PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

काठमाडौं उपत्यकाभित्र कति दिन निषेधाज्ञा थपिएला? असारबाट होला त खुकुलो?



पहिलोपोस्ट

काठमाडौं उपत्यकाभित्र कति दिन निषेधाज्ञा थपिएला? असारबाट होला त खुकुलो?

काठमाडौं : एक महिनाभन्दा बढी समयदेखि काठमाडौं उपत्यकाभित्र जारी रहेको निषेधाज्ञा असार १ गतेबाट खुकुलो हुने धेरैले अनुमान गरेका छन्।

कोरोना रोकथाम तथा नियन्त्रणको लागि भन्दै काठमाडौँका तीनवटै जिल्ला प्रशासन कार्यालयले वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरेका छन्। अहिले देशभर कोरोना संक्रमणको थपिने दर केही कम भएको छ। काठमाडौं उपत्यकाभित्र पनि पहिलेको तुलनामा संक्रमणदर केही घटेको देखिन्छ। त्यसैले पनि धेरैले अपेक्षा गरेका छन् - निषेधाज्ञा खुकुलो हुनेछ। 

तर, जिल्ला कोभिड संकट व्यवस्थापन समिति (​डीसीसीएमसी)ले अझै एक साता काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा लम्बाउन सुझाव दिएको छ। शुक्रवार बसेको डीसीसीएमसीको बैठकले अझै एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

'संक्रमण अझै कन्ट्रोल गर्नका लागि एक साता निषेधाज्ञा गर्ने सुझाव आएको छ। अन्य पक्ष डीसीसीएमसीको बैठकलाई हेरेर केही निर्णय गर्छौँ,' जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने।

काठमाडौं उपत्यकाभित्र पछिल्लो पटक थप भएको निषेधाज्ञाको समय जेठ ३१ गतेबाट सकिँदैछ। काठमाडौँका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक भोलि (आइतवार)लाई बोलाइएको छ। बैठकको छलफलपछि आधिकारिक निर्णय आउनेछ। तर, तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबिच एक साता निषेधाज्ञा थप गर्नुपर्ने अनौपचारिक सहमत भइसकेको छ। त्यसैले पनि काठमाडौं उपत्यकाभित्र थप एक साता निषेधाज्ञा हुने देखिएको छ। विभिन्न सरोकारवालाहरू छलफलमा सीडीओलाई निषेधाज्ञा थप गर्न सुझाव समेत आएको छ।

तर, यसपटक थपिने निषेधाज्ञा अहिलेभन्दा केही क्षेत्रलाई खुकुलो पार्नेगरी जारी हुनेछ। खाद्यान्न, तरकारी, फलफूल, मासुजन्य पसलहरूलाई अहिले खोल्न दिएको समयमा केही थप गर्ने तयारी भइरहेको हो।

'यस पटकको निषेधाज्ञा केही खुकुलो हुनेछ। जसमा अहिले खोलिरहेका पसलहरूलाई केही समय थप गर्ने सल्लाह भएको छ,' प्रजिअ पराजुलीले भने।

निर्माण सामाग्रीका पसलहरूलाई समेत खुल्न दिने तयारी भएको छ। किनकि यसअघिको निषेधाज्ञामा स्थानीय प्रशासनले निजी विकास निर्माणको काम खुल्ला गरेको थियो। त्यस्तै, निर्माण सामाग्री बोक्ने सवारीलाई समय तोकेर चल्न दिएको थियो।

सवारी साधनको हकमा के होला ?

वैशाख १६ गतेदेखि अत्यावश्यक र प्रशासनबाट पास जारी भएका सवारी साधन मात्र चल्न दिएको छ। निजी तथा सार्वजनिक सवारी चलेका छैन। असार १ गतेबाट सवारी जोरबिजोर प्रणालीमा चल्न दिने आशा आम मानिसले गरेको देखिन्छ। तर, स्थानीय प्रशासन कार्यालयमा अहिले यस विषयमा छलफल भएको छैन।

शुक्रवार बसेको डीसीसीएमसीको बैठकले पनि एक साता कुनै पनि सवारीलाई जोरबिजोर प्रणालीको आधारमा सञ्चालनमा नल्याउन सुझाव दिएको थियो।

'सवारीको हकमा के गर्ने भन्ने विषयमा छलफल भएको छैन। एक साता अझै नखोल्ने कि भन्ने पक्षमा नै छौँ। भोलिको बैठकमा छलफल होला,' प्रमुख जिल्ला अधिकारी पराजुलीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell