PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

निर्वाचन आयोगले दुवै कारवाहीलाई मान्यता नदिएपछि जसपामा उथलपुथल, उपेन्द्र अदालततिर लाग्दा महन्थको ध्यान कता?



पहिलोपोस्ट

निर्वाचन आयोगले दुवै कारवाहीलाई मान्यता नदिएपछि जसपामा उथलपुथल, उपेन्द्र अदालततिर लाग्दा महन्थको ध्यान कता?

काठमाडौं : निर्वाचन आयोगले दुवै पक्षको कारवाहीलाई मान्यता नदिएपछि जनता समाजवादी पार्टी (जसपा)को राजनीति नयाँ कोर्समा प्रवेश गरेको छ।

जसपामा अध्यक्ष उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बहुमतको बलमा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई कारवाही गर्दै पार्टीबाट निष्कासन गरेको थियो भने महन्थले संसदीय दलको बहुमतका बलमा उपेन्द्रलाई पार्टीबाट निष्कासन गरेका थिए।

दुवैको कारवाहीको पत्रलाई निर्वाचन आयोगले भने आइतवार मान्यता नदिने निर्णय गर्‍यो र एक अध्यक्षले अर्को अध्यक्षलाई कारवाही गर्न राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ अनुसार नमिल्ने भएकाले जसपाको पुरानै कमिटीलाई निरन्तरता दियो। आयोगको निर्णयपछि जसपा यथास्थितिमा फर्किएको छ। आयोगको यो निर्णयले कानुनी रुपमा पार्टी एक नै भएको कायम गरे पनि व्यवहारिक रुपमा विभाजनको उत्कर्षमा नेतृत्व पुगिसकेको छ। एक अध्यक्ष सत्तातिर र एक अध्यक्ष विपक्षी गठबन्धनतिर लागेर एक अर्कालाई कारवाही गरेका दुवै पक्ष अब कसरी अगाडि बढ्छन् भन्ने चासो छ।

उपेन्द्र समूह अदालत जाने

निर्वाचन आयोगले आफ्नो कारवाहीलाई मान्यता नदिएपछि उपेन्द्र यादव समूह भने दलको झगडा सुल्ट्याउन अदालत जाने भएको छ। यादव पक्षका कार्यकारिणी समिति सदस्य मोहम्मद इस्तियाक राईले पार्टीको विधानअनुसार गरिएको कारवाहीलाई मान्यता नदिएकाले आयोगको निर्णय विरुद्ध अदालतमा जाने बताए।

‘यसलाई हामी कानुनी उपचार खोज्छौं। हाम्रो विधानमा बहुमत अल्पमतको निर्णय गर्न पाउने र बहुमतको निर्णयलाई अल्पमतले स्वीकार गर्ने भन्ने छ,’ उनले भने।

महन्थको ध्यान कार्यकारिणीमा

उपेन्द्र समूह अदालत जाने तयारीमा लाग्दा महन्थ ठाकुर समूह भने केन्द्रीय कार्यकारिणी समितिमा केन्द्रित भएको छ। अध्यक्ष ठाकुरले ५१ सदस्यीय कार्यकारिणी समिति हेरफेरको तयारी गरेका छन्। कार्यकारिणीको बहुमत भनेर उपेन्द्रले दु:ख दिएको निष्कर्ष निकाल्दै ठाकुर समूहले १५ देखि २० जनासम्म कार्यकारिणी सदस्य हेरफेर गर्न लागेका हुन्।

खासगरी ठाकुर समूह छाडेर उपेन्द्रतिर लागेका कार्यकारिणी सदस्यहरु महेन्द्रराय यादव, गजाधर यादव, रमेश यादव, मृगेन्द्रसिंह यादव, नवलकिशोर साह र रामनरेश राय यादवदेखि उपेन्द्र समूहका अन्य सदस्यलाई पदमुक्त गरेर नयाँ ल्याउने रणनीति ठाकुरले लिएका छन्।

कार्यकारिणीमा हेरफेर गरेर आजै निर्वाचन आयोगलाई हेरफेरका लागि पत्र लेख्ने तयारी रहेको नेता डा. सुरेन्द्र झाले जानकारी दिए। ‘कार्यकारिणी सदस्य हेरफेर गर्ने अधिकार प्रथम अध्यक्ष ठाकुरजीलाई पार्टीले नै दिएको हो। उहाँले आफ्नो अधिकार प्रयोग गरेर हेरफेर गर्नुहुन्छ,' झाले भने, 'यो पार्टी जीवनको सामान्य प्रक्रिया हो।'

कार्यकारिणी समिति हेरफेरका लागि अध्यक्ष ठाकुर नामावली फाइनल गर्दैछन्। ठाकुरले मन्त्री बनेका राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा, राजकिशोर यादवसँग परामर्श गरेर नामलाई अन्तिम रुप दिँदैछन्।

कार्यकारिणी समितिमा थपिनेमा उपेन्द्र समूह छोडेर आएका उमाशंकर अरगरिया, विमल श्रीवास्तवहरुदेखि पूर्वराजपा पार्टीबाट पहिले नै छुटेकाहरु रहेका छन्। कार्यकारिणी समिति हेरफेरलाई निर्वाचन आयोगले वैधता दिएमा ठाकुर समूह जसपामा बहुमतमा हुनेछ।

वर्तमान अवस्थामा भने ठाकुर समूहका ६ जना यादव समूहतिर लाग्दा अल्पमतमा परेका थिए महन्थ ठाकुर। जसका कारण उनले निर्वाचन आयोगमा कारवाही सम्बन्धी पत्रका लागि माग गरिएको कार्यकारिणी सदस्यको हस्ताक्षर पनि बुझाउन सकेनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell