कञ्चनपुर : गाउँमा गरिबी र बेरोजगारी छ। युवाहरु विदेश पलायन भइरहेका छन्। यस्तो निराशाका बिच केही गाउँमा भने गरिबीबाट उकास्ने माध्यम बनेका छन् सहकारी। रामपतिदेवी चौधरी ७ वर्षअघि गरिबीमा थिइन्। श्रीमानको कमाईमा घरायसी चुलोचौकोमा सीमित थिइन्। तर उनी अहिले एउटा सफल कृषक र उद्यमी बनेकी छन्। राम्रो आम्दानी गरेर गाउँकै ‘रोल मोडल’ बन्न पुगेकी छन्। महिला पनि सफल हुन्छ भन्ने पुष्टि गरेकी छन्। यसमा मार्गप्रशस्त गर्यो नवकिरण बचत तथा ऋण सहकारी संस्थाले।
कञ्चनपुरको कृष्णपुर नगरपालिका १ सुन्दरीफाँटाकी रामपतिदेवी अहिले व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएकी छन्। पहिले सानो करेसाबारीमा घरका लागि तरकारी फलाउँदै आएकी चौधरीले अहिले १० कठ्ठा खेतमा तरकारी खेती गरिरहेकी छन्। बारीमा उत्पादन भएको काक्रो, करेला, आलु, भिण्डी, बन्दा, मूलालगायत बचेर उनले एक सिजनमा करिब डेढ लाख कमाउँदै आएकी छन्। उनले कम समयमा बढी परिमाणमा उत्पादन हुने र बढी मूल्यमा बिक्री गर्न सकिने भनेर प्राय: टमाटर खेती गर्दै आएकी छन्। अघिल्लो पटक एकै टनेलबाट १५ हजारबढीको टमाटर नै बेचेको रामपति बताउँछिन्। पहिला सामान्य घरायसी काममा व्यस्त रहने ३१ वर्षिया रामपतिले २०७० सालदेखि तरकारी खेती गरेपछि उनको जीवनस्तर नै बदलिएको छ।
पहिला नुनतेल खर्च धान्न धौधौ हुने गरेकामा हाल तरकारी खेतीले ५ जनाको परिवार सहजै पालिरहेकी छन्। श्रीमानले पनि साथ दिएपछि झन् सजिलो भएको रामपति बताउँछिन्। तरकारी खेतीबाटै उनले थोरै पैसा पनि जम्मा गरेकी छ्न्। आफूलाई रहर लागेका सामान खरीद गर्न पनि अरूको भर पर्नु नपरेको सुनाउँदै रामपति भन्छिन्, ‘पहिला त आफ्ना रहर पनि थाती राखेर बस्नुपर्थ्यो। अहिले के छ र, जे मन लाग्यो किन्यो। मन लागेको खायो। बालबालिकालाई पनि राम्रो ठाउँमा पढाएकी छु।’
पहिला पहिला महिलाले सक्दैनन् भन्ने गरेको सुन्दा आफूलाई नरमाइलो लाग्ने गरेको भन्दै रामपतिले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘अचेल यहाँका कृषकहरूले तिमी त ‘मार्गदर्शक’ नै बनेकी छौं। तिमीले गरेको देखेर मैले पनि सुरु गरेँ भनेको सुन्दा खुसी लाग्छ।’
चौधरीले तरकारी खेती र त्यसबाट प्राप्त हुने आम्दानी देखेर सुन्दरीफाँटाका किसानहरू तरकारी खेतीमा लागेका छन्। शुक्लाफाँटा नगरपालिकामा रहेको नवकीरण बचत तथा ऋण सहकारी संस्थामार्फत किसान परियोजना सुरु भएपछि चौधरीले व्यावसायिक रूपमा तरकारी खेती गर्न सुरु गरेकी हुन्। संस्थाले किसानहरूलाई मल, बीउलगायतका बारेमा परामर्श दिएपछि अहिले रामपति पनि तरकारी बालीका विषयमा जानकार छन्।
उर्वर माटामा गाईभैंसीको मलबाट कीटनाशक औषधि प्रयोग नगरी उत्पादन गरिएको गोलभेँडा, सिमी, केराउ, साग, काउली, मुलालगायतका तरकारी उत्पादन गरी नजिकैको बजारमा लगेर राम्रो भाउमा बिक्री वितरण गर्न पाउँदा उनी दङ्ग छिन्। छाप्रामा तरकारी राखेर टाउकामा बोक्दै गाउँमा पनि बेच्दछिन् भने बढी भएको तरकारी स्थानीय बजारमा पुर्याउँछिन्। नवकिरणले गाउँमा कृषक समूह गठन गरी गरिब किसानलाई तरकारी खेती गर्ने तालिम, बीउबीजन दिएपछि अहिले कृषकको जीवनस्तरमाथि उठ्दै गएको छ।
रामपतिदेवीजस्तै सुन्दरीफाँटाका किरण चौधरीको जीवन पनि उकास्ने माध्यम बनेको छ सहकारी। किरणले नवकिरण सहकारीको किसान परियोजनाको साथ पाएपछि व्यवसायिक कृषि कर्ममा होमिए। पहिला खानका लागि मात्र कृषि कर्म गर्ने किरण अहिले परिवारैसहित व्यावसायिक तरकारी खेतीमा लागेका छन्। उनले हाल डेढ विगाहा भन्दा बढी क्षेत्रफलमा तरकारी लगाएका छन्। पोहोरसाल मात्र उनले तरकारी बेचेरै ८ लाख बढी आम्दानी गरेका छन्। खेतीबाटै मासिक ३०/३५ हजार मज्जाले कमाउन सकिने उनको अनुभव छ। ‘मासिक बढीमा २५ जति खर्च होला,’ किरण भन्छन्, ‘अरू सबै बचत नै हुने हो।’ सुरुमा स्थानीय स्तरमै उत्पादित तरकारी बेचेका किरणले आजकल धनगढी र महेन्द्रनगरसम्म सवारी भाडामा लिएर पुर्याउने गरेका छन्। सहकारीको किसान परियोजनाबाट सहयोग पाएपछि किरणको परिवार नै अहिले खेतीप्रति आकर्षित भएको छ। परियोजनामार्फत कृषि सामग्रीहरू पाएपछि किरणको परिवारलाई उत्प्रेरित गर्यो। परिवारै कृषि व्यवसायमा होमिएको छ।
परिवारका सदस्यले साथ दिएर निकै व्यस्त जीवनशैली पनि सहज बनाउन सकिने किरण बताउँछन्। मान्छेहरू यहाँ केही छैन भनेर विदेश पलायन भएको देखेर दु:ख लाग्ने किरणको भनाइ छ। ‘इमानदार र लगनशील भएर गर्ने हो भने नेपालमै धेरै छ, गर्दै जाने हो पक्का सफल भइन्छ,’ उनले भने। किरण आफै पनि व्यवसायिकतातिर अघि बढ्दैछन्। आफ्नो व्यवसायलाई विस्तार गर्ने सोचमा छन्।
माथि उल्लेखित पात्र उदाहरण मात्रै हुन्। २०६८ सालमा खुलेको नवकिरण बचत तथा ऋण सहकारी संस्थाबाट सयौं उपभोक्ता लाभाम्वित भएका छन्। जिल्लामा सहकारी थुप्रै भए पनि सदस्य बन्न सजिलो थिएन। ५० हजारदेखि १ लाखसम्म लाग्थ्यो। यत्रो तिरेर गरिब, विपन्न र मुक्त कमैयाहरुले सदस्यता लिने त कल्पना बाहिरको कुरा थियो। तर विपन्न वर्गलाई लक्षित गरी अघि सरे धनबहादुर कुश्मी। ५६ जना सदस्य बनाएर नवकिरणको शुभारम्भ गरे। विपन्न समुदायको भएकाले ५ सयका दरले शेयर दियो। २८ हजार पुँजीमा सहकारी खुल्यो। जबकी अरु सहकारी खुल्दा न्यूनतम १५ देखि २० लाख सम्म पुँजी उठ्थ्यो।
पुँजी धेरै नहुँदा पहिलो वर्ष ३३ हजार घाटा लाग्यो। अनि कुश्मीले अर्को वर्ष घाटा नै भए पनि कर्मचारी राखेर अघि बढ्ने जोखिम मोले। ३ जना कर्मचारी राखियो। बचत र शेयर सदस्य वृद्धि गर्दा तेस्रो वर्ष १ लाख आम्दानी भयो। विपन्न समुदायमा सहकारी उकालो लाग्दै गर्दा जोडिन आइपुग्यो किसान परियोजना। युएसएडको परियोजनाले पहिलो वर्ष तालिमका लागि सहयोग गर्यो। सहकारीको ७० प्रतिशत लगानीमा। विपन्नलाई तालिम दिइयो। प्रभाव सकारात्मक देखियो। ‘यो सहकारीले काम गर्दो रहेछ भनेर मुल्यांकन गरेर तालिमसम्म दियो। राम्रो काम गर्यो भनेर पछि ठूलो मात्रामा दियो सहयोऊ दियो। ५०/५० प्रतिशत लगानी गरेर अघि बढ्यौं। तालिममात्र होइन बिउबिजनदेखि कृषि यन्त्रसम्म दिने अवस्था बन्यो,’ अध्यक्ष कुश्मीले भने।
१२ जनालाई प्रत्यक्ष रोजगारी दिएको सहकारीसँग अहिले ४ हजार मानिस आबद्ध छन्। जसमा १६ सय घरधुरी प्रत्यक्ष तरकारी खेतीमा संलग्न छ। ६४ वटा तरकारी समूह छन्। जिल्लाको शुक्लाफाँटा र कृष्णपुर नगरपालिकालाई कार्यक्षेत्र बनाएको नवकिरणले थारु समुदायका मुक्त कमैयाको जीवनस्तर उकास्न उल्लेख्य भूमिका खेलेको छ।
सहकारीको मूल्य, मान्यता र नीतिलाई क्रमश कार्यान्वयन गरेकाले यो सहकारी सुदूरपश्चिम प्रदेशकै मूल्यांकनमा तेस्रोमा परेको छ। ‘कार्यक्षेत्रमा हेर्दा सानो छौं। तर काम गरेको नियमनमा हेर्दा प्रक्रियागत रुपमा हेर्दा प्रदेशमा तेस्रो सम्ममा पुगेका छौं। मुल्यांकन गर्नेले सहकारीको नीति नियम पालना प्रक्रियाका आधारमा मूल्यांकन गर्दा प्रदेशमा अगाडि छौं,’ अध्यक्ष कुश्मीले भने।
नियमन नहुँदा बदनाम
अक्सर सहकारीलाई ठग्ने संस्थाका रुपमा पनि बुझिँदै आएको छ। तर यसमा अध्यक्ष कुश्मी फितलो नियमन र कमाउने भाडो बनाउँदा सहकारी क्षेत्र बदनाम हुन पुगेको बताउँछन्। ‘बदनाम भइरहेका छन्। सहकारीका बारेमा मान्छेले नबुझेर नचिनेर। सहकारी खोल्न, दर्ता गर्न गाह्रो छैन। कार्यान्वयन गर्न गाह्रो छ। पैसा उठाउने र खर्च गर्ने र उठाएको पैसा पनि फिर्ता नगर्ने प्रवृत्तिले सहकारी क्षेत्रलाई नै बदनाम गरिरहेको छ। यसमा सरकारी अनुगमन भएन। धेरैले केन्द्रीय संघमा आबद्ध नभइकन काम गर्दा पनि समस्या छ,’ अध्यक्ष कुश्मीले भने।
अध्यक्ष कुश्मीका अनुसार झलारीमा मात्रै ६८ सहकारी छन्। तर सबै प्रक्रिया पुर्याएका ५ वटा मात्रै छ। ‘यदि नियमनकारीले कडाई गर्ने हो भने प्रक्रिया पुग्दैन। तिनीहरुले गर्दा नै यो क्षेत्र बदनाम भएको छ,’ उनले भने।
अध्यक्ष कुश्मी लघुवित्त र सहकारी एउटै हो भन्ने भ्रमले पनि यो क्षेत्र बदनाम हुन पुगेको बताउँछन्। ‘लघुवित्तले बदमासी गर्यो भने सहकारीलाई भन्छन्।धेरै मान्छेले नबुझेको कारणले सहकारीहरु बदनियत भएको पाइएको छ,’ उनले भने। झोले सहकारीले गर्दा पनि समस्या भएको उनको निष्कर्ष छ।