PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

उत्तर प्रदेशको कानपुरमा भयावह दुर्घटना, १७ जनाको मृत्यु



पहिलोपोस्ट

उत्तर प्रदेशको कानपुरमा भयावह दुर्घटना, १७ जनाको मृत्यु
Ankit Shukla

उत्तर प्रदेशको कानपुर-इलाहाबाद राष्ट्रिय राजमार्गमा मंगलवार दुई सवारी साधन एकअर्कासँग ठोक्किएका छन्। जसमा परेर १७ जनाको मृत्यु भएको छ। त्यस्तै ४ जना गम्भीर घाइते भएका छन्।

कानपुर आउटरका पुलिस अधीक्षक अष्टभुज प्रसाद सिंहका अनुसार सचेन्डी भन्ने ठाउँमा तीव्र गतिमा आएको बसले टेम्पोलाई ठक्कर दिएको हो। लगत्तै दुबै सवारी साधन पल्टिएको समाचार एजेन्सी पीटीआमा जनाइएको छ।

उन्नावबाट गुजराततर्फ गइरहेको निजी बसको ठक्करले टेम्पो पूरै क्षतिग्रस्त भएको छ। घटना भएपछि स्थानीयको पहलमा घाइते यात्रुहरूलाई बाहिर निकालियो। प्रहरीले ती घाइतेहरूलाई लाला लाजपत राय अस्पताल पुर्‍याए। जसमध्ये १६ जनालाई डाक्टरले मृत घोषित गरे। एक जनाको उपचारको क्रममा मृत्यु भएको हो। बाँकी चार यात्रुको उपचार भइरहेको छ। तीमध्ये एक १५ वर्षीय युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बीबीसी हिन्दीका अनुसार मर्नेमध्ये प्राय नजिकैको बिस्कुट उद्योगमा काम गर्ने युवा मजदुर हुन्। उनीहरू रातिको सिफ्ट काम गर्न गइरहेका थिए।

प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनामाथि तुरुन्त अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन्। साथै दुर्घटनामा परेर ज्‍यान गुमाउनेको परिवारलाई दुई दुई लाख क्षतिपूर्ति दिने घोषणा गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell