PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ओलीमाथि के थियो 'प्रेसर' जसले सहमतिभन्दा धेरै मन्त्री र 'मालदार' मन्त्रालय दिन गरायो बाध्य?



कमलराज भट्ट

ओलीमाथि के थियो 'प्रेसर' जसले सहमतिभन्दा धेरै मन्त्री र 'मालदार' मन्त्रालय दिन गरायो बाध्य?

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीमाथि बारम्बार लाग्ने आक्षेप हो - सहमति गर्ने, कार्यान्वयन चाहिँ टार्ने। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण गराउन आधा-आधा कार्यकाल प्रधानमन्त्रीमा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहने सहमति ‌ओलीले तोडेको नजिर सबैसामु छँदैछ। शक्तिमा रहँदा ओलीले यस्ता सहमति बारम्बार भत्काइरहे। तर, सत्ता टिकाउन हम्मेहम्मे हुँदै गएपछि प्रधानमन्त्री ओली यति उदार हुन पुगेका छन् कि - सम्झौताभन्दा बढी दिन पनि उनले हिच्किचाहट देखाएनन्। सन्दर्भ हो बिहीबार पुनर्गठित मन्त्रिपरिषदको।

दुई तिहाइको शक्ति खिइँदैखिइँदै अल्पमतमा पुगिसकेपछि प्रधानमन्त्री ओली राजनीतिक 'तिकडम'कै भरमा सत्ता जोगाइरहेका छन्। बारम्बार प्रतिनिधिसभा भंग गर्दै सत्ताबाट नउत्रिन उनले यतिसम्मको कदम पनि चाले कि २० जना सांसद लिएर सत्तामा बर्गेनिङमा उत्रिएको जनता समाजवादी पार्टीको महन्थ ठाकुर-राजेन्द्र महतो समूहलाई १० मन्त्रालय दिन तयार भए। ३२ सांसद रहेको जनता समाजवादी पार्टीका बाँकी सांसद उपेन्द्र यादव पक्षमा छन्।

१० मन्त्री पद दिन तयार भएसँगै अघिल्लो पटकको मन्त्रीमण्डल हेरफेरमा जसपाका २० जना सांसदमध्ये १० जना मन्त्री बने। कुरो त्यहीँमात्र टुङ्गिएन। ठाकुर समूहले बिहीबार मन्त्रिपरिषद् विस्तार हुँदा थप एक मन्त्री बोनसमा पायो - धेरै सामान किनमेलपछि पाउने फोसाजस्तै।

सहमति १० जनाको भएको थियो, तर जसपाबाट ११औं मन्त्री बने राजकिशोर यादव। तत्कालीन राजपामा अध्यक्ष मण्डलका एक सदस्य यादव अघिल्लो पटकको मन्त्रीमण्डलमा कसरी छुटे भन्ने प्रश्न उठेको थियो। यादव आफैँले अनिच्छा देखाएको खबर पनि आए। तर, त्यसको हप्ता दिन निबित्दै तिनै यादव मन्त्री बने भने जसपाले थप एक मन्त्री बोनस पायो।

कसरी सम्भव भयो त?

जसपा निकट स्रोतका अनुसार जेठ २१ गते मन्त्रीमण्डल विस्तारमा राजकिशोर छुट्नुको कारण मन्त्रालयमा कुरा नमिल्नु थियो। यादवले सञ्चार मन्त्रालयमा चासो देखाएका थिए। बाबुराम भट्टराई नेतृत्वको सरकारमा सञ्चार मन्त्री रहिसकेका यादवले फेरि त्यही मन्त्रालय रोजेपछि भागबण्डाका क्रममा सञ्चार मन्त्रालय नै जसपाको हातबाट गुम्यो। सञ्चार मन्त्रालय नपाएपछि राजकिशोर सरकारमा गएनन्।

तर, त्यसको ६ दिनमै नाटकीय ढंगले यादव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन्। यादवले अडान राखेको सञ्चारमा भने पूर्व गृहमन्त्री रामबहादुर थापा बादल पत्नी नैनकला आएकी छन्।

६ दिनमै कसरी पाए 'मालदार' मन्त्रालय?

पहिले जसपाले सरकारमा जान प्रधानमन्त्री ओलीसँग १० मन्त्रालय मागेको थियो। तर, ओलीले ८ मन्त्रालयमा दुई राज्यसहित १० मन्त्री पद दिन तयार भए। यसमा जसपा अध्यक्ष ठाकुर सहमति थियो। त्यही आधारमा उपप्रधानमन्त्री राजेन्द्र महतोको नेतृत्वमा जसपामा सरकारमा गयो पनि। तत्कालीन राजपामा अध्यक्ष मण्डलमा रहेका महतो, शरतसिंह भण्डारी र अनिल झा मन्त्री बने भने राजकिशोरको मन्त्रिपरिषदमा जाने गाडी छुटेको थियो।

चक्रीय प्रणालीमा राजपाको अध्यक्ष भइसकेका राजकिशोरको पार्टीमा आफ्नै पकड छ। उनलाई समीकरणको बोर्डबाट छुटाउन महन्थले पनि चाहेका थिएनन्। तर, मन्त्रालय नमिल्दा राजकिशोर छुट्न पुगे। पार्टीमा पकड भएका यादव छुट्दा महन्थ त चिन्तित थिए नै प्रधानमन्त्री ओलीसमेत चिन्तित भए। फेरि यस बिचमा सर्वोच्च अदालतका घटनाले प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ कि भन्ने माहोल देखायो। यदि पुनर्स्थापना भइहालेमा पनि आफ्नो पक्षमा बहुमत जुटाउनुपर्ने चुनौती ओलीसामु आउनेछ। त्यही भएर राजकिशोर बिच्किएर उपेन्द्र यादव पक्षतिर जालान् कि भन्ने पिरलोले आफूसँग राखेको मन्त्रालय ओलीले राजकिशोरलाई सुम्पिनुपर्ने परिस्थिति बन्यो। उद्योगमा राजकिशोर पनि कन्भिन्स भएर बिहीबारै शपथ लिए। 

‘यादवजीसँग ५ जना माननीय हुनुहुन्छ। भोलि संसद् पुनर्स्थापना भयो भने अफ्ठेरो हुन्छ। बहुमत जुटाउनुपर्छ। ५ जना माननीय लिएर (उपेन्द्र यादवतिर) हिँड्नुभयो भने त गडबड भइहाल्छ नि,' ठाकुर समूहका एक सांसद भने, 'ओलीजीले यही डरले मन्त्री बनाउनुभएको हो। पद जोगाउनलाई सबैथोक हुन्छ नि त यो देशमा।’

ठाकुर समूहका अर्का एक नेताले भने विगतमा १० मन्त्रालय दिने सहमति भए पनि ८ मन्त्रालयमात्र दिएको र अहिले एउटा मन्त्रालय थपिएको तर्क गरेर ओलीको बचाउ गरे।

कारण जे सुकै होस्, नेपालको इतिहासमा पहिलोपटक मधेशले ११ जना मन्त्री पाएको छ। राजपाका ५ मध्ये सरकारमा सहभागी अध्यक्ष मण्डलका ४ सदस्यमा वरीयतामा महतो, भण्डारी र झा पछि राजकिशोर परेका छन्। अरु ७ मन्त्री त्यसपछिको वरीयतामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell