PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दीपक मनाङे तेस्रो पटक मन्त्री बनिरहँदा उनका भाइ चाहिँ दुई सातादेखि हिरासतमा !



पहिलोपोस्ट

दीपक मनाङे तेस्रो पटक मन्त्री बनिरहँदा उनका भाइ चाहिँ दुई सातादेखि हिरासतमा !

काठमाडौं : यतिखेर राजनीतिक वृत्तको केन्द्रमा छ गण्डकी प्रदेश। गण्डकी प्रदेशको पनि केन्द्रमा रहँदै 'हट केक' बनेका छन् दीपक मनाङे। मुख्यमन्त्रीबाट पृथ्वीसुब्बा गुरुङलाई गुल्ट्याउन र त्यही कुर्सीमा कृष्णचन्द्र नेपालीलाई बसाउन उनको भूमिका रह्यो। बहालवाला मन्त्रीबाटै उनले विद्रोह गरे विपक्षी गठबन्धनलाई जिताए। यति भएपछि मनाङे चर्चामा रहनु अस्वभाविक पनि रहेन। 

तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बाले आफ्नो पद नै धरापमा पर्ने भएपछि दीपक मनाङेलाई मन्त्री बनाएका थिए। वैशाख १६ गते मनाङेलाई खेलकुद मन्त्रीका रुपमा शपथ लिएका थिए। त्यसपछि पृथ्वीसुब्बाले मुख्यमन्त्रीबाट राजीनामा दिए। फेरि अर्को बाटोबाट उनी नै मुख्यमन्त्री भए। त्यहीखेर पनि उनले दीपक मनाङेलाई मन्त्री बनाएका थिए। अहिले उनै मनाङे विपक्षी गठबन्धलाई सहयोग गर्न पुगे। त्यस्तै, उनी फेरि गठबन्धनको तर्फबाट मन्त्री पनि बनेका छन्।

गुन्डागर्दीको छवी बनाएका दीपक मनाङे त्यस्तै गतिविधिका कारण आलोचित भइरहेका छन्। गुन्डागर्दीबाट अछुतो भएको लामो समय पनि भइसकेको छैन उनको। २०७६ माघमा प्रदेशसभा सदस्य भएको समयमा नै एन्फा कास्की अध्यक्ष मिलन गुरुङलाई कुटेको अभियोगमा उनी हिरासत पुगेका थिए। प्रहरीले उनलाई पक्राउ गरेर हिरासतमा राखेको थियो। त्यसभन्दा अघिका अपराध गतिविधिको लिष्ट पनि लामै छ।

उनी बारम्बार मन्त्री भएर राजनीतिको केन्द्रमा रहँदा उनका भाइ भने महानगरी प्रहरी परिसर ललितपुरको हिरासतमा छन्। दुई सातादेखि उनका भाइ हिरातमा रहेका हुन्। प्रहरीले ललितपुरबाट जेठ १६ गते लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको थियो। त्यसमा एक जना दीपकका कान्छा भाइ कोर्तो गुरुङ पनि थिए। उनलाई ४१ ग्राम लागू औषधसहित पक्राउ गरेको हो प्रहरीले।

'अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ। उनीबिरुद्ध अन्य धेरै मुद्दा रहेको भेटियो,' महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले भनिन्।

प्रहरीले पक्राउ गरेपछि गुरुङको बारेमा खोजी गर्दा काठमाडौंमा १३ वटा मुद्दा रहेको भेटिएको हो। अभद्र व्यवहारका समेत मुद्दा रहेका छन् उनीमाथि। यतिका धेरै मुद्दा देखेपछि सोधिखोजी गर्दा खुल्यो उनी त दिपक मनाङेका भाइ पो रहेछन्। 

'दाइ राजनीतिमा आएर सांसद बनेपछि उसको चुरिफुरी धेरै बढेर गएको देखिन्छ। त्यसैको आडमा समेत केहि अपराध गरेको देखियो,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

दीपक मनाङे र उनको भाइबिच राम्रो सम्बन्ध भने छैन। उनीहरु अलगअलग बस्दै आएका छन्। कोर्तो लागू औषधको कारोबारीमात्र होइनन्, आफैं सेवनकर्ता समेत हुन्। प्रहरीले कोर्तोको माध्यमबाट अन्य लागू औषध कारोबारीसम्म पुग्ने भन्दै अनुसन्धान अगाडि बढाएको छ।

दीपककी श्रीमतीलाई पनि प्रहरीले गत माघमा चोरीको केसमा समातेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell