PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अपरिचितको शरीर अङ्ग, अनुसन्धानमा सकस : कसरी पुग्ला प्रहरी टुङ्गोमा?



सविन ढकाल

अपरिचितको शरीर अङ्ग, अनुसन्धानमा सकस : कसरी पुग्ला प्रहरी टुङ्गोमा?

काठमाडौं : भक्तपुरको हनुमन्ते खोलामा एउटा शव भेटियो। स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेर हेर्दा टाउको काटेर शरीरमात्र फ्याँलिएको रहेछ। प्रहरीले शवको पहिचान गर्न खोज्यो। डेढ वर्ष बितिसक्यो त्यो शरीर कसको हो, परिचय खुलेन।

शवको पहिचान हुन नसक्दा प्रहरीको अनुसन्धानले टेक्ने ठाउँ र समाउने हाँगो दुवै पाउँदैन। मृतकको पहिचान खुलेको भए हत्यारासम्म प्रहरी पुग्नसक्ने आधार भेटिन सक्थ्यो। तर, शवको पहिचान नै नखुल्दा यस्ता धेरै घटना रहस्यको गर्भमै रहिरहन्छन्।

जघन्य प्रकृतिको अनुसन्धान गर्ने महानगरीय अपराध महाशाखाको टोलीले अहिले पनि यो घटनाको अनुसन्धान गरिरहेको छ। तर, कुनै क्लु हात नपरेको महाशाखाका एसएसपी चन्द्रबहादुर खापुङले बताए।

'शरीरको भागमात्र भेटिएको थियो। त्यसैले मृतकको अन्य पहिचान खुलेन। अहिले पनि हामी अनुसन्धान गरिरहेका छौं,' एसएसपी खापुङले भने।

मंगलवार काठमाडौंको गुहेश्वर फाँटको टाउन प्लानिङमा यस्तै प्रकृतिको केस देखियो। मानिसको शरीरको सानो हिस्सामात्र भेटियो। बाक्लो बस्ती र सडकको छेउमा नै रहेको खाली जग्गामा फ्यालिएको बोराभित्र मानिसको एउटामात्र खुट्टा भेटिएको थियो। बोरामा पराल हालेर डढेको जस्तो देखिने अवस्थामा खुट्टा फेला परेको हो।

प्रहरीलाई यो घटनाको अनुसन्धानले पनि टाउको दुखाउने निश्चित छ। यस घटनामा पनि खुट्टा कसको हो त परै जावस्, महिलाको कि पुरुषको समेत खुलेन। डीएनए परीक्षणबाट लिङ्गसम्म खुल्न सक्छ। तर, शरीरका बाँकी भाग कहाँ छ अनुमान गर्ने कुनै आधार छैन। जसले गर्दा प्रहरीका लागि अनुसन्धान जटिल बनेको छ।

खुट्टा सहितको बोरा कसैले ल्याएर फ्यालेको देखेका हुन्थ्यो अथवा सीसी क्यामरामा ती दृश्य कैद भएको भए अनुसन्धानलाई लिड गर्न प्रहरीका लागि आधार तयार हुन्थ्यो। त्यसैले प्रहरीले घटनास्थल वरपर रहेका सीसी क्यामराको फुटेजसमेत संकलन गरेर अनुसन्धान गरिरहेको छ। स्थानीयसँग पनि सोधपुछ गरिरहेको छ। तर पनि अहिलेसम्म कुनै क्लु मिलेको छैन।

चिकित्सकले प्रारम्भीक रुपमा प्रहरीलाई दिएको जानकारी अनुसार खुट्टा वयस्क व्यकिको हुनसक्ने देखिएको छ। त्यस्तै, खुट्टाको प्रकृति हेर्दा दुई देखि तीनसाता अघि नै टुक्र्याइएको हुनसक्ने देखिएको छ।

उमेर, लिङ्ग र घटना भएको अवधि पत्ता लाग्दैमा मृतकको सनाखत हुन सक्दैन। उमेर र लिङ्ग र घटना भएको समयले प्रहरीको अनुसन्धानलाई केही न्यारोडाउन मात्र गर्न सक्छ। जस्तो कुनै संदिग्ध व्यक्ति भए उसको उमेर र भेटिएको शरीरको उमेर, लिङ्ग र हराएको वा सम्पर्क नभएको मिति भिडाएर सनाखत गर्न केही सजिलो हुन्छ।

'हाम्रो पहिलो प्राथमिता भनेको शव पहिचान नै हो। त्यसपछि किन हत्या? कसले हत्या गर्‍यो भन्ने खोजी गर्ने हो,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले भने।

घटनाको अहिले महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा र  महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले अनुसन्धान गरिरहको छ। भेटिएको अंगमाथि त्रिवि शिक्षण अस्पतालका चिकित्सकले पनि अनुसन्धान गरिरहेका छन्।

घटनाको अनुसन्धान गर्न केन्द्रीय कुकुर तालिम केन्द्र महाराजगन्जको तालिमप्राप्त कुकुर समेत खटाइएको थियो। तर, प्रहरीको कुकुरले कुनै सङ्केत गर्न सकेन। गत साउनमा गोङ्गबुमा सुटकेसभित्र भेटिएको शवको अनुसन्धानमा प्रहरीको तालिम प्राप्त कुकुरको अनुसन्धानले प्रहरीलाई क्लु दिएको थियो। कुकुरले नै घटनास्थलबाट तीन सय मिटर पर पुगेर सङ्केत गरेपछि काटिएको टाउको र खुट्टा फेला परेको थियो। त्यही टाउको प्रहरीले सार्वजनि गरेपछि मृतकको सनाखत भएको थियो। सनाखतसँगै हत्याको कारण र अभियुक्तलाई पक्राउ गर्न प्रहरी सफल भएको थियो।

यस्तो केसमा कस्तो हुन्छ अनुसन्धान ?

शवको पहिचान नहुँदा प्रहरीको अनुसन्धान जटिल बन्ने गर्छ। धेरै यस्ता घटना पनि छन् जसले सनाखत नहुँदा हत्यारा पत्ता लाग्न सकेको छैन। त्यसैले यस्ता घटनालाई सुक्ष्म र समय खर्चिएर अनुसन्धान गर्नुपर्ने नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी बताउँछन्।

'यस्तो अनुसन्धानमा धेरै च्यालेन्ज हुन्छ। व्यक्तिको सनाखतबाट नै हत्यारासम्म पुग्न सकिने सजिलो बाटो हो। तर, अन्य अनुसुन्धानको पाटो पनि छ,' पूर्व डीआईजी ठकुरीले भने।

प्रहरीले देशभर हराएका मानिसको विवरण लिएर उमेर, लिङ्ग, मृत्यु भएको अनुमानित समयसँग म्याच गराएर संदिग्ध व्यक्तिको पहिचान गर्छ। त्यस्तै, भेटिएको खुट्टाबाट डीएनए निकालेर राख्छ। त्यसपछि कुनै पनि मृतका परिवारले प्रहरीकहाँ कुनै जानकारी दिए पुगे भने आफन्तसँगको डीएनए म्याच गरेर पनि अनुसन्धान गरिन्छ। हाम्रो जस्तो देशमा सबै नागरिक डीएनए रेकर्ड गरेर राख्ने परम्परा छैन। यदि त्यसो भएको भए खुट्टाबाट पाएको डीएनए आर्काइभमा भएको डीएनसँग म्याच गर्दा केही क्लु भेट्ने सम्भावना हुन्थ्यो।

मंगलवार बोरामा शरीरको घुँडाभन्दा तलको भागमात्र फेला परेको छ। शरीरका बाँकी भाग कहाँ गए?  यदि हत्या गरेर शव व्यवस्थापनका लागि यसरी नै शरीर टुक्रा पारेर फ्यालेको भए शरीरका अन्य भाग पनि भेटिन सक्ने सम्भावना हुन्छ। काठमाडौं उपत्यकाभित्र वा अन्य जिल्लामा यस्ता शरीरका भाग भेटिए त्यसलाई पनि डीएनए प्रोफाइलिङ गरेर भिडाउन सकिन्छ।

'अब त देशका कुनै ठाउँमा शरीरको बाँकी अंश भेटिए शंकाको दृष्टिले हेरेर अनुसन्धान गर्नुपर्ने हुन्छ,' ठकुरीले भने।

अपराध र शवको पहिचान लुकाउन हत्याराले शरीरलाई टुक्राटुक्रा पारेर देशका विभिन्न जिल्लामा पुर्‍याएको उदाहरण समेत छन् नेपालको सन्दर्भमा। जसको चर्चित उदाहरण हो - ख्याती श्रेष्ठ हत्या प्रकरण। २०६६ जेठ २२ मा अनामनगर बस्ने १९ वर्षीया ख्याती श्रेष्ठ हराइन्। त्यसपछि उनको अपहरण भएको भन्दै अपहरणकारीले फोन गरेर परिवारसँग फिरौती रकम मागे। अपहरण भएको १७ दिनपछि प्रहरीले विरेन श्रेष्ठलाई सोह्रखुट्टेबाट पक्राउ गर्‍यो। पक्राउ पछि श्रेष्ठले पुतलीसडकबाट ख्यातीलाई सोही दिन आफ्नो खुसिंबुको कोठामा लगि कफीमा बेहोस हुने औषधि हालेर खुवाई रडले टाउकोमा हानी हत्या गरेको खुलेको थियो।

ख्यातीको शरीरका भाग ललितपुरको बुङ्मती, काठमाडौं र चितवनमा फेला परेको थियो। उनले शरीरलाई टुक्रा टुक्रा बनाएर तीन जिल्ला पुर्‍याएर फ्यालेका थिए।

विरेनले शवको पहिचान लुकाउनका लागि टुक्राटुक्रा पारेको खुलेको थियो। उनी चिकित्सशास्त्रको समेत जानकार भएकाले शवलाई सहजै टुक्रा पारेका थिए। उनले केही दिनसम्म शवबाट छुट्याएको टाउको फ्रिजमा राखेर जोगाएका थिए।

बौद्धको घटना पनि यसैगरी व्यवस्थापन गर्न खोजेको देखिएको छ। तर, यदि शरीरको अन्य भाग जलाएर नष्ट गरेको र बाँकी भाग फ्यालेको भए अन्य शरिरको अंग भेटिने छैन। तर, पनि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरेर हत्यारासँग पुग्ने दाबी गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell