PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अब्बलमध्येको 'शुभतारा' स्कुल किन पुग्यो बन्दको संघारमा, यस्तो छ भित्रीकथा



मधुकर दाहाल

अब्बलमध्येको 'शुभतारा' स्कुल किन पुग्यो बन्दको संघारमा, यस्तो छ भित्रीकथा

कुनै समय एलिटका छोराछोरी पढ्ने स्कुल भनेरसमेत चिनिएको काठमाडौं उपत्यकाको तीन दशकभन्दा पुरानो निजी विद्यालय 'शुभतारा' एकाएक बन्दको खबरले यसमा आफ्ना सन्तान पढाइरहेका अभिभावकहरुलाई यतिबेला पिरोलेको छ।

पूर्व सूचनाबिनै अकस्मात् विद्यालय सञ्चालकबाट 'नयाँ सत्रदेखि स्कुलको सम्पूर्ण सेवा स्थगित गर्ने' निर्णयसहितको इमेल पाएयता विद्यार्थीका अभिभावकहरु बिलखबन्दमा परेका छन्। अझ, स्कुलमा वर्षौंदेखि अध्यापनरत शिक्षकहरु समेत व्यवस्थापनले विद्यालय बन्द गर्ने निर्णय गरेको अकस्मात सुनाउँदा विश्वास गर्नै नसकिरहेको बताउँछन्।

२०४८ सालपछि शिक्षकहरुले संगठित लगानीबाट स्कुल खोल्न थालेयता मात्र नेपालमा शिक्षामा निजी क्षेत्रको औपचारिक लगानी शुरु भएको बताइन्छ। तर त्यसभन्दा लगभग तीन वर्षअघि २०४५ चैत ३ (१९८९ मार्च १६) मा नै श्यामसुन्दर लाल कक्षपतिले ललितपुरको सानेपामा शुभतारा स्कुल सञ्चालनमा ल्याएका थिए।

नाङलो रेष्टुरेन्टबाट चिनिएका श्याम कक्षपति तिनै हुन् जसले सन् १९७३ मा काठमाडौंको रत्नपार्कमा 'क्याफे द पार्क' खोलेर नेपालमा रेष्टुरेन्ट कल्चरको जग हालेका थिए।

निजी लगानीमा खोलिएका शिक्षालय सरकारी तथ्यांक र करको दायराभन्दा बाहिरै (अनौपचारिक) रहने समयमै कक्षपतिले श्रीमती रानी गुरुङ कक्षपतिकी आमा शुभ गुरुङको नामबाट नाम जुराएको यो स्कुल गत जेठ १३ मा उनै रानीले अभिभावकका नाममा पठाएको एउटा इमेलपछि सदाका लागि बन्द हुने संशय देखिएको हो।

अभिभावकहरुले विद्यालय 'नियोजित रुपमा सदाका लागि बन्द' गर्न लागिएको आक्षेप सञ्चालकलाई लगाएका छन् । सञ्चालकहरुको प्रमुख दलिल भने विद्यालयको बर्सेनि खप्टिँदो घाटाबीच कोभिड-१९ ले झन् बढाएको वित्तीय संकटका कारण 'दुई वर्षका लागि विद्यालयको सेवा स्थगन' गर्न लागेको भन्ने छ।

तर सञ्चालक तथा अध्यक्ष रानी गुरुङ कक्षपतिको नामबाट अभिभावकहरुलाई गएको लिखित (इमेल) जानकारीमा उल्लेखित वाक्यांशहरुले सञ्चालकहरुको विद्यालय अस्थायी बन्दको दलिलभन्दा अभिभावकहरुको बुझाइ सत्यको नजिक रहेको आशय दर्शाउँछ।

किनकि, सञ्चालकहरुको दुई वर्षका लागिमात्र विद्यालय बन्दको रक्षात्मक भनाइलाई उनीहरुले शुभतारालाई ललितपुरमै रहेको अर्को विद्यालयसँग गाभ्नका लागि समझदारी गरेको भन्ने खुलासाले काट्छ, जुन कुरा रानीले अभिभावकलाई पठाएको इमेलमा उल्लेख छ ।

शुभताराका विद्यार्थी र शिक्षकहरुलाई आफ्नो क्षमता र आवश्यकता अनुसार समायोजन गर्नका लागि ललितपुरको इमाडोलस्थित न्यु मिलेनियम स्कुलसँग समझदारी (एमओयू) गरिसकेको इमेलमा लेखिएको छ । (हे. अभिभावकलाई गुरुङले पठाएको इमेल)

गुरुङले 'न्यु मिलेनियमलाई शुभताराका विद्यार्थी पैसामा नभएर समझदारीमा दिएको' जिकिर गरिन्। उनले भनिन्, 'विद्यार्थीको पढाइमा निरन्तरताका लागि हामीले राम्रो स्कुल (न्यु मिलेनियम) छानेर त्यससँग सहकार्य गरेको हो।'

साथै, न्यु मिलेनियम शुभताराको नयाँ भगिनी विद्यालय भएको र यससँग शुभतारालाई गाभ्ने पनि इमेलमा उल्लेख छ। यद्यपि, उनले उक्त स्कुलसँग 'तत्काल मर्जर भइनसकेको र यसमा पछि जाने' बताइन्।

तर रानीले अभिभावकलाई पठाएको इमेलमा न्यु मिलेनियमसँग मर्जरबारे सम्झौता नै भइसकेको आशय छ। सम्झौताअनुसार हालको शुभतारा र न्यु मिलेनियमले इमाडोलमा विद्यालय सञ्चालन गर्ने, तर 'केही वर्षपछि' लामाटारस्थित शुभताराको परिसरमा विस्तार गर्ने भनिएको छ, 'दुई वर्षपछि' शुभतारालाई पुरानै स्वरुपमा पुनः सञ्चालन गर्ने भनिएको छैन।

बरु दुई वर्ष गरिब तथा आवश्यक समूहका लागि ठूलो घाटामुखी खर्चमा निर्भर नहुने गरी शुभताराले आफ्नो सामाजिक जिम्मेवारी निर्वाह जारी राख्ने जिकिर गरिएको छ। साथै, दाता र सहयोग खोजेर निःशुल्क व्यवसायिक सीपमूलक (भोकेसनल) स्कुल सञ्चालनमा ल्याउने रानीले उल्लेख गरेकी छन्।

यसकारण भन्न सकिन्छ - स्कुल सञ्चालकले अहिलेको निर्णयबाट पछाडि फर्किएर नयाँ सत्रबाट विद्यालयको सेवा यथावत नराखेमा शुभतारा पुनः दुई वर्षपछि बौरिने होइन, ३२ वर्षभन्दा बढी लगाएर निर्माण गरेको आफ्नो लिगेसी नामेट पारेर सदाका लागि हराउनेछ ।

'अभिभावक र शिक्षकलाई थाहै नदिइ बन्दको निर्णय'

शुभतारा सञ्चालक कक्षपति परिवारले सयौं विद्यार्थीको भविष्यसँग जोडिएको विद्यालयजस्तो सामाजिक संस्था अभिभावकहरुसँग सल्लाहबिनै बन्द गर्ने निर्णय गरेको आरोप छ।

गत जेठ १३ मा केही शिक्षकसहितको उपस्थितिमा भएको बैठकबाट शुभताराकी सञ्चालक गुरुङले अभिभावकहरुलाई स्कुल चलाउन नसक्ने अवस्थामा पुगेको बताउँदा अभिभावकका प्रतिनिधिहरुका लागि त्यो अप्रत्याशित थियो। सोही दिन बेलुका रानीले विद्यालय बन्द नै गर्ने निर्णय भइसकेको इमेल अभिभावकहरुलाई पठाएकी थिइन्।

शुभतारामा पछिल्लो डेढ दशकदेखि अध्यापन गराउँदै आएका श्याम केसीसमेत शिक्षकहरुसँग छलफल नै नगरी व्यवस्थापनले विद्यालय बन्दको निर्णय गरेको बताउँछन्।

प्रिन्सिपल डा. नवरथ बानियाँलाई भने सञ्चालकले विद्यालय बन्द गर्ने निर्णयमा पुगेको सुनाएको बुझिन्छ। गत वर्ष वैशाखमा लकडाउनकै बीच बानियाँले प्रिन्सिपलको जिम्मेवारी सम्हालेका थिए। तर लगातारको विद्यालय बन्दले उनी बिरलै शुभताराको कम्पाउण्डभित्र पसे। भौतिक रूपमा विद्यालय लागेको बीचको डेढ महिना अवधिमा बाहेक प्रिन्सिपलको कुर्सीमा समेत राम्रोसँग बस्न नपाएका बानियाँले गत जेठ ५ मा नै स्कुल व्यवस्थापनलाई राजीनामा बुझाइसकेको खुलेको छ।

विद्यालय बन्दको निर्णयमा पुगेको सञ्चालकबाट जानकारी पाएपछि राम्रोसँग कामै गर्न नपाएका बानियाँले त्यसको पहिलो अपजस आफूमा ठोक्किने देखेर त्यसबाट पन्छिन राजीनामा बुझाएको भनाइ शुभताराका केही शिक्षकको छ। स्कुल बन्द हुने कुरा थाहा पाएकाले नै प्रिन्सिपलले छोडेको आफूहरुले जेठ १३ मा अध्यक्ष रानी गुरुङसँगको बैठकमा बसेपछि मात्रै बुझेको शिक्षक केसी बताउँछन्।

उक्त बैठकमा गुरुङले आर्थिक संकटका कारण विद्यालय संचालन गर्न नसक्ने अवस्थामा पुगेकाले बन्द गर्नुपर्ने अवस्था बनेको अभिभावकहरुलाई बताएकी थिइन्। विद्यार्थीहरुबाट ठूलो रकम बक्यौता रहेको र स्कुल लगातार घाटामा रहेकाले सञ्चालकले व्यक्तिगत कोषबाट रकम हालेर विद्यालय चलाउने अवस्था नरहेको भन्दै बन्द गर्नुको विकल्प नभएको उनले बैठकमा धेरैपल्ट दोहोर्‍याएको भनाइ अभिभावकका प्रतिनिधि डा. आभाष राजोपाध्यायको छ।

'विद्यार्थीको शुल्क नउठेकाले वित्तीय संकटकै कारण स्कुल बन्द गर्नुपर्ने अवस्था आएको हो भने हामीले स्कुललाई सक्दो सहयोग गर्ने तर बन्द नगर्न भनेर उहाँसँग आग्रह गरेका थियौं। शिक्षकहरुले पनि बन्द नगरी विद्यालय संचालनका लागि विभिन्न विकल्पमा जान सकिने र त्यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग हुने बताउनुभएको थियो। तर हाम्रो कुरा वास्तै नगरी उहाँले बेलुका स्कुल बन्दको निर्णय सहितको इमेल पठाउनुभयो।'

कोभिड महामारीका बीच सबै विद्यालयहरु बन्द रहेको अवस्थामा बच्चाका लागि उपयुक्त अरु विद्यालय हेर्ने समेत समय नै नदिइ बन्द गर्नु न्यायोचित नभएको गुनासो अभिभावकहरुको छ। शिक्षकहरुको चिन्ता अकस्मात रोजीरोटी खोसिएकोमा छ, भलै रानीले न्यु मिलेनियमले उसको आवश्यकताअनुसार शुभताराका शिक्षकसमेत समायोजन गर्ने बताएकी छिन्।

सञ्चालकले अभिभावक र शिक्षकका कुरा सुन्दै नसुनेपछि दुवै समूहले जेठ १५ मा विद्यालय बन्द गर्न नदिन अनुरोध गर्दै महालक्ष्मी नगरपालिकामा निवेदन दिएका छन्। नगरपालिकाका तर्फबाट शुभताराको बोर्डमा समेत रहेका स्थानीय प्रतिनिधि वासुदेव शर्मा स्थानीय तहको पहल विद्यालय बन्द गर्न नदिने नै हुने बताउँछन्।

यद्यपि, विद्यालय बन्दको निर्णयबारे जानकारी गराएको १० दिन बितिसक्दा पनि कुनै ठोस पहल नगरेको नगरपालिकाको आश्वासन र भूमिकामा शिक्षक र अभिभावकहरुलाई त्यति विश्वास छैन।

अभिभावक र शिक्षकहरुको भनाइमा भने स्कुल बन्द नै गर्ने मनसाय हुँदा क्रमशः एक कक्षाबाट विद्यार्थी माथिल्लो कक्षामा उक्लिँदै गएपछि तलका कक्षाहरुमा भर्ना लिन छोड्दै विस्तारै विद्यालय बन्द गर्नु उचित हुन्थ्यो। अथवा, कम्तिमा एक वर्षअघि नै अर्को वर्षबाट बन्द हुन्थ्यो भनेर जानकारी गराइनुपर्थ्यो भन्ने छ।

बन्दको संघारमा कसरी पुग्यो शुभतारा

पुरानो मात्र नभएर शिक्षाको गुणस्तरमा समेत कहलिएको शुभतारा स्कुल बन्द हुनुका पछाडि तीन प्रमुख कारण देखिन्छन् - लगातार घट्दो विद्यार्थी संख्याका कारण स्कुलको खुम्चिँदो आम्दानी, संस्थापक/संचालक श्याम कक्षपतिको नाजुक स्वास्थ्य अवस्थाका साथै स्कुल चलाउने उत्तराधिकारी नहुनु र विद्यालय व्यवस्थापन-शिक्षकबीचको टसल।

