PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

डोरमणि सरकारको नीति तथा कार्यक्रममा विपक्षीको टिप्पणी : लेखाइ साहित्यकारको जस्तै, तर जालैजालले भरिएको



निशा गुरुङ

डोरमणि सरकारको नीति तथा कार्यक्रममा विपक्षीको टिप्पणी : लेखाइ साहित्यकारको जस्तै, तर जालैजालले भरिएको

हेटौंडा : वाग्मती प्रदेश सभामा बिहीबार प्रस्तुत भएको नीति तथा कार्यक्रममा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले विरोध जनाएका छन्। शुक्रबार भएको छलफलमा प्रदेशसभा सांसदहरुले सरकारको नीति तथा कार्यक्रमाथि टिप्पणी गरेका हुन्।

आजको छलफलमा नेकपा माओवादी केन्द्र वाग्मती प्रदेश संसदीय दलका नेता तथा पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले बहुवर्षिय योजनाका सिलिङहरु छलफल नै नगरि ल्याएको आरोप लगाएका छन्।

जम्कट्टेलले धादिङमा ४५ करोड, नुवाकोटमा ४० करोड, सिन्धुपाल्चोकमा ४० करोड तथा अन्य जिल्लाहरुमा बिना आधार र कुनै छलफल बिनै बहुवर्षिय योजनाहरुमा रकम विनियोजन गरिएको बताए।

उनले सरकारले ल्याएको कार्यक्रम लेखाइमा मात्रै राम्रो भएको भन्दै भने, 'लेखाइ असाध्यै राम्रो छ। सुन्दर. विद्धान, साहित्यकारहरुले लेखेको  शब्द जस्तो तर जालैजालले भरेको छ' उनले भने।

जम्कट्टेलले सुखी नेपाली र समृद्ध नेपाल नारामै मात्रै सिमित भएको भन्दै सरकारको काम हेर्दा आजको दिनमा हेर्दा सबै लज्जित रहेको बताए।

संविधानको रक्षा गर्ने सरकारको काम रहेको तर सरकारले गर्ने सबै काममा संवैधानिक रुपमा प्रश्न उठेको उनले बताए। प्रदेशसभामा उनले केन्द्रको चर्को आलोचना गररे। अदालतले केन्द्र सरकारका कयौं निर्णय बदर गरे पनि नियम, कानुन र विधि यो देशका प्रधानमन्त्री ‍र राष्ट्रपतीमा लागू नभएको समेत बताए।

उनले प्रदेश सरकारले ल्याएको सुरुङ्मार्गका साथै अन्य योजनामाथि प्रश्न उठाए।

यस्तै माओवादीका सांसदहरु कुमारी मोक्तान, विशाल खड्का, युवराज दुलाल, प्रेम बहादुर पुलामी लगायतले नीति तथा कार्यक्रम अहिलेको आवश्यकतालाई सम्बोधन नगरेको बताएका थिए।

माधव पक्षको विरोध

नेकपा एमालेका नेता प्रदेश सभा सदस्य राजेन्द्र पाण्डेले प्रस्तुत भएको नीति तथा कार्यक्रममा कोभिड १९ लाई निकै महत्वपुर्ण दिइएको बताए। तर, नीति तथा कार्यक्रमको आधारमा बजेट आउनेमा भने शंका रहेको बताए।

एमालेमा रहेपनि पाण्डे माधवकुमार नेपाल समूहका नेता हुन्। उनले पनि सुरुङमार्गको विरोध गर्दै प्रदेश गौरव र रुपान्तरणको आयोजनाको रुपमा रहेको भिमफेदी कुलेखानी सुरुङ्मार्गलाई अहिलेको अवस्थामा प्राथमिकतामा राख्न नमिल्ने समेत बताए। साथै, विद्युतीय बस खरिद गर्ने योजनामा समेत उनले प्रश्न उठाए।

यस्तै, मुनु सिग्देल लगायत नेकपा एमालेका माधव नेपाल पक्षका सांसदहरुले पनि डोरमणि पौडेल सरकारले ल्याएको कार्यक्रमको विरोध गरेका थिए ।

हाँस्यापद कार्यक्रम  

विवेकशिल साझा पाटी वाग्मती प्रदेशका संसदीय दलका नेता रमेश पौड्यालले सरकारले ल्याएको नीति तथा कार्यक्रममा प्रदेशका कानून सबैले जानुन भन्ने नारा हाँस्यास्पद रहेको बताए। उनले बैठकमा प्रदेश सरकारले नागरिकलाई कानून पढाउन थालेजस्तो देखिएको भन्दै उक्त नारा हाँस्यास्पद रहेको बताएका हुन्।

भने, 'ऐनामा धुलो लागेको छ भने अनुहार पुसेर हुँदैन ऐना नै पुस्नु जरुरी छ।'

प्रदेश सरकारले खोपको आवश्यकतालाई जिम्मेवारी पूर्ण रुपमा नलिएको उनको आरोप थियो। विगत एक वर्षदेखि प्रदेशका नागरिक खोपको आसमा बसेको तर प्रदेश सरकार भने यतिबेला नीति तथा कार्यक्रममा खोपको कुरा उठाइरहेकाले प्रदेश सरकार जनता प्रति उत्तरदायी नरहेको उनको भनाई थियो।

संस्कृती संरक्षण गर्न माग  

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वाग्मती प्रदेश सभा सदस्य रिता माझीले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम सरकार आफैंले मुल्याङ्कन गनुपर्ने बताइन्। माझीले राम्रा नीति तथा कार्यक्रम अघिल्ला वर्षहरुमा पनि आएको भन्दै त्यसको कार्यान्वयनमा प्रश्न उठाइन्।

त्यस्तै उनले वाग्मती प्रदेश देशकै सबैभन्दा बढी आदिवासी जनजाती बसोबास गर्ने प्रदेश रहेको भन्दै आदिवासी जनजातीहरुको भाषा, धर्म, संस्कृतीको संरक्षणको माग गरिन्। उनले त्यसको लागि सरकारले विषेश कार्यक्रम ल्याउनुपर्ने समेत बताइन्।

उनले बिना योजना अस्तव्यस्त रुपले जथाभावी रुपमा जलविद्युत उत्पादन गर्नाले नदी वरपर बसोबास गर्ने माझी समुदाय क्रमश त्यहाँबाट विस्थापित भइरहेकोले विकास निमार्ण कार्य गर्दा यसतर्फ पनि ध्यान दिनुपर्ने बताइन्।

कांग्रेसको पनि विरोध 

नेपाली कांग्रेसका सांसदहरुले पनि नीति तथा कार्यक्रमको विरोध गरे। कांग्रेसकी प्रमुख सचेतक राधा घलेले नीति तथा कार्यक्रम चौथो वर्षमा आइपुग्दा पहिलाकै जस्तै भएको दाबी गरिन्। सरकारले सपनाले भरिएको र नारै नाराले भरिएको कार्यक्रम ल्याएको उनले बताइन्।

सांसद प्रभात तामाङले  कार्यक्रममा प्रदेश योजना बैंकको परिकल्पना गर्न आवश्यक नरहेको भन्दै सरकारले ल्याएको कार्यक्रम अवैधानिक र कमजोर रहेको समेत बताए। उनले बिहीबार प्रस्तुत नीति तथा कार्यक्रमलाई वैधानिक बनाउन चुनौती समेत दिए।

सत्तापक्षको ओली पक्षका सांसदहरुले भने सरकारको नीति तथा कार्यक्रमको बचाउ गरेका थिए।

आजको छलफलमा ४७ जना सांसदहरु सहभागी भएका थिए। शनिवार बिहान ११ बजेबाट फेरि प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell