काठमाडौं : लेखक नयनराज पाण्डेको नवीनतम कृति ‘जियरा’ सार्वजनिक भएको छ। प्रकाशक फाइनप्रिन्टले सोमबारदेखि कथा संग्रह बजारमा उपलब्ध गराएको हो।
सङ्ग्रहमा पाण्डेका १३ ओटा लामा कथा समावेश छन्। आफूले एउटै पात्रका बहुल रूप, एउटै कथामा बहुल कथानक र बहुल परिवेश अनि कथामा यथार्थ र मिथकको सम्मिश्रणले आख्यानको एउटा बेग्लै आभामण्डल निर्माण गर्ने प्रयास गरेको बताउँछन् लेखक।
‘जति किताब लेखिसके पनि आफ्नो नयाँ पुस्तक प्रकाशन हुँदा लेखक उत्साहित नै हुन्छ, म पनि उत्साहित छु,’ लेखक पाण्डेले भने, ‘यो उत्साहमा पाठकको प्रतिक्रिया बुझ्ने मेरो हुटहुटी पनि मिश्रित छ।'
‘जियरा’मा सङ्गृहीत कथा पढ्दा पाठक एकसाथ यथार्थ र स्वप्नमय संसारमा पुग्ने पाण्डेको विश्वास छ।
मधेसको पृष्ठभूमिमा लेखिएका कथाहरूको सङ्ग्र्रह ‘जियरा’मा लेखक पाण्डेले आफ्नै पूर्ववर्ती लेखन पद्धति भत्काउँदै कथावाचनको पृथक र प्रयोगमूलक शिल्प अनि शैलीसित पाठकलाई परिचित गराउने प्रकाशकको दावी छ।
जादुयी यथार्थवादी कथाहरूको मानक बनेर आएको पाण्डेको सङ्ग्रह पुँजीवाद, भ्रष्ट राजनीति र राजनीतिक संस्थापन, लोभ अनि पितृसत्ताको बलियो आलोचना रहेको फाइनप्रिन्टका अजित बरालले बताए। ‘मलाई लाग्छ, पाण्डेका पूर्वप्रकाशित कृति ‘उलार’ र ‘लू’ले जसरी ‘जियरा’ले पनि नेपाली आख्यानमा दरिलो उपस्थिति जनाउनेछ,’ उनले भने।
गत चैतमै पुस्तक बजारमा पठाउने तयारी गरिए पनि सोही समय कोभिड-१९ सङ्क्रमणको दोस्रो लहर सुरु भयो। वैशाख १६ देखि जारी निषेधाज्ञाले पुस्तक विमोचन प्रभावित रह्यो।
असार १ देखि भने बिहान ११ बजेसम्म पुस्तक पसल सञ्चालन गर्न दिने निर्णय सरकारले गर्यो। उक्त निर्णयले पुस्तकप्रेमीहरूलाई उत्साहित बनाएकाले पुस्तक पाठकको लागि सार्वजनिक गरेको बताउँछन् फाइनप्रिन्टका निरज भारी।
'पाठकले नयाँ फ्लेबरको पुस्तक पढ्न पाऊन्, उनीहरूलाई नयाँ खुराक मिलोस् भनेर फाइनप्रिन्टले ‘जियरा’ बजारमा ल्याएको हो,' उनले भने।
पुस्तकको यसको मूल्य ४७५ रुपैयाँ छ।
