PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रधानमन्त्रीको प्रश्न, ‘हामीलाई मुटु, मिर्गौला र क्यान्सरको विशेषज्ञ जनशक्ति कति चाहिएको हो?’



पहिलोपोस्ट

प्रधानमन्त्रीको प्रश्न, ‘हामीलाई मुटु, मिर्गौला र क्यान्सरको विशेषज्ञ जनशक्ति कति चाहिएको हो?’

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आवश्यक जनशक्तिको लेखाजोखा गरेर सोही अनुरूप शैक्षिक नीति नियम बनाउन सम्बद्ध निकायहरुलाई निर्देशन दिएका छन्।

चिकित्सा सेवा आयोगको सातौं बैठकलाई सम्बोधन गर्दै आयोगको अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘हामीलाई मुटुको विशेषज्ञ जनशक्ति कति चाहिएको हो? कति मध्यमस्तरको जनशक्ति, कति सामान्य प्राविधिक जनशक्ति? यसको हिसाब हुनुपर्छ।’ प्रधानमन्त्रीले फोक्सो, कलेजो, मिर्गौला, क्यान्सर जस्ता रोगहरुमा समेत कति जनशक्ति आवश्यक छ भन्ने कुराको चित्रण प्रष्ट रुपमा गरिनुपर्ने धारणा राखे।

आवश्यकता आंकलन नगरी जनशक्ति उत्पादन गर्दा कहीँ नपुग्ने त कहीँ उत्पादन बढी भएर बेरोजगार हुनुपर्ने अवस्थासम्म आउनेतर्फ ओलीले सचेत गराए। ‘आवश्यकता पहिचान नगरी जनशक्ति उत्पादन गर्दा पढेको मानिस बेरोजगार हुनुपर्ने अवस्था सृजना भएको छ, जबकी उ आफैं रोजगारदाता हुनुपर्ने हो’, ओलीले भने।

अस्पतालहरुमा जाँदा आफूले पनि नर्सको अभाव देखेको उल्लेख गर्दै प्रधानमन्त्रीले कतिपय अस्पतालमा आवश्यकता अनुसारको दरबन्दी सृजना नभएको समेत बताए।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सम्बन्धनमा चलेका चिकित्सा स्वास्थ्यका शैक्षिक कार्यक्रमतर्फ औंल्याउँदै प्रधानमन्त्रीले यसका कार्यक्रम आवश्यक हुन् भने चलाउन र छैनन् भने तत्काल बन्द गरिनुपर्ने बताए। ‘गाउँमा अहिले महिला स्वास्थ्य स्वंसेविका नै त्यहाँका ठूला चिकित्क हुन्। शहर आएपछि मात्र त्यहाँका जनताले डाक्टर देख्न पाउँछन्। त्यसैले ठाउँमा नर्स तहको चिकित्साकर्मी पठाउन सकेमा मात्र पनि ठूलै उपलब्धी हुन्छ,’ उनले भने।

चिकित्सा शिक्षा आयोगको दुई वर्ष व्यस्त रहे पनि उपलब्धिका हिसाबले सन्तुष्ट हुने स्थिति नरहेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरे। ‘नकारात्मक सोचका साथ नियम बनाउने र व्याख्यामा थप नकारात्मक ढंगले जाने कामले उल्झन मात्र सृजना गर्छ,’ उनले भने।

कुन विश्वविद्यालयले कति वटा कलेजलाई सम्बन्धन दिन पाउने भन्ने कुरा त्यो कलेजको सामर्थ्यमा भरपर्ने ओलीको भनाई थियो। विश्वविद्यालयले कति वटासम्म क्याम्पसको अनुगमन र परीक्षा सञ्चालन गर्न सक्छ भन्ने कुरा मूल्यांकन गरी सोही अनुसार सम्बन्धन दिन पाउनेगरी कोटा तोकिनुपर्नेमा उनले जोड दिए। ‘त्रिभुवन विश्वविद्यालयको क्षमता अन्य विश्वविद्यालयको भन्दा बढी हुन सक्छ। भर्खरै खुलेको विश्वविद्यालयले एउटा कलेजमा मात्रै सम्बन्धन दिने अवस्था हुनसक्छ,’ उनले थपे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell