PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रताप मल्लले तलेजु भवानीलाई चढाएको गहना सिकागोको संग्राहलयमा : कहिले हरायो इष्टदेवीको गहना?



सहयोग रञ्जित

प्रताप मल्लले तलेजु भवानीलाई चढाएको गहना सिकागोको संग्राहलयमा : कहिले हरायो इष्टदेवीको गहना?

काठमाडौं : अमेरिकाको सिकागोस्थित द आर्ट इन्स्टिट्युट अफ सिकागोमा हालै एउटा गहना सार्वजनिक रुपमा प्रदर्शनीमा राखिएको छ। सुनले बनेको उक्त गहनामा बहुमूल्य धातुका साथै अष्टमातृकाको आकृति कुँदिएको छ। प्रदर्शनी कक्षमा राखिएको गहना मुनी लेखिएको छ : 'राजा प्रताप मल्ल देवको नाम कुँदिएको हार...' 

काठमाडौंका राजा प्रताप मल्लको नाम समेत कुँदिएको सो गहना नेवार समुदायको इष्टदेवी तलेजु भवानीको हो।

पञ्चायतकालमा काठमाडौं उपत्यकाका सम्पदा क्षेत्रहरुबाट कयौं बहुमूल्य गरगहना, मूर्ति र दस्तावेजहरु हराएका थिए। सुरक्षाकर्मी हुँदाहुँदै पनि २०२५ साल देगु तलेजुको मूर्ति नै चोरी भयो। पछि मूर्ति प्रतिस्थापन गरि पूजा गरियो। २०२७ सालमा पञ्चायतले तलेजु भवानीका साथै वसन्तुपर क्षेत्रमा रहेका अन्य गरगहना बुझेको थियो। तर, ती गरगहना कहाँ छ भन्ने हालसम्म कसैलाई थाहा थिएन।

शनिवार डा. स्वेता ज्ञानु बानियाँले द आर्ट इन्स्टिट्युट अफ सिकागोको संग्रहालयमा तलेजु भवानीको गहना सार्वजनिक रुपमा प्रदर्शन भइरहेको भिडियो सार्वजनिक गरिन्। डा बानियाँले भिडियो सार्वजनिक गरेपछि भने मल्ल राजाले तलेजु भवानीलाई चढाएको नेपालको बहुमूल्य सम्पदा मध्ये एउटा गहना अमेरिकाको एक संग्रहालयमा रहेको खुलेको हो। संग्रहालयमा गहना रहेको सार्वजनिक भएपछि उक्त हार नेपाल फर्काउनुपर्ने भन्दै आवाज उठेको छ।

तलेजुका मुख्य पुजारी उद्धव कर्माचार्यका अनुसार हाल सार्वजनिक भएको तलेजु भवानीको अष्टमातृका सहितको गहनामा 'जय जय राजेन्द्र कवेन्द्र प्रताप मल्ल' लेखिएको छ। तस्विर हेर्दा साल भने यकिन हुन नसकेको उनले बताए।

'उक्त गहनाको बारेमा बुझ्न हामीले अमेरिकाको द आर्ट इन्स्टिट्युट अफ सिकागोमा सम्पर्क गर्ने प्रयास समेत गर्‍यौं। तर, हालसम्म उताबाट यस विषयमा कुनै प्रतिक्रिया आएको छैन,' उनले भने। 

सिकागोमा तलेजु भवानीको गहना भेटिएपछि उक्त संग्राहलयमा गहनासँगै अन्य आभूषण पनि हुनसक्ने अनुमान गरिएको छ। तलेजुका मुख्य पुजारी कर्माचार्यका अनुसार वि सं २०२७ सालमा तलेजुमा गरगहनाको जाँचबुझ भएको थियो। पञ्चायतले गरगहनाको लगत उठाउने काम गरेको थियो। पूजारीहरुको असहमति बिच गहगहनाहरु लिएर सुरक्षित ठाउँमा राख्ने भन्दै लगत उठाइएको स्थानीय बताउँछन्। तर, त्यसपछि ती गरगहना कहाँ छन् भन्ने कसैलाई थाहा भएन। हाल फेला परेको हार पनि त्यही बेला चोरी भएको हुनसक्ने अनुमान गरिएको छ।

'त्यसबेला लगतमा भएको नभएको सबै गरगहना श्री ५ को सरकारलाई बुझाएको थियो। त्यही बेलाको हराएको हुनसक्छ भन्ने अनुमान हो,' उनले भने।

प्रदर्शनी कक्षमा राखिएको विवरणअनुसार उक्त गहना जेम्स डब्लु एल्सडर्फले द आर्ट इन्स्टिट्युट अफ सिकागोलाई प्रदान गरिएको उल्लेख छ। सो गहना ब्रस मिल्लर एन्टिक्विटिजले सन् १९७६ जुन २२ (२०३३ साल असार ९ गते) एल्सडर्फ फाउन्डेसनलाई बिक्री गरेको र सन् २०१० मा फाउन्डेसनले संग्रहालयलाई दिएको इन्स्टिट्युटको वेबसाइटमा उल्लेख छ।

कर्माचार्य अब सरकार र सरोकारवालले गहना फिर्ता ल्याउन पहल गर्नुपर्ने बताउँछन्। तर, एउटा गहना भेटिएको मात्रै सन्तोष मान्न नहुने तर्क छ उनको। तलेजु भवानीको गहनासँगै अन्य आभूषण, कलाकृति समेत खोजी गर्नुपर्ने उनले बताए। 

'अब हामीले के गर्नुपर्छ सोच्नुपर्ने बेला भएको छ। आउने पुस्ताले तस्विर मात्रै हाम्रो सम्पदा हेर्न पाउने हो? हाम्रो संस्कृति के जहिल्यै पनि विदेशीहरुको अक्सनमा राख्ने हो त?,' उनले प्रश्न गरे, 'विदेशी हाम्रो सम्पदा र संस्कृति हेर्न आउँछन्। हाम्रो सम्पदा भने विदेशमा राखिएको छ।' 


सिकागोको संग्रहालयमा प्रदर्शनीमा रहेको तलेजु भवानीको गहना


उनले एउटा गहना विदेशी संग्रहालयमा राखेकोले थाहा पाए पनि त्यस्तै सम्पदा र आभूषण बाहिर कति होलान् खोज्नुपर्ने बताए। 'फर्काउनु पर्छ। यससँगै अरु पनि खोजिनु पर्छ। सबै कलाकृति, दस्तावेज बाहिर हुने। एउटा ल्यायो भन्दै चुप लागेर बस्ने छुट सरकारलाई पनि छैन। हामीले पनि त्यो बुझ्नुपर्छ,' उनले भने।

कर्माचार्यले हाल सिकागोमा भेटिएको गहनालाई राजाले चढाएको गहनाको रुपमामात्रै हेर्न नहुने बताए। त्यो गहनासँग राज्यको शक्ति समेत विदेशिएको बुझ्नुपर्ने उनको भनाइ छ। 

'राजाले देवीलाई त्यसै आभुषण चढाउने होइन। राजासँग पैसा धेरै भएर चढाएको होइन। राज्यको भलो होस् भन्दै इष्टदेवीलाई चढाएको हो। त्यो गहनामात्रै होइन नि। राष्ट्रमा राम्रो शासन गर्नपाउँ भन्दै चढाइएको हो,' उनले भने, 'यस्तै सम्पदाहरु बाहिरिएकोले राज्यको शक्ति पनि क्षीण हुँदै गएको हो। विदेशीले हामीलाई नै लडाउन सफल भए।' 

तलेजु भवानीको गहना सिकागोको संग्रहालयमा रहेको सार्वजनिक भएपछि परराष्ट्र मन्त्रालयले फिर्ता ल्याउन पहल गर्ने भएको छ। मन्त्रालयले पुरातत्व विभाग र अमेरिकास्थित नेपाली दूतावासलाई आवश्यक पहल गर्न निर्देशन दिइसकेको छ।  

पराष्ट्र मन्त्रालयले गहना फिर्ताका लागि आवश्यकम कदम चाल्न निर्देशन दिइसकेपछि पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले अब ल्याउन प्रक्रिय पुर्‍याएर पहल गरिने बताए।

'अब प्रक्रियमा जान्छ। पहिला त्यो गहना हाम्रो हो भनेर प्रमाणिकरण गर्छौं। प्रमाणहरु दिन्छौं। त्यसपछि हामी यहाँबाट टोली पठाउँछौं। इन्टरपोल र अमेरिकास्थित दूतावाससँग सहकार्य गरेर गहना फिर्ता ल्याउँछौं,' उनले भने।

गौतमका अनुसार संग्रहालयले नै गहना नेपालको भनेर लेखका कारण नेपाललाई गहनामा दाबी गर्न सजिलो हुनेछ। 

'म्युजियमले नै गहनामा प्रताप मल्लको नाम कुँदिएको लेखेकोले नेपाललाई दाबी गर्न झनै सजिलो हुनेछ,' उनले भने।  

तलेजु मन्दिरमा वर्षको ३६५ दिन नै नित्य पूजा हुन्छ। तलेजु भवानीको पूजाको लागि मात्रै बिहान ८ जना पूजारी खटिएका हुन्छन्। सबैको आ- आफ्नै भूमिका रहन्छ भने एक जनाको अनुपस्थितिमा पनि तलेजु भवानीको पूजा पूरा हुँदैन। तलेजु भवानीको मन्दिरको निर्माण महिन्द्र मल्लको पालमा सुरु भएको थियो। महिन्द्र मल्लले मन्दिरको जग राखेको मन्दिरको निर्माणको काम प्रताप मल्लको शासनकालमा सकिएको थियो।

राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने क्रममा कुदृष्टिले हेरेपछि तलेजु भवानी मन्दिरबाट हराएको किम्बदन्ती छ। राजाले क्षमा माग्दै धेरै रोइकराइ गरेपछि तलेजुले वर्षको एक पटक महानवमीको दिनमात्र आउँछु भन्ने वचन दिएको किम्वदन्ती रहेको छ। त्यसैले महानवमीका दिन सर्वसाधरणका लागि समेत तलेजु भवानीको मन्दिर खुल्ला गरिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell