
जनकपुरधाम : मिथिलाञ्चलमा आज बटसावित्री अर्थात बरसाइत पर्व मनाइएको छ। विवाहित महिलाहरुले मनाउने यो पर्वलाई लिएर बरको रुख भएको ठाउँमा महिलाहरुको पूजाका लागि बिहानैदेखि भिड लागेको थियो।
पर्वमा महिलाहरु नयाँ वस्त्र लगाई श्रृंगार गरी अतिरिक्त पूजाको सामाग्री लिएर बरको रुखमा पूजा गर्ने गर्दछन्। नव विवाहित महिलाहरुका लागि यस पर्वमा बेहुलाको घरबाट पूजाको सामाग्रीका अतिरिक्त पाहुर समेत आउने चलन रहेको छ।
वटसावित्री पर्वलाई नारीत्व रक्षा, सन्तान प्राप्तिमा सहयोग गर्ने पर्वको रुपमा लिइने गरिन्छ। मिथिला संस्कृतिमा यो पर्व आदर्श नारीत्वको प्रतीक बनेको छ। यो पर्व मिथिलाञ्चलमा प्रत्येक वर्ष जेठ महिनाको औँसी तिथिमा मनाइने गरिन्छ।
हिन्दु धर्ममा पीपलको बोट जस्तै बरको बोटको पनि उत्तिकै महत्व रहेको छ। पुराणहरुमा स्पष्ट भनिएको छ - बरको बोटमा भगवान ब्रह्मा, विष्णु र महेश्वरको वास हुन्छ। यस वृक्षमुनि बसेर पूजा, व्रत कथा आदि सुन्दा मनोकामना पूर्ण हुने जनविश्वास रहेको छ।
बरको बोट आफ्नो विशालताका लागि प्रसिद्ध छ। दार्शनिक दृष्टिबाट बरको बोट दीर्घायु तथा अमरत्व बोधको प्रतीकको रुपमा स्वीकार गरिएको छ। बरको बोट ज्ञान र निर्वाणको पनि प्रतीक मानिएको छ। भगवान बुद्धले यही वृक्ष मुनि ज्ञान प्राप्त गरेका थिए।
बरको वृक्षमुनि पतिको दीर्घायुका लागि पूजा गर्नु यस पर्वको अंग बनेको छ। महिलाहरुले व्रत पूजा गरी कथा सुनेर बरको वृक्षमा सूतीको धागो बाँध्ने गर्छन्।
जनकपुर ८ की रिंकु मिश्र गायत्री भन्छिन्, ‘मैले यो पर्वको तयारी केही दिन अगावै शुरु गरेकी थिएँ। आज बरको बोटमा सूतीको धागो बाँध्नाले पतीको आयु बढ्ने जनविश्वास अनुरुप धागो बाँधेँ। अन्य पर्व झै यो पर्वलाई लिएर म पनि उत्साहित छु।’