PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

बेलगाम मनाङेः ‘आपत्तिजनक र व्यक्तिगत’ टिप्पणीमा उत्रिँदै, कांग्रेसका सांसद पनि उनकै मार्गमा



पहिलोपोस्ट

बेलगाम मनाङेः ‘आपत्तिजनक र व्यक्तिगत’ टिप्पणीमा उत्रिँदै, कांग्रेसका सांसद पनि उनकै मार्गमा

पोखरा: गण्डकी प्रदेशको राजनीतिमा पछिल्लो समयमा चर्चित नाम बनेका छन् दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ। गुण्डागर्दी पृष्ठभूमिबाट सांसद हुँदै मन्त्री बन्न सफल मनाङेको राजनीति घुमाउरो बाटो हिँडे पनि बोल्ने शैली भने सिधा छ।

बोल्ने शैलीका कारण उनी जति चर्चित भए त्योभन्दा बढी विवादास्पद बनेका छन्। प्रदेशको सत्ता समीकरणको जोड घटाउमा ‘किङमेकर’को भूमिकामा देखिएका मनाङेले आफैँलाई मन्त्री बनाएका पृथ्वीसुब्बा गुरुङलाई समेत ‘घात’ गरे। सरकारमै रहेर मुख्यमन्त्रीलाई विश्वासको मत उनले दिएनन्। विपक्षी गठबन्धनमा उभिएर उनले सरकार बनाउन निर्णायक भूमिका खेले। जसको उपहार स्वरूप विपक्षी गठबन्धनले शनिबार नै मनाङेलाई मन्त्रीको शपथ दिलाइसकेको छ। मन्त्रालय टुंगो लागेको छैन।

शनिबार मन्त्री पदको शपथ लिएपछि प्रतिक्रिया दिँदै उनले आपत्तिजनक टिप्पणी पनि गरे। उनले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालको व्यक्तिगत जीवनमाथि आपत्तिजनक टिप्पणी गरे। खेलकुद क्षेत्रमा भएको राजनीतिक गतिविधिबारे बोल्दै उनले सिलवाल र राखेपका सदस्य राजेश गुरुङलाई ‘ठग’को संज्ञा दिए।

‘सिलवालको मोजमस्ती कस्तो रहेछ भने रक्सी र केटी भनेपछि पागलै हुने,’ मनाङेले भने, ‘मान्छेले भन्न अप्ठ्यारो मान्ला। तर, के गर्ने? सायद त्यसको स्वास्नी नराम्री होली, त्यो प्रब्लम पनि होला।’

सोही क्रममा उनले पूर्व सामाजिक विकास मन्त्री नरदेवी पुनको समेत आलोचना गर्न भ्याएका थिए। पुनलाई महिला भएकै कारण खेलकुद क्षेत्रमा राम्रो काम गर्न नसकेको मनाङेले आरोप लगाए।

पुनले खेलकुद बुझ्न नसकेको भन्दै उनले भने, ‘हामी दिनमा दुई पटक रङ्गशाला छिर्छौँ तर आइमाई भएकाले उनलाई जहाँ पायो त्यहीँ जान मिल्दैन।’

मन्त्री मनाङेले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा समेत आपत्तिजनक टिप्पणी गरे। उनले प्रधानमन्त्रीको आफ्नै किड्नी नभएको भन्दै उनको पछि नलाग्न अरूलाई सुझाइरहेका थिए। प्रदेश प्रमुख कार्यालय अगाडि धर्ना बस्ने क्रममा उनले प्रधानमन्त्रीको किड्नी नभएकाले उनको साथ छिटो छोड्नुपर्ने बताएका थिए।

प्रधानमन्त्री ओलीको 'न फ्युचर छ न प्रिजेन्ट छ' भन्दै उनले केपी ओलीको पछि लाग्ने मान्छेको बुद्धि नभएको दाबी गरे। ‘यो दुई वटा किड्नी नभएको मान्छे हो। अरूको त किड्नी छ नि यार,’ मनाङेले भने, ‘बुद्धि छ भने छिटो छिटो छोड्देऊ। उसको साथ छोडेको राम्रो हो। मैले त ठिक टाइममै छाडेर बसेको हो।’

मनाङे मार्गमा कांग्रेस सांसद

प्रदेश प्रमुख कार्यालय अगाडि गठबन्धनले धर्ना दिइरहँदा विपक्षी समर्थकहरूले नाराबाजी गरेका थिए। नाराबाजीका क्रममा ड्युटीमा खटिएका प्रहरीलाई कांग्रेस सांसद मेखलाल श्रेष्ठले आक्रोशित हुँदै हिसाब-किताब गर्ने धम्की दिएका थिए।

‘तपाईँको हिसाब-किताब हुन्छ फुर्ती नछाट्म,’ धम्कीको शैलीमा श्रेष्ठले प्रहरीलाई हप्काए।

उनको धम्कीलाई प्रहरी इन्सपेक्टर श्याम थापा मगरले प्रतिकार गरे।

‘फुर्ती छाँटेको हैन, बैदाममा कार्यरत छु। तपाईँले हिसाब-किताब भन्नुभयो हेरौँला। मेरो नाम श्याम थापा मगर,’ उनको प्रत्युत्तर थियो।

श्रेष्ठले बैदाम प्रहरी चौकीका डिएसपीलाई समेत औँला ठड्याउँदै हप्काएका थिए। उनलाई साथ दिँदै कांग्रेसकै अर्का सांसद तथा नवनियुक्त मन्त्री कुमार खड्काले पनि धम्काउने शैलीमै खबरदारी गरेका थिए। खड्कालाई गण्डकी प्रदेश सरकारको प्रवक्ता समेत तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell