PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सय रुपैयाँ हाराहारीमा सुन्न सकिने नेपाली कृतिहरू, आँखाको समस्या भएकालाई पनि पुस्तकको सहज पहुँच



पहिलोपोस्ट

सय रुपैयाँ हाराहारीमा सुन्न सकिने नेपाली कृतिहरू, आँखाको समस्या भएकालाई पनि पुस्तकको सहज पहुँच

काठमाडौं : नेपाली आख्यान तथा गैर आख्यानका लागि सुन्न सकिने पुस्तकको विकास भएको छ। पुस्तकलाई प्रविधिसँग जोड्न डेढ वर्षअघि सुरु भएको ‘थुप्रै डट कम’ले अडियोबुक सार्वजनिक गरेको हो।

‘थुप्रै डट कम’को वेबसाइट र ‘थुप्रै’ नामक मोबाइल एपमार्फत् पुस्‍तक खरिद्गरी सुन्न सकिनेछ । यो एप प्रकाशक, लेखक तथा वाचकहरूलाई आफ्नो कृति आधिकारिक रूपमा बजारमा पुर्‍याउने फरक माध्यम हुने थुप्रैको विश्वास छ। जारी विज्ञप्तीमा भनिएको छ,' यसले लेखक, प्रकाशक र वाचक सबैको प्रतिलिपि तथा आर्थिक अधिकार सुनिश्चित गर्नेछ भने पाठकहरूका लागि पनि सहज माध्यम बन्नेछ।'

यसअघि नेपाली पुस्तकहरू सिडी, रेडियो, युट्युब लगायतका माध्यमबाट मात्र सुन्नका लागि उपलब्ध हुन्थे।

अनलाइन अर्डर लिएर ढोकैमा पुस्तक पुर्‍याउने सेवाबाट सुरु भएको थुप्रै डट कमले अघिल्लो लकडाउनमा इबुकको सेवा सुरु गरेको थियो। यसपटक ‘थुप्रै’ले सुन्न मिल्ने पुस्तकको प्रकाशन र खरिद गर्न मिल्ने व्यवस्था आफ्नो वेबसाइट तथा एपमा थपेको हो।

अडियोबुक यात्रा गर्दा, घरायसी काम वा व्यायाममा व्यस्त हुनेहरूका लागि सुविधाजनक बन्ने बताइएको छ।

त्यस्तै दृष्टिविहीन र आँखाका समस्या भएकाहरूका लागि पनि अडियोबुक उपयुक्त विकल्प हुनसक्छ। नेपाली भाषा बोल्न र बुझ्न सक्ने तर नेपाली पढ्न र लेख्न नसक्ने आप्रवासी नेपालीका लागि पनि अडियोबुक गज्जबको माध्यम बन्न सक्ने जनाइएको छ।

हाल अडियो बुकका लागि माधवप्रसाद घिमिरे, इश्वर वल्लभ, दिनेश अधिकारी, दुर्गालाल श्रेष्ठ, बैरागी काइँला, तुलसी दिवस, तोया गुरुङ, राजेन्द्र शलभ, विष्णुविभु घिमिरे, श्यामल, सुजीव शाक्य र जीवन कुमार प्रसाईंजस्ता लेखकहरूले आफ्नै आवाजमा आफ्नो कृतिहरू वाचन गरेका छन्। प्रख्यात रेडियोकर्मी खगेन्द्र नेपाली र अच्युत घिमिरेको आवाजमा सिद्दिचरण श्रेष्ठ, विश्वेश्वरप्रसाद कोइराला, रमेश विकल, डायमनशमशेर राणा, नारायण वाग्ले, जीवा लामिछाने, लैनसिंह बाङ्देल, दुबसु क्षेत्री र गणेश राईका चर्चित कृतिहरु पनि उपलब्ध छन्।

‘थुप्रै’का सहसंस्थापक दिपेश आचार्यका अनुसार हाललाई प्रति अडियोबुक एक सय रूपैयाँको हाराहारी पर्छ।

अडियोबुकहरू ‘थुप्रै’को वेबसाइट र ‘थुप्रै’ मोबाइल एपमार्फत उपलब्ध छन् ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell