काठमाडौं : पेट्रोलियम ट्यांकर चालकले कोभिड १९ विरुद्धको खोप पाउने भएका छन्।
खोप नपाएको भन्दै चालकले ढुवानी ठप्प पारेपछि आयल निगम व्यवस्थापन, पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र पेट्रोलियम ट्यांकर चालक संघका प्रतिनिधिबिच ट्यांकर चालक, सह-चालकलाई खोप लगाउने सहमति भएको हो।
चालकले असार २ देखि निगमबाट जारी परिचयपत्रको आधारमा निगमको प्रादेशिक कार्यालय र थानकोटबाट संचालित ट्यांकर चालक र सह-चालकलाई कोभिड १९ को खोप लगाउने सहमति भएको निगमले जनाएको छ।
सहमतिसँगै जेठ ३० देखि जारी चालकहरुको आमहड्ताल फिर्ता भएको छ। पेटोलियम ट्यांकर चालक संघले निगमको वागमती प्रादेशिक कार्यालय, थानकोट तथा २ नं. प्रादेशिक कार्यालय, अमलेखगञ्जमा खोपका कारण पेट्रोलियम पदार्थको लोड अनलोड तथा विक्री वितरणमा गर्दै आएको बन्दको कार्यक्रम आजबाटै फिर्ता लिई ट्यांकर संचालन सुरू गरि डिपो अपरेशनको कार्य सुचारू गर्ने सहमति भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन्।
नेपाल सरकारको खोप कार्यक्रमअन्तर्गत निगमको एक नम्बर प्रादेशिक कार्यालय विराटनगर, लुम्बिनी प्रादेशिक कार्यालय भलवारी भैरहवा, इन्धन डिपो नेपालगञ्ज र शाखा कार्यालय चारआलीमा ट्यांकर चालक, सह-चालकहरूलाई खोप लगाउने कार्य सम्पन्न भइसकेको पनि निगमले जनाएको छ।
निगमका अनुसार जनकपुर, पोखरा र अमलेखगज डिपोमा अहिले खोप लगाउने कार्यक्रम भैरहेको छ। निगमसँग आबद्ध एलपी ग्यास उद्योगी, ग्यास विक्रेता, पेट्रोलियम व्यवसायी, कर्मचारी तथा मजदुरहरूलाई क्रमिक रूपमा खोप लगाइँदै जाने निगमले जनाएको छ।