१५ करोड अधिकृत पुँजी र १२ करोड चुक्ता पुँजी रहेको शुभतारा स्कुल प्राइभेट लिमिटेडमा दर्ता छ। यसका सबै सेयरधनीहरु श्याम कक्षपतिकै पारिवारका सदस्यहरु भएकाले यो कानुनी रूपमा 'पारिवारिक विद्यालय' हो। यसैले विद्यालयको नाफा-घाटा पनि परिवारभित्रै बाँडिन्छ।

अहिले न्यून विद्यार्थी संख्याका कारण स्कुलको आय निक्कै खुम्चिएको देखिन्छ।


शुभताराका संचालक दम्पती श्याम कक्षपति र रानी गुरुङ कक्षपति ।


२०७२ सालको भूकम्पबाट सानेपास्थित स्कुलको भवनमा क्षति पुगेपछि सानेपामा रहेको एकाइका सम्पूर्ण विद्यार्थी लामाटार सारियो। सोपछि कुनै बेला अभिभावकहरुले आफ्ना बच्चाका लागि भर्ना पाउनकै लागि ठूलै माथापच्ची गर्नुपर्ने यस स्कुलमा पढिरहेका नियमित विद्यार्थीसमेत घट्न थाले।

मध्य शहरको सुविधाजनक ठाउँमा विद्यालय रहेको देखेर बच्चा भर्ना गरेका अभिभावकहरुले खासगरी तल्लो कक्षामा पढ्ने आफ्ना सन्तानलाई ग्वार्कोबाट पनि आधा घन्टाभन्दा बढी समय लाग्ने र सुविस्ताको बाटो नभएको लामाटारसम्म पठाउन मन गरेनन्। जसले गर्दा तीन कक्षासम्मको तहमा पढिरहेका अधिकांश विद्यार्थी शुभताराले गुमायो। त्योभन्दा माथिल्लो तहमा पढिरहेका विद्यार्थी पनि अलिअलि गर्दै कम हुँदै गए। यसले विद्यालयको आम्दानीमा ठूलो धक्का लाग्यो।

भूकम्पलगत्तै सात कक्षामाथिका विद्यार्थीलाई लामाटार सारे पनि त्योभन्दा तल्लो तहको पढाई उक्त वर्ष सानेपामै सञ्चालित थियो। त्यतिन्जेलसम्म पनि शुभतारामा विद्यार्थी करिब १३ सयदेखि १४ सयको बीचमा रहेको यस विद्यालयका पुराना शिक्षक श्याम केसी बताउँछन् । तर २०७३ को सत्रबाट भने सबै कक्षा लामाटारबाटै सञ्चालन गर्नेगरी सारेपछि ह्वात्तै विद्यार्थी घटे। शर्माका अनुसार लामाटार सारेपछि विद्यार्थी सात सयभन्दा  केही बढी मात्र थिए। दुई वर्षअघिसम्म पनि ६ सय हाराहारी रहेको विद्यार्थी संख्या गत सत्रबाट पाँच सय हाराहारीमा आइपुग्यो। यो संख्या अहिले ३६५ मा सीमित भएको हो।

'कुनै समय भर्ना पाउनै अभिभावकको मरिहत्ते हुने शुभतारामा पछिल्ला केही वर्षयता वर्षमा ५० देखि ६० विद्यार्थी मात्र नयाँ भर्ना भइरहेका थिए, जबकि १० कक्षा पास आउट भएर जाने कम्तिमा ११० हाराहारीदेखि १३० सम्म छन्,' केसीले भने, 'आउनेभन्दा जाने धेरै भएकाले विद्यार्थी घट्दै जाँदा पनि स्कुल चलाउन केही गाह्रो भएको पक्कै हो।'

विद्यालयको लेखा शाखा स्रोतका अनुसार होस्टलमा बस्नेको पनि सम्पूर्ण खर्चसहितको मासिक शुल्क करिब साढे २९ हजारदेखि ३२ हजार रुपैयाँ हाराहारी र 'डे स्कुल' मात्र गर्नेको शुल्क कक्षाअनुसार करिब १८ हजारदेखि साढे २० हजारसम्म छ।

'पूरै स्कुल लामाटार सारेपछि यसको खर्च धेरै बढेको थियो। बिजुलीको बिल मात्र महिनामा दुई लाख आउँथ्यो,' पूर्व प्रिन्सिपल तिम्सिना भन्छन्, 'यस्तोमा त्यत्रो ठूलो पूर्वाधार व्यवस्थापन गर्दै शिक्षाको गुणस्तर कायम राख्नेगरी डेढ सय कर्मचारीको तलब सुविधा र विद्यार्थीको खाना, यातायातदेखि होस्टल बस्नेको लण्ड्रीसम्मको खर्च साढे तीन सय विद्यार्थीको शुल्कबाट धान्न सम्भव देखिँदैन।'

तिम्सिना भन्छन्, 'शिक्षाको गुणस्तरका हिसाबले शुभतारा नेपालकै राम्रोमध्येको र उही तहका अन्य स्कुलको तुलनामा सस्तो पनि थियो । स्थानीय पाठ्यक्रमबाटै वास्तवमै अन्तरराष्ट्रियस्तरको शैक्षिक वातावरण दिएको यो स्कुल बन्द हुनु विद्यार्थी, अभिभावक, शिक्षक र समाज सबैका लागि दुःखद हो ।'

घट्दो विद्यार्थीले स्कुल व्यवस्थापन तत्काल संचलन खर्च पूरा गर्ने दबाबमा रहेको भएपनि स्कुल आफैंमा आर्थिक रूपले कमजोर भने नरहेको यसका कर्मचारीहरुको भनाइ छ।

प्राप्त वित्तीय प्रतिवेदन अनुसार दुई वर्षअघि (२०७६ असार मसान्तमा) विद्यार्थीको शुल्कबाट शुभताराले झन्डै ११ करोड आम्दानी गर्थ्यो। तर खर्च ठूलो भएकाले खुद नाफा भने करिब १८ लाख रुपैयाँमा मात्र थियो। त्यसभन्दा ठिक अघिको वर्ष भने यसको खुद नाफा ६९ लाखभन्दा माथि रहेको वित्तीय विवरणमा छ। नाफा घट्दै जाँदा प्रशासनिक तथा अन्य सञ्चालन खर्चहरु भने अझ बढेको देखिन्छ।

वर्ष २०७५/७६ मा विद्यार्थीको शुल्कबाट यसले झन्डै ११ करोड आम्दानी गरेको शुभताराको प्रशासनिक र अन्य प्रत्यक्ष खर्चहरु नौ करोड ६० लाख जति थियो। त्यसबेला करिब एक करोड ३९ लाख ऋण र सञ्चित नोक्सानी ८२ लाख ३८ लाख थियो।

तर पोहोर आफूले छोड्नुअघिसम्म पनि विद्यालयको आम्दानी र खर्च बराबर जस्तै नै रहेको पूर्व प्रिन्सिपल तिम्सिनाको भनाइ छ। 'म रहँदासम्म स्कुलको हिसाबकिताब लगभग बराबरको अवस्थामा आइपुगिसकेको थियो,' उनी भन्छन्, 'अहिले विद्यार्थी अलिक घटेकाले आम्दानीबाट मात्र खर्च धान्न गाह्रो भएको हुनसक्छ।'

पछिल्ला केही वर्षयता विद्यार्थीको संख्या घट्दै गएकाले खर्च धान्न चाप परेको भए पनि समग्रमा अझैपनि अपरेटिङ ब्रेक इभनकै अवस्था रहेको दाबी विद्यालयका पूराना शिक्षक केसीको छ।

कोभिडका कारण विद्यालय भौतिकरूपमा बन्द नै रहेकाले भर्चुअल कक्षाबाट आम्दानी झन् घटेको भए पनि खर्च समेत सामान्य रहेको बुझिन्छ। भर्चुअल कक्षाको शुल्क विद्यार्थीबाट मासिक ८ देखि १० हजार हाराहारीसम्म लिएको शुभताराले बन्द अवधिभर अनलाइन कक्षा लिने शिक्षकलाई ७५ प्रतिशत र बाँकी कर्मचारीलाई ५० प्रतिशत पारिश्रमिक दिएको केसीले बताए।

यद्यपि, स्कुल लामो समयदेखि घाटामा रहेको कुरामा भने उनको बिमति छ। '१५ वर्षभन्दा बढी भयो मैले शुभतारामा पढाउन थालेको। यो अवधिमा विद्यालयले आम्दानीबाटै जग्गाजमिनदेखि सम्पूर्ण पूर्वाधार जोडेको छ र अहिले पनि केही भवन पूर्वाधार थप्ने काम गरिरहेको छ,' उनी भन्छन्, 'स्कुलको तत्काल नगद प्रवाहमा दबाब परेको हुन सक्छ तर आर्थिक संकट नै परेको भए पूर्वाधार झन् थप्ने काम गर्दैनथ्यो। अझ स्कुलकै नाममा जग्गाजमिन लगायतका अचल सम्पत्ति पनि थुप्रो छ।'

लामाटारमा शुभतारा स्कुल परिसर भएको जग्गा ८० रोपनी रहेको र यो स्कुलकै नाममा भएको बताइएको छ।

विद्यार्थीको न्यून संख्याका अलावा भएकै विद्यार्थीले पनि शुल्क नबुझाउँदा स्कुलको आर्थिक संकट गहिरिएको भनाइ व्यवस्थापनको छ। विद्यालयकी सञ्चालक तथा अध्यक्ष रानी गुरुङले यो सत्रमा ४० प्रतिशत विद्यार्थीले मात्र नियमित शुल्क बुझाएको र वित्तीय रूपमा धान्नै नसक्ने अवस्थामा आइपुगेकाले स्कुल बन्द गर्नुको विकल्प नभएको जिकिर गरेकी छन्।

अभिभावकका प्रतिनिधि राजोपाध्याय भने ९५ प्रतिशत विद्यार्थीको शुल्क बुझाइसकेको दाबी गर्छन्। उनी भन्छन्, 'सरकारले यो सेसनमा ११ महिनाको मात्र शुल्क लिनु भनेर विद्यालयहरुलाई सूचना जारी गरेको हो तर स्कुलले हामीलाई १४ महिनाकै बिल पठाएको छ। त्यसका बाबजुद हामीमध्ये लगभग ९५ प्रतिशतले १२ महिनाकै शुल्क बुझाइसकेका छौं। बाँकी दुई महिनाको पनि परीक्षाभन्दा केही दिनअघि मात्र बिल पठाएकाले र बीचमा निषेधाज्ञा भएकाले तिर्न बाँकी रहेको हो। यो पनि हामीले तिर्दैनौं भनेको छैन।'

सञ्चालकले भने ३६५ विद्यार्थीमध्ये २० प्रतिशत छात्रावृत्तिमा पढिरहेकाले ६० प्रतिशत विद्यार्थीबराबरको शुल्क हरेक महिना निजी कोषबाट हालेर विद्यालय चलाइराख्नु परेको दाबी गरेका छन्। गत वर्ष मात्र कर्मचारीको तलब भुक्तानीकै लागि दुई करोड रुपैयाँभन्दा बढी पूर्वअध्यक्ष (श्याम कक्षपति) सँग कर्जा लिएको र कक्षपतिले त्यसअघि पनि धेरै वर्षदेखि विद्यालय घाटाको अवस्थामा रहँदा व्यक्तिगतरूपमा पैसा हाल्दै आएको भए पनि अहिले त्यो अवस्था नरहेको अध्यक्ष रानीले अभिभावकलाई लेखेको इमेलमा छ।

पूरा शुल्क उठ्दा पनि ३०० विद्यार्थी (छात्रावृत्ति दिएको बाहेक) बाट उठ्ने शुल्कबाट १२० जना शिक्षक तथा कर्मचारीको पारिश्रमिकसमेत स्कुलले धान्न असम्भव रहेको र कोभिड संक्रमण पुनः फर्किएपछि नयाँ सत्रका लागि सुखद सम्भावना नदेखिएकाले यस्तो घाटा थेगेर विद्यालय अब चलाउन नसक्ने भन्दै उनले हात उठाएकी छन् ।

उनले अभिभावकसँगको मिटिङमा यो वर्षको ९० लाख शुल्क उठ्न बाँकी रहेको बताएको राजोपाध्यायले बताए । 'शुभताराका लागि यो रकम भनेको धेरै होइन, बढीमा डेढ महिनाको शुल्क मात्र बाँकी हो,' उनले भने, 'यति रकम बाँकी हुँदैमा विद्यार्थीको पैसा नउठेर स्कुल नै बन्द गर्नुपर्ने अवस्था आएको भन्नु तर्कसंगत छैन।'

अभिभावकले बक्यौता शुल्क नयाँ सेसन शुरु हुँदा तिर्दै आएको पहिलेदेखिकै अनुभव भएकाले यो समस्या नरहेको भनाइ स्कुलको लेखा शाखा स्रोतको पनि भनाइ छ। 'यति शुल्क बाँकी हुनु सामान्य भएकाले स्कुल बन्द गर्न खोज्नुको कारण अरु नै केही हुन सक्छ, शुल्क होइन,' स्रोत भन्छ।

यस्तै, शिक्षक तथा कर्मचारी र व्यवस्थापन बीचको टसल पनि स्कुल बन्द गर्ने निर्णयलाई प्रेरित गर्ने आंशिक कारण हुनसक्ने स्रोतको भनाइ छ। 'स्कुलका कर्मचारी र व्यवस्थापनबीच सेवा सुविधा र शिक्षण विधि तथा शिक्षाको गुणस्तरका विषयमा लामो समयदेखि मतभेद रहँदै आएको छ। स्कुलमा स्टाफहरुको मजदुर संगठनका साथै शिक्षकहरुको छुट्टै शिक्षक संगठन पनि सक्रिय थियो। यही संगठनको आडमा बेलाबेलामा स्टाफहरुले व्यवस्थापनलाई पेल्ने कोसिस पनि गर्दै आएका थिए,' शुभतारा स्रोत भन्छ।

उनका अनुसार, काठमाडौंका अरु राम्रा भनिएका निजी स्कुलको भन्दा शुभतारामा पारिश्रमिक कम नभए पनि माग बमोजिम पारिश्रमिक तथा सेवा सुविधा वृद्धि नभएको भन्दै कर्मचारीहरुले राजनीतिक भ्रातृ संगठनको आडमा समय समयमा लिनुपर्ने विद्यार्थीको टेस्ट समेत नलिइदिने, संस्थालाई दिनुपर्ने जति समय नदिने, व्यवसायिक रूपमा जति सपोर्ट गर्नुपर्ने हो त्यति नगर्ने जस्ता प्रवृत्ति थियो। अर्कोतर्फ, आफूले दिन चाहेबमोजिमको गुणस्तरको शिक्षण नभएको असन्तुष्टि सञ्चालकको त्यस्ता शिक्षकप्रति रहँदै आएको थियो।

राजनीतिक भ्रातृ संगठनको आडमा विद्यालयको शैक्षिक वातावरण सुधारमा अवरोध पुर्‍याएको भन्दै करिब दुई वर्षअघि शुभताराको व्यवस्थापनले नौ जना शिक्षकलाई बर्खास्तसमेत गरेको थियो। त्यतिबेला करिब ८५ शिक्षकसहित यसमा १५१ जना कर्मचारी थिए। यो संख्या अहिले जम्मा १२० मा झरेको छ।

कक्षपति परिवारले स्कुल बन्दको निर्णय गर्नुको मूल कारण भने शुभताराका संस्थापक अध्यक्षसमेत रहेका श्याम कक्षपतिको नाजुक स्वास्थ्य अवस्थाका भएको निकट व्यक्तिहरुको भनाइ छ।  

'श्याम कक्षपतिले पहिले स्वस्थ हुँदा स्कुलका लागि खुलेर प्रशस्त समय र स्रोत (पैसा) खर्चिएका हुन्। अहिले सफल उपचारपछि घर फर्किएर स्वास्थ्यको ख्याल गर्नुपर्ने अवस्था रहेको र त्यसका लागि उनको हेरबिचारमा आफू पनि यथाशीघ्र लाग्नुपर्ने भएकाले यसमा सहयोग गर्न' समेत रानी गुरुङले अभिभावकहरुसँग इमेलमै अपिल गरेकी छन्। यसकारण कक्षपतिको स्वास्थ्य अवस्थालाई पनि स्कुल बन्दको निर्णयसँग जोडिएको छ।

कक्षपति परिवारलाई नजिकबाट जानेका एक व्यवसायी भन्छन् - 'उहाँहरुको स्वास्थ्य अवस्था ठिक छैन। छोरा-छोरी दुवैको रुचि स्कुल चलाउनमा देखिँदैन। त्यही भएर पनि बन्द गर्न खोजेको बुझिन्छ।'

तर विद्यालय अन्य कम्पनी जस्तो नभएर सामाजिक जिम्मेवारीयुक्त संस्थासमेत भएकाले यो अनवरत रूपमा सञ्चालन हुनुपर्ने प्रकृतिको हुँदा प्रवर्द्धकको स्वास्थ्य अवस्थाका आधारमा नै यसलाई बन्द गर्न नमिल्ने उनी बताउँछन्।

यसका बाबजुद पूर्णाधिकार दिएर स्कुल सञ्चालनका लागि अन्य व्यक्तिलाई राख्न कक्षपति परिवारले नचाहेको शुभताराबारे आन्तरिकरूपमा राम्रोसँग जानकार अर्का एक व्यक्तिको भनाइ छ।

स्कुलसँगैको १० रोपनी जग्गा बिक्री, कक्षपतिको नियतमाथि अनेक आशंका

फराकिलो जमिन ओगटेको प्रतिष्ठत विद्यालय अचानक बन्दको संघारमा पुगेपछि सञ्चालकहरुप्रति अभिभावक मात्र नभएर स्थानीयबासी र अन्यको समेत दृष्टिकोण यतिबेला सन्देहपूर्ण बनेको छ।

स्कुलको वेबसाइटमा उल्लेख गरिएअनुसार शुभताराको कुल परिसर क्षेत्रफल १२० रोपनीभन्दा बढी छ। यसमा विद्यालयको आफ्नै नाममा ८० रोपनी हाराहारी जग्गा र बाँकी कक्षपति परिवारको व्यक्तिगत नाममा रहेको विद्यालय स्रोतको भनाइ छ। 

अहिले शुभतारा रहेको स्थानमा पहिले इलाइट्स को-एड स्कुल थियो । इलाइट्सबाट करिब २० वर्षअघि शुभताराले केही संरचनासहित ६० रोपनी जमिन खरिद गरेर त्यसमै अन्य पूर्वाधार र भवन संरचना थप्दै अहिलेको स्वरुपमा ल्याएको हो। 

यसमध्ये व्यक्तिगत नाममा भएको १० रोपनी जमिन कक्षपति परिवारले करिब पाँच महिनाअघि बिक्री गरेको यो कारोबार निकट व्यक्तिले जानकारी दिएको छ। चलनचल्तीको भाउ १८ लाख आना चलेको भएपनि कक्षपतिले उक्त जग्गा आनाको १२ लाखको हाराहारीमा बिक्री गरेको स्रोतको भनाइ छ। खरिदकर्ताले उक्त जग्गासहित १५ रोपनीमा अहिले प्लटिङसमेत सुरु गरिसकेका छन्।

स्कुलले नै भोगचलन गर्दै आएको करिब १९ करोड बराबरको जग्गा बिक्री गरेलगत्तै त्यसमा प्लटिङ हुन थालेपछि कतिपयले स्कुल बन्द गरेर कक्षपतिले बाँकी जग्गा पनि यसरी नै घरजग्गा व्यापारीलाई बुझाउने आशंका समेत स्थानीय र विद्यालयका अन्य सरोकारवालाले गरेका छन्।

यस्तै, ठूलो क्षेत्रफलमा विस्तारित रहेको विद्यालय बन्द गरेर कक्षपतिले होटल वा रिसोर्ट चलाउन लागेको लख काट्ने मात्र होइन ठोकुवा गर्नेसमेत मनग्य छन्।

तर कक्षपति परिवारलाई नजिकबाट चिनेका र होटल-रिसोर्टका लागि आवश्यक संरचनाबारे जानकार एक व्यवसायीको विश्लेषणमा लामाटारमा रहेको शुभतारा स्कुलको संरचना यसका लागि बिल्कुलै अनुपयुक्त छ।

'त्यहाँ स्कुलकै लागि भनेर बनाइएका त्यतिका धेरै भवन लगायतका स्ट्रक्चर भत्काएर होटल वा रिसोर्ट बनाउन सम्भवै छैन। त्यत्रो झन्झट कसले उठाउँछ?,' उनी भन्छन्, 'र, ७० वर्षनजिक पुगिसकेको रोगले थलिएको मान्छेले यो उमेरमा आएर नयाँ होटल शुरु गर्छ भन्ने तर्कमा मलाई अलिकति पनि पत्यार छैन। साँच्चै भन्ने हो भने वहाँका भएकै व्यवसाय पनि हेरिदिने उत्तराधिकारी छैन।'

लामो समयदेखि गम्भीर रोगको सिकार भएका श्याम कक्षपति पछिल्लो दुई महिनादेखि सघन उपचारका लागि बैंककमा छन्। केही दिनअघि मात्र उनको दुईवटा शल्यक्रिया भएको निकट व्यक्तिको भनाइ छ।

यसका बाबजुद स्कुल बन्द गरेर कक्षपति परिवारले त्यो जग्गामा होटल/रिसोर्ट ल्याउने, हाउजिङ बनाउने वा जग्गासहित सम्पूर्ण प्रोपर्टी नै बिक्री गर्ने जस्ता अडकलबाजीहरु जारी छन्। यस विषयमा रानी गुरुङले भनिन् - 'त्यस्तो विचार छैन, यो सब झुटो आरोप हो।'

पारिवारिक स्वास्थ्य अवस्थाका कारण अलिक स्ट्रेसमा रहेको बुझिएकी रानी स्कुल बन्दका विषयमा उठेका प्रश्नहरुबारे खासै टिप्पणी गर्ने मुडमा भने देखिइनन्। छोटो जवाफ दिँदै उनले भनिन्, 'सरको हालत धेरै नाजुक छ। गम्भीर अवस्थामा छ। मलाई पनि सञ्चो छैन। अहिले (यस विषयमा) केही नभनौं। बेला भएको छैन।'

शुभताराको तीन दशकभन्दा बढीको लिगेसी नै हराउने गरी स्कुल बन्दको निर्मम निर्णयसम्म पुग्नुको कारण अर्थ्याउन यति भन्दै उनले आफ्नो कुरा टुंग्याइन् - 'हामी अहिले बाँच्ने कोसिसमा छौं। मरता क्या नही करता!'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell