
कैलाली : सुदूरपश्चिम सरकारले स्वास्थ्य क्षेत्रको प्राथमिकता बाहेक अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ।
प्रदेश प्रमुख गङ्गा प्रसाद यादवले आज प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोरोना महामारी नियन्त्रणलाई प्रमुख प्राथमिकतामा राखिएको बताए। महामारी नियन्त्रणका लागि प्रदेशका जिल्ला अस्पतालहरूको सेवा अभिवृद्धिसँगै सबै जिल्लामा प्रयोगशाला स्थापना गर्ने नीति प्रदेश सरकारले अघि सारेको छ।
साथै, चालू आर्थिक वर्षमा महामारीले विकराल रूप लिँदा समेत सीमानाका व्यवस्थापन र होल्डिङ सेन्टरका विषयमा मौन बनेको सरकारले अब आउँदो वर्ष त्यसका लागि पनि काम गर्ने गरी अघि बढ्ने नीति लिएको जनाएको छ। प्रदेशवासीलाई कोरोना महामारी विरुद्धको खोप उपलब्ध गराइने पनि नीति तथा कार्यक्रममा जनाइएको छ।
महामारी नियन्त्रणमा जोड दिएको प्रदेश सरकारका अन्य कार्यक्रम भने पुरानै छन्। प्रदेश राजधानी तोकिएको गोदावरीमा अहिलेसम्म जग्गा प्राप्तिमै अल्झिएको सरकारले उक्त जमिन आफू मातहत ल्याउन पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
कृषि, पर्यटन, महिला सशक्तीकरण र छाउपडी उन्मुलन जस्ता पुरानै कार्यक्रमले प्रदेश सरकारको नीतिमा स्थान पाएका छन्। जलविद्युततर्फ पश्चिम सेती र पञ्चेश्वर निर्माणका लागि पहल गर्ने खेलकुदतर्फ प्रभावहीन देखिएको मुख्यमन्त्री खेलकुद प्रतियोगिता जस्ता कार्यक्रम अघि सारिएका छन्।
सूचना तथा सञ्चार क्षेत्रका लागि भने प्रदेशमा छुट्टै आम सञ्चार नीति, प्रेस काउन्सिल, सञ्चार रजिस्ट्रार र चलचित्र विकास बोर्ड स्थापना गरिने नयाँ नीति प्रदेश सरकारले अघि सारेको छ।
प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई ओली समूह र प्रमुख प्रतिपक्षी दलले भने अध्ययन बिना ल्याएको रेडिमेड र टालटुलेको संज्ञा दिएका छन्।
अब प्रदेश सरकारले यो नीति तथा कार्यक्रममा टेकेर आउँदो असार १ गते आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट ल्याउने छ।
नीति तथा कार्यक्रमको पूर्ण पाठ :