PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

एक साता पछि सारियो कांग्रेस महाधिवेशन, भदौ १६ देखि १९ गतेसम्म गर्ने प्रस्ताव



पहिलोपोस्ट

एक साता पछि सारियो कांग्रेस महाधिवेशन, भदौ १६ देखि १९ गतेसम्म गर्ने प्रस्ताव
फाइल फोटो

काठमाडौंः नेपाली कांग्रेको केन्द्रीय महाधिवेशन एक साता पछि सारिएको छ। शनिबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले महाधिवेशनका मिति सार्ने प्रस्ताव गरेको हो। 

आउँदो भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने पदाधिकारी बैठकले प्रस्ताव गरेको छ। औपचारिक निर्णय केन्द्रीय कमिटी बैठकले गर्नेछ।यसअघि भदौ ७ देखि १० गतेसम्मका लागि महाधिवेशनको मिति तोकिएको थियो। 

पदाधिकारी बैठकले स्थानीय स्तरका अधिवेशनहरुको मिति पनि संशोधन गरेको छ। यसअघि असार २० गते हुने भनिएको गाउँ/नगरको वडा अधिवेशन अब साउन ६ गतेको प्रस्ताव गरेक छ। गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १६ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २० गते प्रस्तावित छन्। 

त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा साउन २४ गते जिल्ला अधिवेशन हुनेछ।

होला तोकएको समयमा?

समयमै महाधिवेशन गर्नुपर्ने माग नेता तथा कार्यकर्ताले तीव्र पारेपछि सभापति देउवाले जेठ २६ गते एक वक्तव्य जारी गर्दै महाधिवेशन तोकिएकै समयमा हुने प्रतिबद्धता जनाएका थिए। पार्टीभित्र समयमै महाधिवेशन गर्न नसकेको भनी पटकपटक प्रश्न उठेपछि देउवाले यस्तो वक्तव्य जारी गरेका हुन्। ुयस्तो विषम परिस्थितिमा पनि हामीले यही भाद्र महिनाभित्रमा पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्नु परेको छ। म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ। म यसमा पूर्ण प्रतिवद्ध छु,' देउवाले वक्तव्यमा भनेका थिए।

देउवाले प्रतिवबद्धता जनाए पनि कांग्रेस महाधिवेशनको मिति पटक-पटक सर्दै आइरहेको छ। अझै तीन जिल्लाको क्रियाशील सदस्यता विवरण टुङ्गिन सकेको छैन। यही जेठ २५ गतेसम्मको समयसीमा तोकिएकोमा उक्त अवधिमा कांग्रेसको वेबसाइटमा जम्मा आठ लाख ३१७ क्रियाशील सदस्यता विवरण ‘इन्ट्री’ भइसकेको केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए।  

कांग्रेसले तोकेको समयमा महाधिवेशन गर्न नसकेपछि अहिले संविधानको सहारा लिएर पार्टीको म्याद थप गरेको छ। २०७२ फागुन २४ गते ४ वर्षका लागि सभापतिमा चुनिएका देउवाले म्याद सकेर एक झन्डै डेढ वर्ष पुग्न लाग्दा पनि महाधिवेशन गर्न सकेका छैनन्। पुस ११, २०७६ मा पार्टीको विधानको असाधारण परिस्थितिको धारा ४३ प्रयोग गरी वर्ष दिन म्याद थपिएको थियो। त्यसपछि पनि म्याद सकिएपछि कांग्रेसले संविधानको साहरा लिँदै ६ महिनाको म्याद थप गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell