन गरेको देखिएको छ।

खाद्यान्न खरिदका लागि उपभोक्तालाई नागरिकताको प्रतिलिपी अनिवार्य पेश गर्नुपर्ने र त्यसमा परिवार संख्या खुलाउनुपर्ने नियम पनि छुट सुविधा धेरैले उपयोग गर्न नपाउन् भन्ने आसयबाटै प्रेरित देखिएको छ। किनभने निषेधाज्ञामा फोटोकपी गर्ने पसलहरु खुला छैनन्। छुट वापत दुवै कम्पनीलाई सरकारले पैसा दिनुपर्ने भएकाले धेरैले यो सुविधा उपयोग गर्दा आर्थिक भार बढ्ने निश्चित नै छ। 

साल्ट ट्रेडिङ र खाद्य व्यवस्था कम्पनीले अनलाइन अर्डर लिएर पनि खाद्यान्न होम डेलिभरी गरिरहेका छन्। सरकारद्वारा घोषित छुट होम डेलीभरीमा भने उपभोक्तालाई दिइएको छैन। ग्यास र चिनी किन्नु परे साल्ट ट्रेडिङकै बिक्री कक्ष पुग्नुको विकल्प छैन। खाद्यले ग्यास बेच्दैन।

साल्ट ट्रेडिङले मंगलबार आफ्नो बिक्री कक्ष २ घन्टा मात्रै खोलेको छ। छुटको सुविधासहित खाद्यान्न किन्न आउनेको भीडलाई व्यवस्थापन गर्न गाह्रो भएकाले बिक्री कक्ष खुला राख्ने समय घटाउने निर्णय भएको साल्ट ट्रेडिङका बजार प्रबन्धक प्रज्वल प्रधानले बताए। 'अब हाम्रो बिक्री कक्ष बिहान ७ देखि ९ बजेसम्म मात्रै खुल्छ,' उनले भने, 'कोभिड संक्रमणको जोखिम उच्च भएका बेला भीड नियन्त्रण गर्न गाह्रो भएर यस्तो निर्णय गरिएको हो। बिक्री कक्षहरुमा भिडभाड बढी हुँदा व्यवस्थापनमा समस्या भयो। उपभोक्ताहरुबीच झगडै पर्ने स्थिति  आयो।'

काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट जारी निषेधाज्ञा सम्बन्धी निर्देशन अनुसार नै समय व्यवस्थापन गरिएको दाबीउनले गरे।  यसअघि  चार वटा बिक्री कक्षहरुबाट बिहान १० देखि साँझ ४ बजेसम्म खाद्यान्न बिक्री  हुँदै आएको थियो। बजार बन्द भएका बेला बिहान बिक्री नगरी दिउँसोको समय तोकिएको थियो। ६ घन्टा बिक्री कक्ष खुला हुँदा उपभोक्तालाई केही सहज भइरहेको थियो। मूल्यमा छुटको घोषणापछि भने उपभोक्ताको चाप बढिरहेको थियो।

नुन, तेल, पिठो, चिनी र ग्यासमा छुट दिएपछि बिक्री कक्षहरुबाट दैनिक ९ लाखभन्दा बढीको कारोबार हुँदै आएको थियो। छुट अघि निषेधाज्ञाकै समयमा दैनिक कारोबार एक लाख रुपैयाँ हाराहारीको हुँदै आएको थियो।

बिक्री कक्ष खोले समय घटाएको साल्ट ट्रेडिङले घुम्ती सेवालाई भने निरन्तरता दिने भएको छ। निषेधाज्ञाको समय अवधिभर दैनिक ३ वटा भ्यानमार्फत खाद्यन बिक्री वितरण गर्दै आएको थियो।  बिक्रीकक्ष दिउँसो बन्द भए पनि उपभोक्ताले फोनमार्फत खाद्यान्न अर्डर गर्दा होम डेलिभरी दिने जनाएको छ। घुम्ती सेवाबाट चामल, दाल, गेडागुडी, सूर्यमुखी तेल बिक्री हुन्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell