PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एक वर्षसम्म पनि नसुल्झेको सुशान्त सिंह राजपूतको मृत्यु प्रकरण



पहिलोपोस्ट

एक वर्षसम्म पनि नसुल्झेको सुशान्त सिंह राजपूतको मृत्यु प्रकरण

१४ जुन २०२० मा भारतीय अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु भयो। ३४ वर्षीय सुशान्त मुम्बईस्थित आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थामा फेला परेका थिए।

शुरुमा उनले आत्महत्या गरेको भनि भनिएको थियो तर पछि घटनाले अर्कै मोड लियो। उनको मृत्यु झन रहस्यमय बन्दै गयो।

मुम्बई प्रहरी, बिहार प्रहरी, केन्द्रिय अन्वेषण ब्यूरो, नार्कोटिक्स कन्ट्रोल ब्यूरो र प्रवर्तन निर्देशालय यी पाँच निकायले सुशान्तको मृत्युको जाँच गरिरहेका छन्। तर, पनि आजसम्म आत्महत्या कसरी भयो भनेर पत्ता लगाउन सकेका छैनन्

मुम्बई पुलिसले आफ्नो प्रारम्भिक अनुसन्धानमा सुशान्तले आत्महत्या गरेको निष्कर्ष निकालेको थियो।

सीबीआईको अनुसन्धान कहाँ पुग्यो?

सुशान्तको मृत्युको केसको अनुसन्धानको जिम्मा सर्वोच्च अदालतले सीबीआईलाई दिएको थियो। सीबीआईले केस हातमा लिएको दस महिना बितिसक्यो। तर, के नतिजा आयो भन्ने प्रश्नको जवाफ दिन सकेको छैन।

महाराष्ट्रका पूर्व गृहमन्त्री अनिल देशमुख सीबीआईसँग सुशान्तको केसको जाँच रिपोर्ट सार्वजनिक गर्न लगातार माग गरे।

सीबीआईले यो केसमा बलिउड अभिनेत्री तथा सुशान्तकी प्रेमिका रिया चक्रवर्ती, सुशान्तका साथी सिद्धार्थ पिठानी र उनका भान्से निरज र दिपेश सावंतसँग बयान लिएको थियो। साथै सीबीआईले एक समिति गठन गर्‍यो जसको जिम्मा डा सुधिर गुप्तालाई दिइयो।

जसको रिपोर्ट सन् २०२० सेप्टेम्बरमा सुधिरले सीबीआईलाई बुझाएका थिए। सुशान्तको शरीरमा कुनै दाग नदेखिएकाले उनले आत्महत्या गरेको भनेर सुधिरले मिडियासँग कुरा गर्दै बताएका थिए।

यसैबीच, बीजेपीका सांसद सुब्रमण्यन स्वामीले यस केस सम्बन्धित प्रधानमन्त्री कार्यालयबाट जानकारी मागेका थिए। तर, सीबीआईले यो केसको अनुसन्धान भइरहेको र हरेक पक्षलाई निकै ध्यान दिइने उल्लेख गरेको थियो।

तर, सीबीआईले अनुसन्धानको निष्कर्षको बारेमा केही बताउन सकेन। अब भने यो मुद्दाको निर्णयको जिम्मा सीबीआईका निर्देशक सुबोध कुमार जायसवालको हातमा छ।

प्रवर्तन निर्देशनालयको अनुसन्धान 

सुशान्तको परिवारले रिया चक्रवर्तीलाई सुशान्तको बैंक अकाउन्टबाट गोप्य रूपमा १५ करोड निकालेको भनि आरोप लगाएका थिए।

प्रवर्तन निर्देशालयले यस केसमा प्रिजेशन अफ मनी लन्डरिङ एक्ट अन्तर्गत अनुसन्धान शुरु गर्‍यो। रिया चक्रवर्तीलाई ईडीले ७ अगस्ट २०२० मा सोधपुछ गरेको थियो। साथै रियाको प्रबन्धक र सुशान्तको पूर्व हाउस म्यानेजरलाई पनि प्रवर्तन निर्देशनालयले सोधपुछका लागि बोलाएको थियो।

प्रवर्तन निर्देशनालयका अनुसार सुशान्तको बैंक खाता र रिया वा उनको परिवारको बैंक खाताबीच कुनै लेनदेन भएको थिएन।

नार्कोटिक्स कन्ट्रोल ब्यूरोको जाँच

प्रवर्तन निर्देशालयले रिया चक्रवतीको मोबाइल फोनको जाँचबाट ड्रग्सको बारेमा कुराकानी भएको पत्ता लगायो। जसकारण सुशान्त मुद्दाको छानबिनमा नार्कोटिक्स कन्ट्रोल ब्यूरो समेत संलग्न भयो।

रिया चक्रवर्तीलाई एनसीबीले ८ सेप्टेम्बर २०२० मा पक्राउ गर्‍यो। नार्कोटिक्स कन्ट्रोल ब्युरोले अदालतमा पेश गरेको पत्रमा लेखेको थियो, ‘रियाले ड्रग्स किनेर सुशान्तको बानी बिगारेकी थिइन। जुन उनको ह्वाट्सएप च्याटबाट स्पष्ट हुन्छ।’

त्यसपछि उनलाई अक्टोबर २०२० मा उच्च अदालतबाट जमानत मिल्यो। सुशान्तको मृत्यसँग सम्बन्धित ड्रग्सको विषयमा नार्कोटिक्स कन्ट्रोल ब्युरोले हालसम्म ३० भन्दा बढि मानिसहरुलाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा रियाका भाई शोविक पनि थिए। पछि उनलाई पनि रिहा गरिएको थियो।

यसैबीच, २६ मे २०२१ मा सुशान्तको फ्ल्याटमा बस्ने सिद्धार्थ पिठानी समेत पक्राउ परे। यसअघि उनी फरार थिए। अहिले जाँच चलिरहेको छ। सिद्धार्थको पक्राउलाई निकै चासोका साथ हेरिएको छ। किनकी सुशान्तको मृत्यु हुँदा उनी त्यसै फ्ल्याटमा थिए।

यस मुद्दामा नार्कोटिक्स कन्ट्रोल ब्यूरोले अहिलेसम्म कलाकरहरु दीपिका पादुकोण, रकुल प्रीत सिंह, सारा अली खान, श्रद्धा कपूर र अर्जुन कपूरसँग समेत सोधपुछ गरेका थिए। तर, उनीहरुलाई के आरोप लगाएर सोधपुछ गरिएको थियो भनेर खुलेको छैन।

मुम्बई पुलिसको अनुसन्धान कता पुग्यो?

सुशान्तको मृत्यु हाई प्रोफाइल मामिला थियो। उनले कुनै सुसाइड नोट छोडेका थिएनन्। 

मुम्बई पुलिसले उनको पोष्टमार्टम रिपोर्टका अनुसार उनको मृत्यु पासो लगाएर सास फेर्न गाह्रो भएका कारण भएको भनि निष्कर्ष निकालेको थियो। साथै उनको मृत्युलाई आत्महत्या नै भनिएको थियो।

२७ जुलाई २०२० मा, फरेन्सिक ल्याबले पनि मुम्बई पुलिसलाई प्रतिवेदन बुझायो। जुन रिपोर्टमा सुशान्तको विसरको नमुना परीक्षणमा कुनै हानिकारक रसायन वा ड्रग्स फेला परेको थिएन। 

बिहार पुलिसको अनुसन्धानमा राजनीति हाबी

सुशान्तको परिवारले मुम्बई पुलिसको अनुसन्धानमाथि प्रश्न उठाए। जसकारण परिवारले बिहार पुलिसमा सुशान्तको मृत्युलाई लिएर एक उजुरी दर्ता गरे।

सुशान्तको परिवारको आरोपपछि उनको मृत्युको केसमा राजनीतिक मोड आयो। जुन विषय बिहारमा भएको विधानसभा चुनाबभन्दा अलि अगाडि निस्केको थियो। स्थानीय तहदेखि केन्द्रसम्म यो मुद्दा एक राजनीतिक आरोप प्रत्यारोप लगाउने कारण बन्यो।

यस मुद्दाको अनुसन्धान गर्न बिहार पुलिसको एउटा टोली मुम्बई गएको थियो। जुन मामिलामा बिहार पुलिसको अनुसन्धानको अधिकारमाथि प्रश्न खडा भयो। साथै मुम्बई गएका बिहार पुलिसको टोलीसँग धेरै नाटकीय दृश्यहरू पनि देखिए।

यसैबीच, बिहार र महाराष्ट्रबिच पनि धेरै मौखिक युद्ध भयो।

सुशान्तको मृत्युको जाँचमा पाँच अलग निकाय संलग्न भएपनि उनको मृत्यु राज नै रहेको छ। उनले आत्महत्या गरेको हो होइन भनेर पत्ता लाग्न सकेको छैन। यो केस अहिले सीबीआईको हातमा छ। सुशान्तका फ्यान र अन्य मानिसहरु सीबीआईको निर्णय पर्खिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell