ब्राजिलको ब्रसिल्लास्थित स्टेडियो नेसनल डी ब्रसिल्ला स्टेडियममा घरेलु टोली र भेनेजुएलाबीचको खेलसँगै प्रतियोगिता सुरु भयो। उद्घाटन खेलमा घरेलु टोलीले भेनेजुएलामाथि ३-० को सहज जित निकाल्यो।
अघिल्लो वर्ष तय भएको यो प्रतियोगिता दुई हप्ताअघि मात्र ब्राजिलमा हुने निश्चित भएको थियो। यद्यपि यो दुई हप्तामा पनि ब्राजिलमा प्रतियोगिताको आयोजनालाई लिएर असन्तुष्टीहरु खेलाडीदेखि त्यहाँका मानिसहरुले पोखे। अझ भन्ने हो यो विषय अदालतसम्मै पुग्यो।
सोमवारसम्मको आँकडालाई हेर्ने हो भने १७ करोड ४१ लाख ब्राजिलका मानिसहरु कोभिडबाट संक्रमित भइसकेका छन्। कोरोना संक्रमणको आँकडा हेर्दा अमेरिका र भारतपछि रहेको ब्राजिल संक्रमणका कारण निधन भएको संख्यामा भने अमेरिकाको पछिपछि छ। यहाँ कोरोना संक्रमणका कारण ४ लाख ८६ हजारको निधन भइसकेको छ।
प्रतियोगिता कसरी ब्राजिलमा पुग्यो?
कोपा अमेरिकाको यो सिजनको आयोजनाको जिम्मेवारी अर्जेन्टिना र कोलम्बियाले पाएका थिए। प्रतियोगिता नजिँदै गर्दा सहआयोजक कोलम्बियाबाट सबै खेल अर्जेन्टिनामा सार्ने निर्णय गरेको दक्षिण अमेरिकी फुटबल फेडेरेसनले अर्जेन्टिनामा पनि कोभिडको संक्रमण बढेको भन्दै दुई हप्ताअघि मात्र ब्राजिलमा प्रतियोगिता गराउने निर्णय गरेको थियो।
दक्षिण अमेरिकी फुटबल फेडेरेसनले ‘वर्तमान घटनाक्रम’ को कारण देखाउँदै अर्जेन्टिनामा प्रतियोगिता नहुने जनाएको थियो। त्यसअघि सहआयोजक रहने भनिएको कोलम्बियालाई पनि त्यहाँ चर्किएको सरकार विरोधी आन्दोलन र बढ्दो संक्रमणको कारण देखाउँदै सबै खेल अर्जेन्टिनामा गराइने फेडेरेसनले तयारी गरेको थियो। तर अर्जेन्टिनामा पनि कोभिडको दोस्रो लहरले लकडाउनको स्थिति सिर्जना भएपछि प्रतियोगिता ब्राजिलमा सारिएको थियो।
राष्ट्रिय टोली किन असन्तुष्ट?
प्रतियोगिता सुरु हुने केही दिन अघिमात्र ब्राजिलको फूटबल टोलीले आफूहरु प्रतियोगिताको आयोजनाप्रति असन्तुष्ट भए पनि प्रतियोगितामा सहभागिता जनाउने बताएका थिए। त्यसअघि ब्राजिलका खेलाडीले प्रतियोगिता नखेल्ने निर्णयमा पुग्न सक्ने स्थानीय मिडियाले दावी गरेका थिए।
यसैबिच ब्राजिलका खेलाडीहरुले आज एक विज्ञप्ति निकाल्दै दक्षिण अमेरिकी फुटबल फेडेरेसनको ब्राजिलमा प्रतियोगिता गराउने निर्णयप्रति आफूहरु असन्तुष्ट भए पनि प्रतियोगितामा सहभागिता भने जनाउने बताएका थिए।
‘हामी कोपा अमेरिकाको आयोजनाको विरुद्धमा छौं। तर, हामी राष्ट्रिय टोलीलाई कहिल्यै नाइ भन्ने छैनौं,’ खेलाडीले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको थियो, ‘अहिलेको सबै तथ्यहरुले भन्छ कि प्रतियोगिता आयोजना अपर्याप्त तबरबाट हुन लागेको छ।’
के ब्राजिलियनहरु प्रतियोगिताको समर्थनमा छन्?
ब्राजिलमा कोपा अमेरिकाको विवाद चुलिएपछि अदालतसम्मै पुगेको थियो। जसमा बिहीवार उच्च अदालतका ११ जजमध्येबाट बहुमतले महामारीकाबावुजत प्रतियोगिता आयोजना गराउन निर्णय दिएको थियो।
यद्यपि त्यहाँको एउटा पोलमा अधिकांश ब्राजिलीहरुले प्रतियोगिता आयोजना गरिनु नहुने राय ब्यक्त गरेका थिए।
उक्त पोल ब्राजिलका एक हजार जना मानिसहरुबीच ७ जुन देखि १० जुनसम्मको कुराकानीमा आधारित थियो। त्यसमा २९ प्रतिशतले गर्नु हुने र बाँकीले गर्नु नहुने राय दिएका थिए।
प्रतियोगिताको तयारीमा रहेका खेलाडी संक्रमित पाइए?
उद्घाटन खेल खेलेको भेनेजुएलाका ८ जना र बोलिभियाका ३ जना खेलाडीलाई कोभिड पुष्टि भइसकेको छ। त्यस्तै तीन जना कोचिङ स्टाफ पनि संक्रमित भइसकेका छन्। जसका कारण उद्घाटन खेलमा नयाँ खेलाडीसहित भेनेजुएला उत्रिएको थियो।
त्यस्तै बोलिभियाले सोमवार पाराग्वेविरुद्ध आफ्नो पहिलो खेल खेल्दैछ। दक्षिण अमेरिकी फुटबल फेडेरेसनले निर्धारित समयमै खेल हुने बताएको थियो।
कोपा अमेरिकाको उपाधि कसले कति पटक जित्यो?
कोपा अमेरिकाको उपाधिको इतिहास हेर्दा १५ पटक उपाधि जितेको उरुग्वे सबैभन्दा अघि देखिन्छ। त्यस्तै अर्जेन्टिनाले १४ पटक उपाधि जित्दा ब्राजिलले ९ पटक उपाधि उचालेको छ।
त्यस्तै पेरु, पाराग्वे र चिलीले समान २/२ पटक उपाधि उचालेका छन्। त्यस्तै बोलिभिया र कोलम्बियाले समान १/१ पटक उपाधि जितेका छन्।
कुनकुन टिम सहभागी हुँदैछन्?
१३ जुनबाट ११ जुलाइसम्म हुने प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ। भलै यसअघि कतार र अस्ट्रेलियालाई गेस्ट टिमका रुपमा बोलाउने तयारी रहे पनि विश्वकप क्वालिफायर्सको तालिकासँग प्रतियोगिताको तालिका जुधेसँगै १० टिमले मात्र प्रतियोगितामा सहभागिता जनाउने भएका हुन्।
प्रतियोगितमा ५/५ टिमको दुई समूह बनाइएको छ। दुबै समूहका शीर्ष चार टोलीले प्रतियोगिताको क्वाटरफाइनल खेल्ने छन्।
समूह ए
ब्राजिल, कोलम्बिया, इक्वेडर, भेनेजुएला, पेरु
समूह बी
अर्जेन्टिना, पाराग्वे, उरुग्वे, चिली, बोलिभिया