PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

प्रदेश नम्बर १ को नामाकरण चालु बर्खे अधिवेशनमै गरिने मुख्यमन्त्री राईको घोषणा, रक्सी ब्रान्डिङमा कटिबद्ध



अनन्तराज न्यौपाने

प्रदेश नम्बर १ को नामाकरण चालु बर्खे अधिवेशनमै गरिने मुख्यमन्त्री राईको घोषणा, रक्सी ब्रान्डिङमा कटिबद्ध

विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले चालु बर्खे अधिवेशनमै प्रदेशको नामकरण गरिने जानकारी दिएका छन्। प्रदेश सभामा आइतवार सांसदले उठाएका प्रश्नको उत्तर दिँदै मुख्यमन्त्री राईले चालु अधिवेशनमै प्रदेशको नामकरण पूरा गरिने सार्वजनिक गरेका हुन्।

राईले भने, ‘नीति, कार्यक्रम र बजेटसम्बन्धी छलफल सकेर ती पारित भइसकेपछि प्रदेशको नामाकरण यही अधिवेशनबाट गरिनेछ। यसका लागि कोभिडबाट पूर्ण सावधानी अपनाएर हामी छलफल गर्नेछौँ।’

यसअघि नेकपा माओवादीका संसदीय दलका नेता एवं पूर्व आर्थिक मामिला मन्त्री इन्द्र आङबोले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशको नाम कोशी राख्न दबाब दिएको तर प्रदेश सरकारले अस्वीकार गर्दा नामाकरण हुन नसकेको बताएका थिए।

उनले प्रदेश सभाका सम्पूर्ण संरचना प्रदेश राजधानी विराटनगरमै निर्माण गरिने उल्लेख गरे।

राईले भने, ‘प्रदेश सभाको नयाँ भवन निर्माणाधीन छ तर यो पनि अस्थायी नै हो। स्थायी जमिन र स्थान प्राप्त गरेपछि हामी नयाँ भवनको निर्माण गर्नेछौँ।’

मुख्यमन्त्री राईले आगामी आर्थिक वर्षदेखि प्रदेशका सबै जिल्लामा एकीकृत कार्यालयको स्थापना गरेर प्रदेश सरकारले बजेटको कार्यान्वयन गर्ने जानकारी दिए। उनले सबै जिल्लामा एकीकृत कार्यालयको स्थापनाको अवधारणा प्रस्तुत गर्दै बजेटको अधिक कार्यान्वयन हुन सक्ने विश्वास व्यक्त गरे।

राईले कोभिड-१९ को महामारीका कारण चालु आर्थिक वर्षको बजेट पूर्णतः कार्यान्वयन हुन नसकेको बताए।

‘कोभिड-१९ को महामारीले चालु आर्थिक वर्षका सरकारका नीति र कार्यक्रमको कार्यान्वयनमा वाधा पुर्‍याएको छ’, उनले भने, ‘अझै यो महामारीले कति समय लिने हो, कति वटा भेरियन्ट आउने हो र यसबाट मुक्ति पाउन हामीले कति समय लाग्ने हो भन्ने प्रश्न अनुत्तरित नै छ। त्यसैले पुराना मात्र होइन, आगामी आर्थिक वर्षमा पनि नीति तथा कार्यक्रम र बजेट पनि प्रभावित हुने कुरामा शङ्का छैन।’

उनले प्रदेश सरकारले नेपालको सबैभन्दा होचो भाग केचनादेखि अग्लो ठाउँ सगरमाथासम्मको मार्ग निर्माण गर्न केही समयमै सम्झौता गर्न लागिरहेको जानकारी दिए।

त्यस्तै, उनले मोरङको घिनाघाटदेखि विराटचौकसम्म निर्माणाधीन ४ लेन सडक विस्तार आयोजनाको भुक्तानी गर्न अझै ५० करोड बाँकी भए पनि काम नरोकिएको स्पष्ट पारे।

उनले अन्य कुनै पनि प्रदेश सरकारले यस्ता कनेक्टिभिटी मार्ग र सडक आयोजनाको काम नगरेको दाबी गरे। मुख्यमन्त्री राईले कोशी नदीमा रहेको खुवालुङ पत्थरको संरक्षण गरिने दृढता प्रकट गरे।

‘त्यो एउटा ढुङ्गो मात्र भएको भए फुटाएर जलमार्ग बनाउन सकिन्थ्यो’, राईको कथन थियो, ‘तर खुवालुङ किराँत धर्म, संस्कृति, सभ्यता अनि मुन्धुमसित जोडिएको स्पष्ट भइसकेको छ। त्यसैले अरू ढुङ्गा फुटाएर अनि पानीको धार परिवर्तन गरेर खुवालुङको संरक्षण गर्न हामी तयार छौँ।’

सांसदहरूले कतिपय नीति तथा कार्यक्रमहरू पुरानै भएको र पुरानै पुस्तिकाबाट कपिपेस्ट गरिएको भन्दै आरोप लगाएका थिए। त्यसको जवाफ दिँदै राईले महत्त्वपूर्ण कार्यक्रमलाई प्रदेश सरकारले डिलिट गर्न नसक्ने हुँदा कपिपेस्ट गर्नुपरेको बताए।

उनले आगामी भदौ महिनादेखि प्रदेश सरकारले स्वास्थ्य र यातायातका क्षेत्रमा अनलाइन सेवाको सुरुआत गर्ने जनाउँदै केही महिनाभित्रै यसले पूर्णता पाउने धारणा प्रकट गरे। मुख्यमन्त्री राईले प्रदेश नम्बर १ मा नवनियुक्त सामाजिक विकास मन्त्री उषाकला राईले पहाडी घरेलु मदिरा (जाँड, छ्याङ र तोङ्बा)को ब्यान्ड भर्सेस ब्रान्डको अवधारणाको बचाउ गरे।

‘कोभिडका बेलामा सरकार रक्सीका पछि लागेको भन्ने आलोचना सुनियो’, शेरधनको भनाइ छ, ‘कोभिडका कारण सबै काम अड्किँदैनन्। महत्त्वपूर्ण कामहरू अघि बढ्छन्। रक्सीमात्र होइन अरू उत्पादनको पनि ब्रान्डिङ गर्न प्रदेश सरकार तयार छ।’

उनले दक्षिण कोरियाले छ्याङको ब्रान्डिङ गरेर खाडी राष्ट्रमा पठाएर नेपाली युवालाई बिक्री गरिरहेको बताए। उनले चीन र जापानले पनि घरेलु उत्पादनलाई ब्रान्डिङ गरेर अन्तर्राष्ट्रिय बजारमा बिक्री गरिरहेको जिकिर गरे।

मुख्यमन्त्रीले प्रदेश सरकारले विराटनगरमा निर्माण गरेर सञ्चालन गरिरहेको १ सय शय्याको कोशी कोभिड अस्पताललाई कोभिड सकिएपछि प्रादेशिक स्तरको महिला तथा प्रसुती अस्पतालमा परिणत गर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell