
काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दामा सुनुवाइ सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रश्न उठेका दुई न्यायाधीश दीपककुमार कार्की र आनन्द मोहन भट्टराईले राय आदेश नसुनाउने र शेरबहादुर देउवाका वकिललाई बहस गर्न समय दिएर सुनुवाइलाई अगाडि बढाएका छन्।
दुई न्यायाधीशको राय नआउने, सुनुवाइ निरन्तरता गर्ने आदेश निवेदक राजाराम घिमिरेले असहमति जनाउँदा प्रधानन्यायाधीश जबराले रोके।
त्यसपछि न्यायाधीश ईश्वर खतिवडाले उठान गरिएङ्का प्रश्नमाथि कार्की र भट्टराईले फैसलामै जवाफ आदेश सुनाउने बताए। खतिवडाले देउवाका वकिललाई आधा घण्टा समय तोके बहसका लागि।
हामीलाई भगाउने कोसिस नहोस् : न्यायाधीश खतिवडा
न्यायाधीश ईश्वर खतिवडाले यो विवादको सिलसिलामा धेरै वटा अनुभव प्राप्त भएको बताएका थिए।
'संविधानतह प्रधान न्यायाधीशको विकल्प छैन। बाँकी न्यायाधीश एउटै डुंगामा छौं। अब हामी अगाडि बढ्छौं। हामीलाई भगाउने कोसिस कतैबाट नहोस्,' उनले भने। समय जति तोकिएको छ त्यति नै हुने भन्दै उनले आधा घण्टा भनेको आधा घण्टामात्र हो भने। कम समयमा सके राम्रो भन्दै उनले बसहमा उत्रिएका कानुन व्यवसायीलाई समयमै सक्न आग्रह गरे।
'अस्ति उठेको विवाद नोटिसमा छ। सम्बोधन गर्नुपर्छ/पर्दैन हाम्रो जानकारीमा छ। कहिलेकाहीँ केही कुराहरु उठान गरिएका प्रश्नको कहिले शब्दबाट त कहिले मौनतबाट जवाफ हुन्छ,' न्यायाधीश खतिवडाले भने, 'त्यसैले बेन्च गठन सम्बन्धी कुनै पनि प्रश्न हुनुहुँदैन। यो नै फाइनल हो। अबदेखि यो विषय उठान हुँदैन। फाइनलमा हो वा भोलि पर्सि फैसला हुँदा लेखौंला।'
अनावश्यक रुपमा विवादमा ल्याउने सन्दर्भहरु बिर्सनुपर्ने बताउँदै उनले यो सिच्युसनलाई करेक्सन गर्ने बताए।
आज प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा पेशीमा चढेको हो। प्रधान न्यायाधीश विरामी हुँदा सोमवार र मंगलवार स्थगित इजलास आज बसेको हो।
इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन्।
देउवाका तर्फबाट वरिष्ठ अधिवक्ता महादेव यादव यतिखेर बोल्न सुरु गरेका छन्।