PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

वाग्मती प्रदेशको नीति तथा कार्यक्रमः कोभिडलाई प्राथमिकता, चालु बाहेक अन्य विकास आयोजना छैनन् प्राथमिकतामा



निशा गुरुङ

वाग्मती प्रदेशको नीति तथा कार्यक्रमः कोभिडलाई प्राथमिकता, चालु बाहेक अन्य विकास आयोजना छैनन् प्राथमिकतामा

हेटौँडाः वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति, कार्यक्रम बिहीबार प्रदेश सभामा पेस गरेको छ। प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले नीति तथा कार्यक्रम  प्रस्तुत गरे। संघीयसरकारको १५औँ योजना तथा प्रदेशको प्रथम आवधिक योजना अनुसार नीति तथा कार्यक्रम तर्जुमा गरिएको दाबी सरकारको छ। 

वाग्मतीले स्वास्थ्य क्षेत्रका कार्यक्रमलाई नै प्राथमिकतामा राखेको छ। कोभिड -१९ विरूद्धको खोपमा प्रदेशबासीको पहुँच पु¥याउन ‘प्रदेश प्रमुख कोभिड–१९ खोप कोष’ स्थापना गरिने कार्यक्रममा उल्लेख छ। कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि प्रदेश अन्तर्गतका सबै अस्पताल तथा स्वास्थ्य संस्थाको सेवा र गुणस्तर अभिवृद्धिका लागि आवश्यक भौतिक पूर्वाधार, जनशक्ति तथा उपकरणको व्यवस्थापन गरिने पनि सरकारको लक्ष्य छ। 

कोभिड उपचारलाई व्यवस्थित गर्न प्रदेश अन्तर्गतका अस्पतालमा थप एचडियू, आइसियू र भेन्टिलेटर स्थापना तथा सुदृढीकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। 

स्थानीय तहका ३५९ सामुदायिक माध्यामिक विद्यालयहरूमा ‘एक विद्यालय एक नर्स’  कार्यक्रम अन्तर्गत परिचालित स्वास्थ्यकर्मीलाई कोभिडलगायत सरुवा रोगको रोकथाम नियन्त्रणमा खटाइने पनि नीति कार्यक्रममा उल्लेख  छ। 

कोभिडले उद्योग तथा पर्यटन क्षेत्रमा पारेको नकारात्मक असरलाई सम्बोधन गर्न ‘जहाँ प्रविधि, पुँजी र सीप, त्यहाँ युवाको हित’ भन्ने कार्यक्रम प्रदेश सरकारले अघि सारेको छ। कोभिडका कारण नवीकरण हुन नसकेका पर्यटन व्यवसाय तथा एजेन्सी, उद्योग एव व्यापारिक फर्महरूलाई एक पटकका लागि नवीकरण गर्ने व्यवस्था मिलाउने प्रतिवद्धता पनि कार्यक्रममा उल्लेख छ। 

प्रदेशभित्र बसोबास गर्ने अति सीमान्तकृत समुदायका लागि विषेश कार्यक्रम ल्याउने नीति तथा कार्यक्रममा उल्लेख छ। 

प्राथमिकता प्राप्त आयोजना तथा कार्यक्रम र बहुवर्षीय अधुरा र क्रमागत आयोजनाहरूलाई प्राथमिकता दिने नीति कार्यक्रममा उल्लेख छ। क्रमागत विनियोजनपछि मात्र अन्य आयोजना तथा कार्यक्रममा बजेट विनियोजन गर्ने सरकारको नीति रहेको छ। 

प्रदेशभित्र सञ्चालनमा रहेका विद्युतीय सञ्चार माध्यमलाई प्रदेशमै दर्ता, इजाजत तथा नवीकरण गर्न प्रोत्साहित गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। सरकारले ‘बाँझो जमिनको प्रयोग, उत्पादनमा सहयोग’ भन्ने चालुको वर्षको कार्यक्रमलाई निरन्तरता दिएको छ। 

हेटौँडामा निर्माणाधीन पाउडर दुध प्लान्ट आगामी आर्थिक वर्षभित्र सञ्चालनमा ल्याइने प्रतिवद्धता नीति कार्यक्रममा सरकारले जनाएको छ। प्रमुख खाद्यान्न बालीको गुणस्तरीय उन्नत बिउ उपलब्धताका साथै रैथाने बिउहरूको संरक्षण तथा प्रवर्धनको नीति पनि सरकारको कार्यक्रममा उल्लेख छ। 

छोटा सुरूङ मार्गहरूको सम्भाव्यता अध्ययन सुरु गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। साथै पोष्टबहादुर बोगटी भीमफेदी-कुलेखानी सुरूङमार्गको निर्माण कार्य सुरू गरिने पनि सरकारको कार्यक्रममा उल्लेख छ।

मानव विकास सूचकाङ्कमा पछाडि परेका उमाकुण्ड, पाँचपोखरी, थाङपाल र जुगल, गौरीशङ्कर, घ्याङलेख, राक्सीराङ्ग, कैलाश, इच्छाकामना, दुप्चेश्वर, महाभारत, खनियाबास, खानीखोला, बकैयालगायतका क्षेत्रको पहिचान गरी विकास कार्यक्रम सञ्चालन गर्न आगामी आर्थिक वर्षमा सम्भाव्यता अध्ययन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell