PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सांसद वैद्यविरुद्ध उजुरी परेको बारे कांग्रेस प्रदेश संसदीय दलको ध्यानाकर्षण, ‘प्रदेशसभामा सशक्त प्रतिवाद गर्नेछौँ’



पहिलोपोस्ट

सांसद वैद्यविरुद्ध उजुरी परेको बारे कांग्रेस प्रदेश संसदीय दलको ध्यानाकर्षण, ‘प्रदेशसभामा सशक्त प्रतिवाद गर्नेछौँ’

हेटौँडा : जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कांग्रेस सांसद नरोत्तम वैद्यविरुद्ध परेको उजुरीबारे कांग्रेस वाग्मती संसदीय दलले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हिंसात्मक अभिव्यक्ति दिएका सांसद वैद्यविरुद्ध आइतवार एमालेका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मुद्दा दर्ता गराएका हुन्।

संसदीय दलका नेता इन्द्र बानियाँले प्रेस विज्ञप्ति जारी गर्दै सांसद वैद्यविरुद्ध राजनीतिक प्रतिशोधको आधारमा सरकारको दबाब र प्रभावमा जाहेरी दर्ता भएकोप्रति कांग्रेस वाग्मती प्रदेशको संसदीय दलको ध्यानाकर्षण भएको जनाएका छन्।

प्रदेशसभाको विशेषाधिकार हनन् गर्दै प्रदेशसभाको मानहानी गर्ने कार्य नेपालको संविधानको बर्खिलापमा भएको भन्दै प्रहरी अनुसन्धान अधिकारीलगायत सरकारका कुनै पनि निकायलाई यसो गर्ने कानुनी अधिकार नभएको बताइएको छ। संवैधानिक मूल्य/मान्यता र संसदीय अभ्यासमाथि गम्भीर आघात पुर्‍याएको उक्त दलको ठहर छ।

‘संवैधानिक व्यवस्था, विधिको शासन प्रचलित कानुनविपरीत गरेको यस्तो कार्यको नेपाली कांग्रेस प्रदेश संसदीय दल घोर भर्त्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

सांसद नरोत्तम वैद्यले आत्मालोचना गर्दै संसदमा उभिएर आफ्नो अभिव्यक्ति फिर्ता लिँदै माफि समेत मागिसकेका छन्। उनले आफ्नो अभिव्यक्ति सभामुखलाई संसद रेकर्डबाट हटाउन समेत अनुरोध गरेसँगै संसद रेकर्डबाट हटाउन सभामुख सानुकुमार श्रेष्ठले आदेश दिएका थिए। तर, आवश्यक परेमा गैर संवैधानिक कार्यको नेपाली कांग्रेस वाग्मती प्रदेशले प्रदेशसभामा सशक्त प्रतिवाद गर्ने दलका नेता बानियाँले विज्ञप्तिमा उल्लेख गरेका छन्।

‘आवश्यक परे यस्तो गैरसंवैधानिक कार्यको कांग्रेस प्रदेश संसदीय दलले प्रदेशसभामा सशक्त प्रतिवाद गर्नेछ,’ नेता बानियाँद्वारा जारी विज्ञप्तिमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell