PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कुलदेवताको विषयमा दाजु-भाइबीच कुटाकुट हुँदा गम्भीर घाइते भाइको मृत्यु



पहिलोपोस्ट

कुलदेवताको विषयमा दाजु-भाइबीच कुटाकुट हुँदा गम्भीर घाइते भाइको मृत्यु

जनकपुरधाम : घरको कुलदेवताको विषयमा दाइ-भाइबीच कुटाकुट हुँदा महोत्तरीमा भाइको मृत्यु भएको छ। महोत्तरीको लोहरपट्टी नगरपालिका-७ स्थित भ्रमरपुरामा दाइको कुटाईबाट भाइको मृत्यु भएको हो।

मृत्यु हुनेमा ४५ वर्षीय लक्ष्मण साह रहेका छन्। लक्ष्मणको काठमाडौंस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। अंशवण्डा भएको लामो समयपछि दुवै जनाबीच कुलदेवताको विषयलाई लिएर कुटाकुट हुने गरेको थियो।

वडाध्यक्ष गणेश ठाकुरले भने, ‘गत बुधवार रामचन्द्रकी श्रीमतीले लक्ष्मणको घरमा गई कुलदेवतालाई उठाएर आफ्नो घरमा ल्याएपछि दुवै जनाको परिवारबीच झगडा शुरु भएको थियो। उनीहरुबीच दुई दिनसम्म लगातार झगडा जारी नै रह्यो। शुक्रवार ५० वर्षीय दाइ रामचन्द्र साह र उनका छोराहरु मिलेर ४५ वर्षीय भाइ लक्ष्मण साहलाई उनको घरमा गइ तथानाम गालीगलौज गर्दै कुटपिट गरेर गम्भीर घाइते बनाएका थिए।’

उनले घरको कुलदेवता कान्छो भाइ लक्ष्मणकै फाँटमा रहेपनि दाइ रामचन्द्रले जर्बजस्ती कुलदेवता आफ्नो घरमा लगेपछि विवाद शुरु भएको बताए।

मृतककी पत्नीले आफ्नो श्रीमानलाई रामचन्द्रले टाउकोमा चिरपट प्रहार गरी गम्भीर घाइते बनाएको बताइन्। गत जेठ २६ गते घरको कुलदेउताको विषयमा विवाद हुँदा गम्भीर घाइते लक्ष्मणको उपचारको क्रममा काठमाडौंको अस्प्तालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।

लक्ष्मणको मृत्यु भएपछि उनका दाइ रामचन्द्रकी पत्नी दुई जना छोरासहित फरार भएका छन्। घटनामा संलग्न रहेको भन्दै रामचन्द्र र उनका एक छोरा शिवरत्नलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ। फरार अन्यको खोजी जारी रहेको र घटनामा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक आचार्यले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell