PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

१५ हजार बढी दर्शकको इन्ट्रीसँगै शुरु भयो रोकिएको युरो कप, कोरोना कहरमा आयोजकलाई चुनौती नै चुनौती



पहिलोपोस्ट

१५ हजार बढी दर्शकको इन्ट्रीसँगै शुरु भयो रोकिएको युरो कप, कोरोना कहरमा आयोजकलाई चुनौती नै चुनौती
Photo: Euro cup

इटली र टर्कीबीचको खेलसँगै गएरातिबाट युरो कप सुरु भएको छ। महामारीका बीच अघिल्लो वर्ष रोकिएको प्रतियोगिता सीमित दर्शकलाई स्टेडियममा अनुमति खेलहरु सुरु भएको हो।

एसियाबाहिरको कुरा गर्दा कोभिड महामारीले सबैभन्दा पहिलो ठूलो असर गरेको स्थान हो इटली। त्यही इटलीको रोममा युरोपेली फुटबलको महाकुम्भ युरोकपको उद्घाटन खेल सम्पन्न भयो। त्यो पनि १५ हजार बढी दर्शकहरुका बीच।

उद्घाटन खेलमा घरेलु टोली इटलीले टर्कीमाथि ३-० को सानदार जित पनि निकाल्यो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा इटलीले सबै गोल गरेको थियो।

यसपटकको युरो कपले युरोप संसार कोरोनाको महामारीबाट उत्रँदैछ भन्ने सन्देश दिन चाहेको छ। दोस्रोविश्वयुद्ध पछिको सबैभन्दा अँध्यारो समयपछि उज्यालोतर्फ बढेको संकेत दिन चाहेको छ। हुन पनि कोभिड महामारीमा १ मिलियन युरोपियनहरुले ज्यान गुमाइसकेका छन् जसमा इटलीका मात्र १ लाख २७ हजार बढी छन्। त्यहीँ कोभिडको दोस्रो लहर सकिँदा नसकिँदै प्रतियोगिता आयोजना गरिएको हो।

एसिया, दक्षिण अमेरिका लगायतका क्षेत्रहरुमा अझै कोभिड संक्रमणको दोस्रो लहरका कारण लकडाउन दैनिकी नै चलिरहेको छ। भ्याक्सिनेसनको सन्दर्भमा युरोपले तीब्रता बढाएको छ।

'यी सबै कुरा भइसकेपछि अहिले यहाँको अवस्थामा सुधार हुँदै आएको छ। मलाई लाग्छ समर्थकहरुलाई केही सन्तुष्टीको आभाष गराउने समय आएको छ,' इटलीका प्रशिक्षक रोबर्टो मान्चिनीले खेल अघि भनेका थिए।

यद्यपि अझै धेरैलाई चिन्ता भने छ कि महामारीबाट अवस्था राम्ररी सुध्रिन नपाउँदै स्टेडियममा हजारौं दर्शकबीच खेल गराउँदा जोखिम उत्पन्न होला भनेर। यद्यपि आयोजकहरुले कडा स्वास्थ्य मापदण्ड, सामाजिक दुरीलगायतको कारण प्रतिकुलता नआउने विश्वास गरेका छन्। हुन पनि इटलीमा दर्शकलाई स्टेडियम प्रवेश गर्नका लागि भ्याक्सिनको दुबै डोज पुरा गरेको पत्र, ४८ घण्टाभित्र कोभिड परिक्षणमा नेगेटिभ देखिएको पत्र या यसअघि कोभिड संक्रमण भइसकेको डकुमेन्ट पेश गर्नुपर्ने नियम बनाइएको छ। यद्यपि स्थानैपिच्छे कति समर्थकलाई अनुमति दिने भन्ने फरकफरक नियम लगाइएको छ।

त्यसैले त विश्व खेलकुदले युरोकपलाई हेरिरहेको छ। त्यसैले यो सही गए ओलम्पिक लगायतका अन्य ठूला खेल इभन्ट आयोजनाका लागि प्रोत्साहन मिल्नेछ।

खैर, खेलको कुरा गर्दा यसपटक प्रतियोगिता ११ देशको शहरहरुमा हुनेछन्। सेन्टपिटर्बर्गबाट बाकु, बुडापेस्टहुँदै रोम, म्युनिख, लण्डनहुँदै विभिन्न शहरमा युरोकपले फुटबलको माहोल बनाउने छ। इतिहासमै पहिलो पटक यस्तो ठूलो प्रतियोगिता तीन भन्दा बढी देशहरुमा आयोजना हुँदैछ।

प्रतियोगिताका २४ मध्ये ९ टिमले घरेलु मैदानमा खेल खेल्न पाउनेछन्। ९ मध्ये ६ टिमले समूहका सबै खेलहरु घरेलु मैदानमा खेल्न पाउने छन् जसमा इङ्ग्ल्याण्ड, जर्मनी, स्पेन, इटली, नेदरल्याण्ड्स र डेनमार्क रहेका छन्। इङ्ग्ल्याण्डले समूहको शीर्षस्थानमा रहने हो भने प्रिक्वाटरफाइनल पनि घरेलु मैदानमा खेल्न पाउनेछ। यदि क्वाटरफाइनल हुँदै यात्रा अघि बढाउने हो भने सेमिफाइनल र फाइनल पनि घरेलु मैदानमा खेल्न सक्नेछ।

किन बढाइयो आयोजक शहरहरुको संख्या?

प्रतियोगिताको यो फर्म्याटको घोषणा गरिँदै गर्दा मुख्यगरी दुईवटा फाइदालाई मध्यनजर गरिएको थियो: समर्थक र अर्थतन्त्र। आर्थिक अस्थिरताको अहिलेको समयमा यो फर्म्याटले आर्थिक बोझ बढाउन भन्दा बाँड्न सहयोग पुर्‍याउने देखिन्छ। यद्यपि आलोचकहरुले यसलाई भोटको राजनीतिसँग पनि जोडेर हेरेका छन्। यद्यपि आलोचकहरुले भने यसलाई फुटबलको भोटको राजनीतिसँग पनि जोडेर हेरेका छन्।

युरोकप कसले कतिपटक जितेको छ?

युरोकपको इतिहासलाई हेर्दा जर्मनी र स्पेनले सर्वाधिक ३/३ पटक युरोकपको उपाधि उचालेका छन्। जर्मनीले सन् १९७२, १९८० र १९९६ मा युरोकप जितेको थियो भने स्पेनले १९६४, २००८ र २०१२ मा उपाधि जितेको थियो। त्यस्तै फ्रान्सले दुईपटक १९८४ र २००० मा उपाधि उचालेको थियो।

खेल हुने शहरहरुमा स्कटल्याण्डको ग्लास्को, युकेको लन्डन, रसियाको सेन्ट पिटसवर्ग, नेदरल्याण्डको एम्स्टरड्याम, अजरबैजानको बाकु, रोमानियाको बुकारेस्ट, हङ्गेरीको बुडापेस्ट, डेनमार्कको कोपनहेगन, जर्मनीको म्युनिख, इटालीको रोम र स्पेनको सेभिल्ली रहेका छन्।

प्रतियोगिताका लागि २४ वटा देशहरुलाई ६ समूहमा बाँडिएको छ।

समूह ए:

इटाली, स्वीजरल्यान्ड, टर्की, वेल्स

समूह बी:

बेल्जियम, डेनमार्क, फिनल्यान्ड, रसिया

समूह सी:

अस्ट्रिया, नेदरल्यान्डस्, नर्थ म्यासाडोनिया, युक्रेन

समूह डी:

क्रोएसिया,चेक रिपब्लिक, इङ्ल्यान्ड, स्कटल्याण्ड

समूह ई:

पोल्यान्ड, स्लोभाकिया, स्पेन, स्विडेन

समूह एफ:

फ्रान्स, जर्मनी, हङ्गेरी, पोर्चुगल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell