काठमाडौं : नर्भिक अस्पतालमा उपचाररत् मोडल निशा घिमिरेको स्वास्थ्यमा केही सुधार देखिन थालेको छ। भर्ना गरेसँगै उनमा सुधार देखिएको नवजीवन परोपकार संस्थाका संस्थापक दुर्गानाथ दाहालले जानकारी दिए।
नवजीवन परोपकार संस्थाकै पहलमा नर्भिक अस्पतालले घिमिरेको उद्दार गरेको थियो। साथै उनको नि:शूल्क उपचार गरिदिने भएको हो।
घटनाबारे सामाजिक सञ्जालमा चर्चा भएसँगै उनको परिवारलाई आर्थिक सहायता जुट्न थालेको छ। चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले पनि उनलाई आर्थिक सहयोग गर्ने भएको छ। कोषले घिमिरेलाई ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले जानकारी दिए। सहयोग रकम निशाका बुबालाई आइतवार हस्तान्तरण गरिँदैछ।
त्यस्तै म्युजिक भिडियो कलाकार संघले निशालाई २० हजार रुपैयाँ सहयोग गरेको छ। संघका अध्यक्ष शंकर बिसीसहितको टिम नर्भिक अस्पताल पुगेर उक्त रकम निशाका बुबालाई हस्तान्तरण गरेका थिए। राष्ट्रििय लोक तथा दोहोरी गीत प्रतिष्ठानकोतर्फबाट पनि उनलाई ५१ हजार रुपैयाँ सहयोग उपलब्ध भएको छ।
२०७६ पुस १८ गते भारतको देहरादुनमा उनी कार दुर्घटनामा परेकी थिइन्। भारतमा १० लाख भारतीय रुपैयाँ खर्च भएपछि २२ दिनको उपचारपछि उनलाई नेपाल ल्याइएको थियो। भारतमा खर्च जुटाउन गाह्रो भएपछि उनका बुवा प्रेमले निशालाई नेपाल ल्याएका थिए।
त्यसपछि निशालाई काठमाडौँको ट्रमा सेन्टरमा भर्ना गरियो। तर, निशालाई नेपाल ल्याएको केहि महिनामा नै कोरोना भाइरसको संक्रमण फैलियो। त्यसपछि उनलाई अस्पतालबाट भैंसीपाटीस्थित कोठामा सारियो। तर, आर्थिक अभावका कारण उनको उपचार सम्भव हुन सकेको थिएन।
यसैबिच संचारमाध्यममा उनको स्वास्थ्य अवस्थाको खबर प्रकाशित भएपछि नवजीवन परोपकार संस्थाका संचालक दुर्गानाथ दाहालको पहलमा नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले निशाको उपचार नि:शुल्क गर्ने घोषणा गरेकी हुन्।
