PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

को हुन् गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली?



रिना थापा

को हुन् गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली?

पोखराः गण्डकी प्रदेशले नयाँ मुख्यमन्त्री पाएको छ। पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएपछि संविधानको धारा १६८(५) बमोजिम कांग्रेस संसदीय दलका ७१ वर्षीय कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री नियुक्त भए। नवनियुक्त मुख्यमन्त्री पोखरेल नवलपरासी पूर्व १(क) बाट प्रत्यक्ष निर्वाचित भएका हुन्।

राजनीतिक पृष्ठभूमि भएको परिवारमा हुर्केका पोखरेलका पिता तत्कालीन समयमा कांग्रेस केन्द्रीय सदस्य थिए। २००६ सालमा तनहुँमा जन्मिएका पोखरेलले मुख्य राजनीतिक कर्मथलो भने नवलपरासीलाई बनाएका थिए।

विद्यार्थी जीवनदेखि नै उनी राजनीतिमा आवद्ध थिए। पोखरेल २०२८ सालमा कांग्रेस तनहुँको जिल्ला सदस्य बने।

प्रजातान्त्रिक आन्दोलनका क्रममा पोखरेलले पटक पटक जेल जीवन बिताएका छन्। २०३५ सालको विद्यार्थी आन्दोलनमा उनी कास्की कारागारमा दुई पटक गरेर ५ महिना बिताए। २०३७ सालको जनमतसंग्रहका क्रममा पुनः ८ महिना कास्की कारागारमै बसे। २०३८ सालमा निर्वाचनकै क्रममा २ महिना जेल बसे।

बहुदलीय व्यवस्थाको पक्षमा २०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह घोषणा गर्‍यो। उनी सक्रिय रुपमा आन्दोलनमा सहभागी भए। सो क्रममा पोखरेलले १ वर्ष जेल जीवन बिताए। २०४६ सालको जनआन्दोलनमा परासी कमान्डर रहेका पोखरेल नजरबन्दमा पनि राखिए। त्यसपछि ९ महिना पाल्पा जेल बसे।

विद्यालय तहको प्रारम्भिक शिक्षा तनहुँमा पूरा गरेका उनले भारतको दरभंगाबाट मानविकीमा तथा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका छन्।

२०४८ को अधिवेशनपछि उनी निरन्तर ४ कार्यकाल कांग्रेस नवलपरासीको सभापति भए। कांग्रेसको १२औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भए ।

२०४८ सालको आमनिर्वाचनमा नवलपरासी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका थिए। संविधानसभा सदस्य निर्वाचन २०७० मा उम्मेद्वार बनेका उनी पराजित भए।

प्रदेशसभा सदस्य निर्वाचन ०७४ मा उनी पूर्वी नवलपरासी १ (क) बाट निर्वाचित भए। एमाले माओवादी गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई पराजित गर्दै पोखरेल गण्डकी प्रदेशसभा सदस्य बन्न सफल भए।

संसदीय राजनीतिक यात्रामा प्रवेश गरेका पोखरेल तत्कालीन प्रमुख विपक्ष दलको संसदीय दलको नेता चयन भएका थिए। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक कलहका तथा सर्वोच्चको फैसलापछि प्रदेशको राजनीतिमा पनि परिवर्तन आयो। यसअघि सत्ता साझेदार रहेकै दल माओवादीकै समर्थनमा पोखरेल मुख्यमन्त्री नियुक्त भए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell