
काठमाडौं: गायक दीप श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन्।
कोरोना संक्रमण पुष्टि भएको दुई सातापछि उनको शरीरमा अक्सिजन लेभल कम भएको थियो। जस कारण जेठ १२ गते उनलाई ह्याम्स अस्पताल भर्ना भएका थिए।स्वास्थ्य अवस्था सामान्य भएपछि अस्पतालले आज दिउँसो २:५० मा डिस्चार्ज गरेको ‘द भ्वाइस अफ नेपाल’ निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए।
'१५ दिनको बसाई पछि उहाँ आज घर फर्किनु भएको छ। स्वास्थ्यमा सुधार आएर घरमा बस्न मिल्ने भएपछि अस्पतालले डिस्चार्ज गरेको हो। हिजो देखि नै उहाँ अक्सिजनको सहायताबिना नै बसिरहनु भएको छ।' पौडेलले भने।
उनको स्वास्थ्य अवस्थामा सुधार आए पनि कोरोना रिपोर्ट पोजेटिभ नै देखिएको छ। त्यसैले उनी अब होम आइसोलेसनमा नै बस्नेछन्।
‘द भ्वाइस अफ नेपाल’ को पहिलो संस्करणदेखि नै उनी निर्णायकको रूपमा रहँदै आएका छन्।