PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ओली मन्त्रीमण्डलका भाग्यमानी जोडी, जसको मन्त्री पद गुमे पनि गुमेन मन्त्री क्वाटर



प्रकाश भण्डारी

ओली मन्त्रीमण्डलका भाग्यमानी जोडी, जसको मन्त्री पद गुमे पनि गुमेन मन्त्री क्वाटर

काठमाडौं : पूर्व माओवादी नेता तथा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा 'बादल'लाई जेठ ६ गते डबल झट्‍का लाग्यो। एकातिर उनले राष्ट्रियसभाको उपनिर्वाचनमा गठबन्धनका उम्मेद्वार डा. खिमलाल भट्टराईसँग पराजय भोग्नुपर्‍यो भने अर्कातिर सर्वोच्च अदालतको सांसद नभएको व्यक्ति मन्त्री हुन नमिल्ने आदेशले उनको पद गुम्यो। एकै दिन मन्त्री र सांसद पद गुमाउनु परेका 'बादल' त्यसयता भने नेकपा एमालेभित्रै गुमनाम रहे।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा भएको विवादकै बेला अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएका बादलले माओवादी एमाले भिन्न भएपछि मन्त्री पद त्याग्नु भन्दा माओवादी त्याग्नु उचित ठाने। र, गरे पनि त्यसै।

हाल उनी नेकपा एमालेको वाग्मती प्रदेश इञ्चार्जको भूमिकामा छन्। २०७४ फागुन २४ मा माओवादी कोटाबाट मन्त्री बनेका बादलले बाध्य भएर सरकारबाट बाहिरिनु पर्‍यो। मन्त्री पद गए पनि मन्त्रीको क्वाटर नछाडेको भन्दै बादलसहित पूर्व माओवादी नेताको सामाजिक सञ्जालमा चर्को आलोचना भयो।

तर बिहीबारको मन्त्रिपरिषद् विस्तारमा बादलपत्नी नैनकला थापाको नाम पनि मन्त्री बन्ने सूचीमा अटाएको छ। बादलपत्नी थापालाई ओलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त गरेका छन्। अब यो जोडीको क्वाटर सर्ने झन्झट पनि टरेको छ।

पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन भन्दै भन्दै ओलीले पूर्व माओवादी पृष्ठभूमिका नेताहरुका तर्फबाट बादल पत्नीलाई मन्त्री बनाएका हुन्।

थापा दम्पति जस्तै अर्को ओली मन्त्रीमण्डलमा मन्त्री पद गए पनि क्वाटरबाट बाहिरिनु नपरेको अर्को जोडी हो- एमाले नेता रघुवीर महासेठ र पत्नी जुलिकुमारी महतो।

जेठ २१ गते गरिएको मन्त्रिपरिषद् विस्तारमा एमाले नेता रघुवीर महासेठ र उनकी पत्नी जुलीकुमारी महतोको मन्त्रिपरिषदमा आलोपालो झैं भएको थियो। महासेठकी पत्नी महतोले महिला बालबालिका मन्त्रालयबाट बिदा पाउँदा त्यही दिन महासेठले परराष्ट्र मन्त्रालयमा इन्ट्री पाएका थिए। महतोले मन्त्री पद गुमाए पनि क्वाटर भने छाड्नु परेन। पत्नीको मन्त्री पद गए पनि पतिको मन्त्रीमण्डलमा भएको पुनरागमनले उनीहरुको क्वाटर बसाइ लम्बिएको हो।

ओलीले महासेठलाई २०७४ जेठ २ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा महासेठलाई नियुक्त गरेका थिए। उनको कार्यकाल अरु एमाले नेताको भन्दा बढी नै विवादित बन्न पुगेको थियो। उनलाई हटाउन पार्टीमा दबाब बढ्दै गएपछि ओलीले महासेठलाई हटाएर आफू निकट नेता वसन्तकुमार नेम्बाङलाई मन्त्रालयको जिम्मेवारी सुम्पिएका थिए। आफू बाहिरिए पनि महासेठले पत्नीलाई मन्त्री बनाउन सफल भए। त्यसबेला पनि महासेठ दम्पतिले मन्त्री क्वाटर भने छाड्नु परेको थिएन।

जुलीले २०७६ पुस १० गते ओलीको मन्त्रीमण्डलमा इन्ट्री पाएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell