PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

उत्तर प्रदेशमा पत्रकारको मृत्युले 'हंगामा', विपक्षले किन प्रश्न गर्दैछन् योगी सरकारलाई?



पहिलोपोस्ट

उत्तर प्रदेशमा पत्रकारको मृत्युले 'हंगामा', विपक्षले किन प्रश्न गर्दैछन् योगी सरकारलाई?

उत्तर प्रदेशको प्रतापगढ जिल्लामा पत्रकार सुलभ श्रीवास्तवको मृत्यु भयो। आइतवार राति एक ईंटा भट्ठाको किनारमा उनको शव भेटियो। प्रहरीले उनको मृत्यु दुर्घटनाको कारण भएको बतायो तर परिवार त्यो स्वीकार्न तयार छैन। उनीहरूलाई हत्याको आशंका छ।

प्रतापगढका प्रहरी एसपी आकाश तोमरले बीबीसीसँग मृत्युको कारण दुर्घटनाजस्तो देखिएको बताएका छन्। जसबारे थप अनुसन्धान भइरहेको सुनाए उनले। 'घटना हुँदा केही प्रत्यक्षदर्शी पनि थिए। उनीहरूले पनि यसलाई दुर्घटना नै भएको बताएका छन्। थप जानकारी पोस्टमोर्टम रिपोर्ट आएपछि थाहा हुन्‍छ,' तोमरले भने।

घटनाका कारण हाल त्यहाँको राजनीतिक व्यक्तिहरू पनि तातेका छन्।

मृत्यु हुनुभन्दा एकदिन अघि नै अर्थात् १२ जूनमा पत्रकार श्रीवास्तवले इलाहाबादको अतिरिक्त प्रहरी महानिर्देशक र प्रतापगढको प्रहरी अधिकृतलाई आफ्नो हत्याको आशंका जनाउँदै पत्र लेखेका थिए। ज्यान सुरक्षाको माग गर्दै लेखेका थिए,'रक्सीको माफियाबाट मेरो ज्यान खतरामा छ। किनकि मैले लेखेको एक समाचारका कारण धम्की आइरहेको छ र केही मानिसले मलाई पच्छ्याइरहेका छन्।'

श्रीवास्तवकी पत्नी रेणुकाले बताए अनुसार रक्सी माफियाविरुद्ध समाचार लेखेदेखि केही मानिस आफ्नो पछि लागेको घरमा बताएका थिए। 'प्रशासनलाई पत्र लेख्नुको कारण सुरक्षा मिल्छ कि भन्ने थियो। तर, त्यसअघि नै सबै कुरा सक्कियो,' उनले बीबीसी हिन्दीसँग भनेकी छिन्।

स्थानीय पत्रकार मनोज त्रिपाठीका अनुसार असलहा फ्याक्ट्रीमा कारवाहीको खबर संकलन गरेर श्रीवास्तव राति ९ बजे लालगञ्जबाट मुख्यालय गइरहेका थिए। घटना त्यतिबेलै भएको हो। उनको पछिपछि रहेका पत्रकारहरूले जिल्ला अस्पताल पुर्‍याएको केहीबेरमा उनी मृत घोषित भए।

पत्रकारको मृत्युलाई लिएर राजनीतिक दलका नेताहरूले सरकारलाई प्रश्न गर्न थालेका छन्। कांग्रेसका महासचिव एवं उत्तर प्रदेशकी इन्चार्ज प्रियंका गान्धी वाड्राले ट्वीटमार्फत् योगी सरकारलाई प्रश्न गरेकी छिन्। सोधेकी छिन्,'जंगलराजको पाल्ने-पोस्ने यूपी सरकारसँग सुलभ श्रीवास्तव जीको परिवारको आँशुको कुनै जवाफ छ?'

आम आदमी पार्टीका सांसद संजय सिंहले पनि यसलाई हत्याको संज्ञा दिएका छन्। उनले ट्वीट गरेका छन्, 'रक्सी माफियाविरुद्ध समाचार लेखेकै कारण यूपीमा एक पत्रकारको हत्या भएको छ। जब कि सुलभ जीले एडीजीलाई पत्र लेखेर हत्याको शंका व्यक्त गरेका थिए। तर, सबै निदाइ रहे।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell