PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

विश्वासको मत लिने अघिल्लो दिन विपक्षी सांसद प्रदेश प्रमुख कहाँ, पौडेलले भनिन् : संविधान मिच्दिन



रिना थापा

विश्वासको मत लिने अघिल्लो दिन विपक्षी सांसद प्रदेश प्रमुख कहाँ, पौडेलले भनिन् : संविधान मिच्दिन

पोखरा : बुधवार गण्डकी प्रदेशका विपक्षी सांसदले प्रदेश प्रमुखसँग भेटवार्ता गरेका छन्।  मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुभन्दा एक दिनअघि गरिएको भेटघाटलाई अर्थपूर्ण रुपले हेरिएको छ। 

भोलि प्रदेशसभामा मुख्यमन्त्री गुरुङले विश्वासको मत लिँदैछन्। उनले विश्वासको मत प्राप्त गर्न नसके प्रदेशमा नयाँ सरकार गठन प्रकृया सुरु हुन्छ। 

आजको भेटघाटमा विपक्षीले वैशाख २९ गतेको जस्तो 'कीर्ते'को घटना दोहोरिए के गर्ने भन्ने विषयमा कुराकानी भएको एक सांसदले बताए।
मुख्यमन्त्री गुरुङले विश्वासको मत लिनसके राम्रो, नभए विपक्षीलाई सरकार बनाउन सहज गराइदिनुपर्ने उनको भनाइ थियो। 

'यसअघि हामीले प्रतिनिधिलाई शपथ खुवाउन पर्‍यो भन्यौं तर कीर्तेलाई सदर गरियो,' छलफलमा सहभागी ती सांसदले भने, 'प्रदेश प्रमुख जस्तो पद संवैधानिक निकाय हो। त्यसको दुरुपयोग हुन्छ त्यसमा ध्यान पुर्‍याइदिनुहुन हाम्रो आग्रह थियो।'

भेटमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानलाई मिचेर कुनै काम नगर्ने प्रतिबद्ध जनाएकी थिइन्। 'म संविधानलाई मिचेर कुनै काम गर्दिन शान्ति र अमनचयनका लागि म प्रतिवद्ध छु,' प्रदेश प्रमुखलाई उद्धृत गर्दै ती सांसदले भने । 

वैशाख २९ गते विपक्षी दलले सरकार बनाउन आफुहरुसँग आवश्यक मत रहेको दावीका साथ प्रदेश प्रमुख कार्यालय पुगेको थियो। विपक्षी दलले बहुमत रहेको दाबी पेश गर्दै प्रदेश प्रमुख कार्यालय पुग्दा राष्ट्रिय जनमोर्चाका दुई सांसद तटस्थ रहेको विज्ञप्ति सार्वजनिक भएको थियो। सोही दिन साँझ जनमोर्चाका सांसद पियारी थापाले उक्त विज्ञप्ति वास्तविक नभएको जनाएकी थिइन्। 

तर, प्रदेश प्रमुख  सीताकुमारी पौडेलले भने उक्त विज्ञप्तिलाई आधार मानेर बहुमत नपुग्ने भन्दै संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री पदमा पृथ्वीसुब्बा गुरुङलाई पुन:  शपथ खुवाएकी थिइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell