काठमाडौं: नेकपा (एमाले) का दोस्रो तहका नेताहरुको मंगलबारको संवाद विना निष्कर्ष सकिएको छ। ललितपुरको समिट होटलमा भएको संवाद निष्कर्षमा नपुगेको छलफलमा सहभागी नेताले बताएका छन्। अध्यक्ष केपी शर्मा ओलीले अघि सारेका ६ बुँदे प्रस्ताव र माधव नेपाल समूहले दिएको जवाफमा छलफल केन्द्रित भएको थियो।
'छलफललाई जारी राख्नेगरि आजको भेट सकिएको छ,' बैठकमा सहभागी एक नेताले भने।
विवाद मिलाउनका लागि विभिन्न विषयमा छलफल भएको थियो। बैठकमा नेपाल समूहका नेता भीम आचार्य पनि सहभागी भएका थिए।
वार्तामा नेपाल समूहबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य, योगश भट्टराई र गोकर्ण विष्ट सहभागी थिए। यस्तै, ओली समूहबाट सुवास नेम्वाङ, विष्णु पौडेल, विष्णु रिमाल र प्रदीप ज्ञवाली सहभागी थिए।
ओली नेपाल समूहका दोस्रो तहका नेताहरुले पार्टी एकतका लागि भन्दै संवाद गर्दै आएका छन्। यसअघि पनि दोस्रो तहका नेताहरुबीच संवाद भए पनि कुनै सहमति भएको थिएन। नेपाल समूहको बिहीबार र शुक्रबार भर्चुअल माध्यमबाट भएको बैठकमा धेरै केन्द्रीय सदस्यले अब ओलीसँग वार्ता गरेर मात्रै अगाडि बढ्न नसकिने बताएका थिए।