PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सुदूरपश्चिममा ओली समूहसँग ९ जना, विपक्षी मोर्चासँग दुई तिहाइ सदस्य



एम बम

सुदूरपश्चिममा ओली समूहसँग ९ जना, विपक्षी मोर्चासँग दुई तिहाइ सदस्य

कैलाली : सत्ता साझेदार दलने नै मुख्यमन्त्री त्रिलोचन भट्टमाथि अविश्वास रहेको आधार देखाएर सदनमै राजीनामा मागेपछि सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले त्यसको २४ घण्टा नबित्दै विश्वासको मत लिने निर्णय गरे।

शुक्रवार ओली पक्षीय सांसद पठान सिंह बोहराले एमालेको १० गते बसेको स्थायी कमिटी बैठकपछि सुदूरपश्चिम सरकार अल्पमतमा परेको भन्दै मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने माग राखे। एमालेको अन्तर कलहले सदनमा मुख्यमन्त्रीसँग नै राजीनामा मागिएपछि उनले त्यसको २४ घण्टा नबित्दै विश्वासको मत लिने निर्णय गरे।

अन्ततः मंगलवार उनी अल्पमतमा होइनकी उनीसँग सरका गठन हुँदाताका भन्दा ३ सांसद बढी अर्थात् दुई तिहाइ सांसद रहेको र थप एक दल बढी रहेको पुष्टि भयो।

विश्वासको मत पाएपछि मुख्यमन्त्रीले भने, ‘नेपाली राजनीतिमा सत्ता र कुर्सीका लागि जे पनि गरिदिने प्रवृत्ति हाबी भएको छ। म त्यो प्रवृत्ति नरुचाउने पात्र हो। त्यसैले सदनमै अविश्वास छ भनेर भनिएपछि त्यसलाई पुष्टि गर्नुपर्ने त थियो नै, म आफू लोकतन्त्र, गणतन्त्रमा विश्वास गर्ने पात्र भएकाले नेपाली राजनीतिमा जुन नैतिकताको खडेरी देखा परेको छ त्यसलाई चिर्नुपर्छ भनेर पनि यो कदम चालिएको थियो र आज सिद्ध भयो।’

सँगै मंगलवारबाट सुदूरपश्चिममा एमालेको ओली समूहको अंकगणितीय आधार पनि प्रस्ट भएको छ। सो समूहले आफूहरूसँग निर्णायक समयमा बहुमत सदस्य पक्षमै रहने गरी गर्ने गरेको दाबी झुटो साबित भएको छ। एमालेको ओली समूहमा मंगलवार ७ जना सदस्यमात्रै देखिए।

सभामुखसहितका १८ जना सुदूरपश्चिममा माधव नेपाल समूहमै रहेको प्रष्ट भएको छ। यद्यपि एमालेको अन्तर कलह भने थप चर्किने भएको छ। एमालेको पार्टी केन्द्रको निर्देशनविपरीत प्रदेश संसदीयदलले मुख्यमन्त्रीकै पक्षमा मतदान गरेपछि अब ओली समूहले कारबाहीको धम्कीलाई थप सशक्त बनाउन थालेको छ।

मंगलवार एमालेकै माधव समूह ओलीको निर्णय अस्वीकारको बाटोमा गएपछि ओली समूहका सदस्यले यसलाई संघीयता विरोधीको संज्ञा पनि दिए।

‘यो संसदीय मर्यादाको मात्रै उल्लंघन नभएर राजनीतिक दल सम्बन्धी ऐन र भविष्यमा वर्तमान संघीय प्रणालीलाई विफल पार्ने कदम हो,’ एमालेको ओली पक्षीय सांसद लिलाधर भट्टले भने।

तर, माधव समूह भने संसद्ले पार्टीलाई नभएर संसदीयदललाई चिन्ने भन्दै बहुमत सदस्यको भावनाविपरीत गएर निर्णय कार्यान्वयन गर्न नसकिने बताउँदै आएको छ।

एमाले संसदीय दलकी प्रमुख सचेतक दुर्गा कुमारी विकले भनिन्, ‘संसदमा पार्टी भन्दा ठूलो दल हुन्छ। त्यसैले संसदीय दलले जारी गरेको ह्विप उल्लंघन गर्ने सम्मको काम भएको छ, यस विषयमा आगामी कदम कस्तो रहन्छ भनेर हामी छलफलमै छौँ।’

कारबाहीको धम्की देखाउँदै आएको ओली समूह र संसदीय दलमा बहुमत रहेको माधव समूह अव कारबाहीको प्रक्रियामा कसरी जान्छ त्यसले एमालेको गुटगत विवादको दरार कति फराकिलो हुनेछ भनेर निर्धारण गर्ने छ।

विपक्षी मोर्चा दुई तिहाइसहित बलियो

पार्टीको अन्तर कलहलाई सत्ता फेरबदलको सौदा बाजीसम्म पुर्‍याइरहेको ओली समूहले अर्को गुटलाई पतन गराउनु प्रतिष्ठाको विषय बनाइसकेको छ। तथापि, ओलीको यो रणनीतिविरुद्ध केन्द्रमा बनेको ५ दलीय गठबन्धन सुदूरपश्चिममा निकै बलियो देखिएको छ।

मंगलवार ५ दलीय गठबन्धनमा माओवादी, कांग्रेस र माधव समूहका ४२ सदस्य एक ठाउँमा देखिए। जनता समाजवादी पार्टीका राजेन्द्र महतो र महन्त ठाकुर पक्षका दुई सांसद तथा ओली पक्षका ७ सांसद खुलेरै त्यसको विपक्षमा देखिए। यसले सुदूरपश्चिममा ओली प्रवृत्तिविरुद्ध विपक्षी मोर्चा बलियो रहेको देखाएको हो।

मंगलवार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले यदि माओवादी नेतृत्वको सरकार ढल्ने अवस्था आएको खण्डमा त्रिलोचन भट्टकै पक्षमा मतदान गर्ने निर्णय गरेको थियो। तर, पछि माधव समूहकै सदस्यले मात्रै मत दिँदा २७ मत चाहिएका मुख्यमन्त्रीले ३० मत पाए पछि कांग्रेस तटस्थ बसेको थियो।

यतिमात्रै होइन सुदूरपश्चिम सरकार ढाल्न ओली समूहले यस अघि पनि माधव समूहका मन्त्री तथा सांसदलाई कारबाहीको धम्की दिँदै आएको थियो।

तर, अहिलेसम्म त्यो प्रयास सफल हुन सकेको छैन। अब विपक्षी मोर्चा एक ठाउँमै रहिरहने हो र ओलीले माधव समूहका प्रत्यक्षतर्फबाट सबै सांसदलाई हटाउने र समानुपातिकको सिटमा आफू अनुकूल पात्र ल्याउने हो भने पनि ओली समूहको नेतृत्वमा सुदूरपश्चिम सरकार बन्ने सम्भावना लगभग सकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell