PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

४५ दिनमा तेस्रोपटक मन्त्री बने दीपक मनाङे, 'अब तरबारले होइन बुद्धिले लड्ने '



रिना थापा

४५ दिनमा तेस्रोपटक मन्त्री बने दीपक मनाङे, 'अब तरबारले होइन बुद्धिले लड्ने '

काठमाडौं: गण्डकी प्रदेश सभा सांसद राजीव गुरुङ (दीपक मनाङे) पछिल्लोपटक राजनीतिक क्षेत्रमा चर्चामा रहे। आफैँ मन्त्री रहेको सरकारलाई विश्वासको मत नदिइ विपक्षी गठबन्धनलाई साथ दिएका मनाङे गण्डकीमा सरकार परिवर्तन भएसँगै फेरि सत्ताको केन्द्रमा पुगेका छन्।

पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि अहिले नेपाली कांग्रेस प्रदेश सभाका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भएको छ। पोखरेलको मन्त्रीमण्डलमा स्वतन्त्र सांसद मनाङे पनि अटाएका छन्। हाल चार मन्त्रीले बिना विभागीय मन्त्रीका रुपमा शपथ लिएका छन्। 

मनाङेले भने करिब दुई महिनाको अन्तरालमा तीनपटक मन्त्री पदको शपथ लिएर रेकर्ड बनाएका छन्। वैशाखमा हालका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलकै नेतृत्वमा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदा सत्ता जोगाउन मनाङेलाई गुरुङले मन्त्रीमण्डलमा भित्राएका थियो। वैशाख १६ गते मनाङेलाई खेलकुद मन्त्रीका रुपमा शपथ लिएका थिए।

पृथ्वीसुब्बा गुरुङले जेठमा राजीनामा दिएर फेरि सरकार गठन गरेपछि मनाङे जेठ ५ गते फेरि मन्त्री पदमा नियुक्त भएका थिए।

आफ्नो एक मतले कांग्रेस सरकार बनाउन सहयोग गरेका मनाङेले शनिबार फेरि मन्त्री पदको शपथ लिएका हुन्। यससँगै ४५ दिनमा मनाङे तीनपटक मन्त्री बनेका छन्।

तेस्रोपटक मन्त्री बनेपछि मनाङेले आफूले खेलकुद मन्त्री हुँदा आधारभूत विषयहरुमा ध्यान दिएको र सिस्टम बसाल्न सफल भएको दाबी गरे। यससँगै खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन आफू सफल रहेको उनले बताए।

आफू सरकारमा रहँदा इन्जिनियर र ठेकेदारहरुको धेरै लापरबाही देखेकोले अब जाने मन्त्रालयमा पनि इन्जिनियर र ठेकेदारको काम गर्ने तरिकालाई सुधार गर्ने मनाङेले बताए। बजेट दुरुपयोग गर्नेहरुलाई कानुनको दायरामा ल्याउर कारबाही गर्ने समेत उनले बताएका छन्। गुरुङ सरकारमा खेलकुद मन्त्रालय हाँकेका मनाङेले पोखरेल सरकारमा भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेका छन्। तर, मुख्यमन्त्री पोखरेलले कुनै पनि मन्त्रीको कार्य विभाजन गरेका छैनन्।

भ्रष्टाचार गर्नैकै लागि संसद् विघटन गर्ने खेल खेलिएको आरोप लगाउँदै उनले पृथ्वीसुब्बा गुरुङलाई सल्लाह दिने मानिसहरुले कुरा बिगारेको समेत बताए।

'एमाले बनेर खेलकुदमा छिर्नेले पैसा खाएका छन्। यो सरकारमा उनीहरुको मान्छे छैन। अब उनीहरु सबैलाई कारबाही हुन्छ' उनले भने।

बिना विभागीय मन्त्री मनाङेले कांग्रेस नेतृत्वको सरकारमा खेलकुद मन्त्रालय माओवादी केन्द्रलाई दिन नहुने समेत बताए। तर आफू भने फेरि खेलकुद मन्त्री नबन्ने उनले प्रस्ट्याए।

'हात र तरबारले होइन अबको लडाइँ बुद्धिले लड्ने लडाइँ हो। अब युवालाई मन्त्रालयमा पठाउने हो मैले मुख्यमन्त्रीसँग पनि कुरा गरेको छु। पार्टी उहाँहरुले मिलाउने हो मेरो समर्थन छ,' मनाङेले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell