
काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ।
नेपाली कांग्रेसमा शेरबहादुर देउवासहित १४६ सांसदको रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितको संवैधानिक इजलासले १५ दिनभित्र लिखित जवाफ पेश गर्न प्रधानमन्त्री र राष्ट्रपति कार्यालयका नाममा आदेश गरेको छ।
इजलासले ९ गतेबाट देउवाको मुद्दामा निरन्तर सुनुवाइ गर्ने प्रधानन्यायाधीश जबराले इजलासमा जानकारी दिए।
संवैधानिक इजलासले देउवाका वकिलको माग बमोजिम अन्तरिम आदेश भने दिएन।
'अघिको बहस सुनेको आदेश तयार छ। बाँकी २९ जनाको आदेश तयार हुने प्रक्रियामा रहेकाले अलि कति समय लाग्छ। यसमा नक्कल लिएर गए हुन्छ। शेरबहादुर देउवाको मुद्दालाई ९ गतेलाई राखेका छौं । यो मुद्दाको परिणामले अरु मुद्दालाई असर पर्ने भएकाले यो सकिएपछि अरुको सुनुवाइ हुनेछ। २९ एकातिर हुने भयो। १ एकातिर हुने भयो,' प्रधानन्यायाधीश जबराले भने।