पोखरा : गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूलाई दीपक मनाङेले ठूलो धोका दिएको बताएका छन्। आज आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गुरुङले आफैंले राजनीतिमा सहजिकरण गरेको मान्छे दीपक मनाङेले धोका दिएको बताएका हुन्।
गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदा सत्ता जोगाउन मनाङेलाई गुरुङले मन्त्रीमण्डलमा भित्राएका थिए। वैशाख १६ गते मनाङेलाई खेलकुद मन्त्रीका रुपमा शपथ लिएका थिए। त्यसपछि पृथ्वीसुब्बाले मुख्यमन्त्रीबाट राजीनामा दिए। फेरि अर्को बाटोबाट उनी नै मुख्यमन्त्री भए। त्यहीखेर पनि उनले दीपक मनाङेलाई मन्त्री बनाएका थिए।
तर, २७ गते फेरि विश्वासको मत लिँदा दिपक मनाङेले मुख्यमन्त्रीको साथ छोडे। उनले विपक्षी गठबन्धनलाई साथ दिएका थिए। आइतवार संचारकर्मीसँग कुरागर्दै पूर्व मुख्यमन्त्री गुरुङले मनाङेलाई 'डाँकुबाट बालमिक बनाउन नसकेको' टिप्पणी समेत गरेका छन्।
'तर कहिले काहीँ के हुन्छ भने सबै डाकुहरु चाहिँ बेदव्यास हुँदा रहेनछन्,' पूर्व मुख्यमन्त्री गुरुङले भने।
दीपक मनाङेको विगतको पृष्ठभूमि राम्रो छैन। उनी गुन्डागर्दीमा संलग्न भएका व्यक्ति हुन्। त्यसैले पनि उनी राजनीतिमा आउँदादेखि नै यही विषयका कारण चर्चामा आइरहेका छन्। उनी मन्त्री हुँदासमेत चर्को टिप्पणी भएको थियो। अहिले पनि विपक्षी गठबन्धनबाट मन्त्री हुँदा चर्चामा नै छन्। तर, सौभाग्य ४५ दिनमा तीन पटक मन्त्री हुने भाग्य उनैलाई जुरेको छ।
पूर्व मुख्यमन्त्रीले आफूले आँगनमा धतुरो उमारेर अमृतको आश गरेको टिप्पणी गरेका छन् उनलाई लिएर।
