PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

६ बुँदे बटमलाइनपछि ओली-नेपालको गृहकार्य अलग हुनेतिर! तैपनि किन भइरहेको छ वार्ता?



प्रकाश भण्डारी

६ बुँदे बटमलाइनपछि ओली-नेपालको गृहकार्य अलग हुनेतिर! तैपनि किन भइरहेको छ वार्ता?

काठमाडौं : नेकपा एमालेका दुई समूहको दुरी झनै बढेको छ। ६ बुँदेलाई 'बटमलाईन' बनाएर युद्धविरामको  प्रयास भए पनि सफल भने भएन।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल-झलनाथ खनाल फरक पार्टीको तयारीमा जुटेपछि पुनर्मिलनको सम्भावना क्षीण बन्दै गएको हो।

एकताको लागि भन्दै संवादमा जुटेका दोस्रो तहका नेताहरुले पनि शीर्ष नेतृत्वको बेवास्ताका कारण आफूहरुको प्रयास असफल भएको आरोप लगाएका छन्। नेपाल समूहका नेता योगेश भट्टराईले बुधवार आफ्नो धारणा सार्वजनिक गर्दै ओली, नेपाल र खनालका कारण एकता सम्भव नभएको आरोप लगाएका थिए।

नेपाल-खनालले एमाले एक नरहने निष्कर्ष निकालेपछि ओलीले वार्ताको 'कार्ड' खेलेका हुन्। केही नेतालाई मात्रै भए पनि आफूतिर तान्ने र नेपाल-खनाललाई कमजोर बनाउने ओलीको रणनीति छ। त्यसका लागि वार्तादेखि ६ बुँदेको प्रस्ताव सार्वजनिक गरिएको थियो। जसलाई नेपाल-खनालले जालझेलको संज्ञा दिए। केन्द्रीय कमिटीको बैठकपछि नयाँ पार्टी गठनलाई तीब्र तयारी गरिने नेपाल समूहका नेताहरुले बताएका छन्।

वार्ता बहानामात्रै

एमाले विवादले फुटको रुप लिनै लागेका बेला एमालेका दोस्रो तहका नेता सक्रिय भए। उनीहरुकै कारण वैशाख २७ गते नेपाल समूहले सांसद पदबाट दिन लागेको सामूहिक राजिनामा रोकिएको थियो। ओलीले नेपालसहित ४ नेतामाथिको निलम्बन फुकुवा गरे। ओली-नेपाल एक्ला एक्लै भेटे पनि। तर, एमालेका नेताको किचलो घट्नुको साटो एकपछि अर्को विवादमा फस्दै गएको छ। हाल दुबै समूह अब एक हुन नसक्ने निष्कर्षमा पुगेको बताइन्छ। यद्यपि, दोस्रो तहका नेताहरुको संवाद भने रोकिएको छैन।

मंगलवार पनि दोस्रो तहका नेताहरु वार्ताका लागि जुटेका थिए। ओलीका तर्फबाट सुवास नेम्वाङ, बिष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल तथा नेपालका तर्फबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य,  योगेश भट्टराई र गोकर्ण विष्टले छलफल गरेका थिए।

उक्त वार्ताले कुनै समाधान निकाली नसकेको ओली समूहका नेता सुवास नेम्बाङले बताए। उनले निरन्तार संवाद गर्ने सहमति भएको जानकारी दिए। 'निरन्तर संवादमा जुटेन गरि हामीले छलफल गरिरहेका छौ,' उनले भने। उक्त वार्तामा पनि एमालेको नेपाल-खनाल समूहका सबै नेता एकताका लागि सकारात्मक नभएको भन्दै छलफल भएको थियो। ओली समूहले नेपाल-खनाल बाहेकका नेतालाई ओली समूहमा ल्याउन पहल गरिरहेका छन्। त्यसको निरन्तरता स्वरुप वार्ता भइरहेको हो। 'सयमा सय नै त अब एक हुन्छन् भन्ने छैन। हाम्रो प्रयास त यो वा त्यो भन्ने छैन,' नेम्बाङले भने।

नेपाल-खनालले दिएनन् वार्तालाई मान्यता

नेपाल-खनाल समूहले भने उक्त एकताको प्रयासलाई मान्यता दिएको छैन। दोस्रो तहका नेताको वार्ता पार्टी एकताका लागि नभइ व्यक्तिगत तहमा मात्रै भएको नेपाल निकट नेताहरुको भनाई छ। नेपाल समूहका नेता जीवनराम श्रेष्ठले अनौपचारिक वार्ता भएकाले औचित्य नभएको बताए। 'त्यो नितान्त अनौपचारिक छलफल हो। स्थायी कमिटी बसेर ६ बुँदे बटमलाइन सार्वजनिक गरिसकेपछि पुरा गरे वार्ता हुन्छ नभए हुदैन,' उनले भने।

बिहीवार र शुक्रवार भएको नेपाल-खनाल समूहको केन्द्रीय कमिटीको बैठकमा वार्तामा सक्रिय नेताहरुको भूमिकामाथि प्रश्न उठेको थियो। नेपाल-खनालको जानकारीमै वार्ताका लागि इमान्दार पहल गरेको बैठकमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले स्पष्टीकरण दिएका थिए।

धेरैजसो केन्द्रीय सदस्यले जेठ २ गते गठित वार्ता टोलीका संयोजक भीम रावललाई कारवाही गरेर वार्ता गर्नु आफ्नै समूहका लागि घातक भएको धारणा राखेका थिए।

यसकारण ल्याएका थिए ओलीले ६ बुँदे

वार्ताको कार्डमार्फत नेपाल समूहलाई अलमल्याउँदै आएका ओली आइतवार भने एकाएक थप नरम देखिएका थिए। उनले २०७५ जेठ ३ को एमालेमा फर्कन तयार भएको मात्रै नभइ नेपाल समूहलाई कारवाही नगर्नेसम्मको आश्वासन दिएका थिए। उक्त विज्ञप्ती आउनुअघि नै ओलीको चालबारे जानकारी पाएको नेपाल समूह भने ६ बुँदेले थप आक्रोशित भएको थियो।

आफ्नो समूहमा फुट ल्याउन ओलीले ६ बुँदेको प्रस्ताव ल्याएको नेपाल समूहको ठहर थियो। ओली निकट एक नेताले नेपाल र भीम रावल बाहेकका नेताहरुलाई एमालेमा फर्काउन ६ बुँदे प्रस्ताव आएको बताए। 'उहाँहरु त कारवाहीमै हुनुहुन्छ। त्यसलै त्यस बाहेकका केही नेताहरु जो एकताका लागि सकारात्मक छन् त्यसका लागि पहल गरिएको हो,' उनले भने। नेपाल बाहेकको वार्ता र एकताको पहलको औचित्य नभएको निष्कर्ष निकालेका नेपाल-खनालले ओलीलाई ६ बुँदेमार्फत नै काउण्टर दिएका थिए। ओलीको प्रस्तावमा नभुलिने बरु नयाँ पार्टी बनाउने नेपाल-खनालको तयारी छ।

'एमालेले पुरा नगरेको नयाँ पार्टी गठन गरेर पुरा गर्छौ'

नेपाल समूहका नेताहरुका अनुसार नयाँ पार्टी घोषणाको अन्तिम तयारी भइरहेको छ। सांसदहरुले हस्ताक्षर गरेर अदालतमा रिट निवेदन दिएकाले तत्काल नयाँ पार्टी घोषणा नभएको हो।  प्रतिनिधि सभा विघटन र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ती सम्बन्धि अदालतले फैसला दिने बितिकै नयाँ घोषणा हुने नेपाल निकट नेताले बताए। श्रेष्ठले एमाले एकता कमजोर बनेसँगै नयाँ पार्टी गठनको सम्भावना बढ्दै गएको बताए। 'जति एमाले एकताको सम्भावना कम हुन्छ नयाँ पार्टी गठनको सम्भावना त्यति नै बढी हुन्छ,' उनले भने।

नेपाल निकट नेतृ तथा केन्द्रीय सदस्य जयन्ती राईले पनि अब नयाँ पार्टी गठन गर्नुको विकल्प नभएको बताइन्। 'अब वार्ताले पार लाग्दैन। बन्ने भनेको नयाँ पार्टी नै हो। त्यसका लागि केही समय लाग्ला,' उनले भनिन्।

नेपाल समूहले वार्तामार्फत ओलीले आफ्नो समूहलाई कमजोर बनाएको भन्दै नयाँ पार्टी गठन नगरे थप कमजोर हुने निष्कर्ष निकालेको छ।

स्थायी कमिटी सदस्य तथा नेपाल निकट नेतृ अष्टलक्ष्मी शाक्यले वार्तामा अल्झिरहे अहिले भएको आफ्नो समूहको शक्ति कमजोर बन्दै जाने बताइन्। 'वार्ता भनेर अलमल गरेपछि हामीसँग भएको शक्ति पनि कमजोर हुँदै जान्छ। ओलीले इमान्दार रुपमा एकता चाहेका छैनन्,'  उनले भनिन्।

नयाँ पार्टी कस्तो?

केन्द्रीय सदस्य श्रेष्ठले कम्युनिस्ट एकता तत्काल सम्भव नभएको बताए। ओलीले कम्युनिस्ट एकताले ध्वस्त बनाएको आरोप लगाए। 'ओलीले कम्युनिस्ट एकता त पोलेर खाइहाले नि। एकता तत्कालका लागि त्यति सम्भव देखिदैन। एकताको प्रयास त सधै भइरहन्छ नै,' उनले भने।

उनका अनुसार अब बन्ने नयाँ पार्टीले ओलीले नेतृत्व गरेको एमालेलाई काउण्टर दिनेछ। एमालेले पुरा नगरेका र अबलम्बन गरेर पालना नगरेको कम्युनिष्ट सिद्धान्त बोकेर नयाँ पार्टीको गठन गर्ने नेपाल-खनालको तयारी छ। 'हामी बिद्रोह गर्छौ, क्रान्तिकारी पुनरगठन गरेर नयाँ पार्टी बनाउँछौ। एमालेले पुरा नगरेका कम्युनिष्ट विचार र सिद्धान्तका कुरा हामी पुरा गर्छौ। आन्दोलनलाई अगाडी बढाउछौ,' श्रेष्ठले भने।

एकताका लागि ओलीको शर्त सहितको ६ वुदे प्रस्ताव र नेपाल-खनालको काउण्टर प्रस्तावपछि एमाले फुट्ने पक्का भएको दुबै समूहका नेताहरुको भनाई छ। उनीहरुका अनुसार ओलीले पनि नेपाल-खनाललाई एमालेमा ल्याउन चाहेका छैनन् भने नेपाल-खनालले पनि अलगै पार्टीको तयारी तीब्र रुपमा गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell