PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मुख्यमन्त्री भट्टलाई मत दिने १७ सांसदलाई एमाले ओली समूहले सोध्यो स्पष्टीकरण



एम बम

मुख्यमन्त्री भट्टलाई मत दिने १७ सांसदलाई एमाले ओली समूहले सोध्यो स्पष्टीकरण

कैलाली : पार्टी केन्द्रको निर्देशन विपरीत सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मत दिने एमालेको माधव समूहका १७ जनालाई एमालेको ओली समूहले स्पष्टीकरण सोधेको छ। एमालेको ओली समूहका प्रदेश कमिटी अध्यक्ष कर्ण थापा र प्रदेश सचिव राजेन्द्र रावलले माधव पक्षका सासंदलाई स्पष्टीकरण सोधेका हुन्।

प्रदेश कमिटीका सचिव राजेन्द्र रावलले पार्टीको निर्देशनविपरीत मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने माधव पक्षका १७ सासंदलाई २४ घण्टे स्पष्टीकरण सोधेको जानकारी दिए। केन्द्रको निर्देशनअनुसार एमाले संसदीय दलका नेतासहित १७ जनालाई स्पष्टीकरण सोधिएको उनले बताए।

‘१० जेठमा पार्टीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको थियो,’ उनले भने, ‘त्यसपछि प्रदेश कमिटीले पटकपटक सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ। मुख्यमन्त्रीको विपक्षमा भोट हाल्न पनि निर्देशनात्म पत्र दिएका थियौं। तर त्यसको पनि उल्लघन गरेपछि स्पष्टीकरण सोधिएको हो।’

रावलले चित्तबुझ्दो जवाफ नदिए पार्टीको साधारण सदस्य समेत नरहने गरी १७ जनालाई नै निष्काशन गरिने बताए। स्पष्टीकरण सोधिएका १७ सासंदमध्ये सात जना वर्तमान सरकारमा मन्त्री नै छन्।

यसअघि माधव पक्षको बहुमत रहेको संसदीय दलले मुख्यमन्त्री भट्टको विरुद्धमा मत दिने ओली पक्षका सात जना सासंदलाई स्पष्टीकरण सोधेको थियो। ओली पक्षका सासंदले जवाफ दिँदै संसदीय दलको विधानको वैधानिकतामाथि प्रश्न उठाएका थिए।

१० जेठमा एमाले स्थायी कमिटीको बैठकले माओवादी नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। सोही निर्णयलाई टेक्दै ओली पक्षको प्रदेश कमिटीले सरकारबाट फिर्ता हुन एमाले मन्त्रीहरुलाई निर्देशन दिएको थियो। तर १३ जेठमा बसेको संसदीय दलको बैठकले वर्तमान सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गर्दै मन्त्रिमण्डल विस्तार गरेको थियो।

त्यसपछि मुख्यमन्त्रीले विश्वासको मतका लागि पत्र दर्ता गरेपछि प्रदेश कमिटीले विपक्षमा मतदान गर्न निर्देशन दिएको थियो। तर एमाले संसदीय दलले पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell