
पोखरा : गण्डकी प्रदेशमा आगामी वर्षका लागि प्रदेश सरकारले ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।
मंगलबार प्रदेशसभामा मुख्यमन्त्री नियुक्त कृष्णचन्द्र नेपालीले आब २०७८/०७९ को बजेट प्रस्तुत गरेका हुन्। तीन दिन अघिमात्र नेपालीले मुख्यमन्त्री पद सम्हालेका हुन्। प्रदेशको पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन असफल रहेपछि प्रतिपक्षी दलका नेता रहेका कृष्णचन्द्र नेपालीको नेतृत्वमा गठबन्धन सरकार बनेको हो। सरकार बने पनि मन्त्रिपरिषदले पूर्णता नपाउँदै तथा कार्य विभाजन समेत नहुँदा उनैले बजेट सार्वजनिक गरेका हुन्।
गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षकोमा भन्दा ४ अर्ब रुपैयाँले घटेर ल्याइएको छ। अघिल्लो आर्थिक वर्ष ३४ अर्ब ८४ करोड २१ लाख रुपैयाँको बजेट ल्याइएको थियो। प्रदेशको आन्तरिक आम्दानी र संघबाट अनुदानमा गिरावट आएपछि प्रदेशमा बजेटको आकार पनि खुम्चिएको हो।
केन्द्रबाट समानीकरण अनुदानमा ७ अर्ब ४२ करोड २८ लाख रुपैयाँ पाएको छ गण्डकीले। त्यस्तै, सशर्त अनुदानमा ४ अर्ब १८ करोड ४३ लाख, विशेष अनुदानमा ५४ करोड ९० लाख, समपुरक अनुदानमा ८७ करोड ३६ लाख रुपैयाँ आएको छ।
चालु तर्फ ४३.५ प्रतिशत र पुँजीतर्फ ५५.७ प्रतिशत, वित्तीय व्यवस्थापनमा ०.८ प्रतिशत बजेट विनियोजन गरिएको छ।
आर्थिक वर्ष२०७८/७९ को बजेटमा स्थानीय तहका लागि वित्तीय समानीकरण अनुदानमा १ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। वित्तीय समानीकरण अनुदानमा स्थानीय तहलाई १ अर्ब १० करोड रुपैयाँ, प्रदेश र स्थानीय तहको साझेदारीका लागि प्रत्येक पालिकालाई १ करोड रुपैयाँ प्रदेश सरकारले विनियोजन गरिएको छ।
स्वास्थ्यलाई प्राथमिकता
स्वास्थ्यलाई प्राथमिकता दिएर आएको गण्डकी प्रदेशको बजेटले प्रदेशका जिल्ला अस्पतालमा आँखा, किड्नीका बिरामीलाई डायलाइसिस र ज्येष्ठ नागरिकका लागि वार्ड बनाउन बजेट विनियोजन भएको छ।
नवलपुरको मध्यविन्दू अस्पताल, तनहुँको दमौली अस्पताल, बागलुङको धौलागिरि अस्पताल, पर्वतको भिरकोट अस्पताललाई ट्रमा सेन्टरको रुपमा स्तरोन्नति गर्ने बजेटमा उल्लेख छ।
प्रदेशले संघीय सरकारको सहयोगमा सबै जिल्ला अस्पताललाई २५ देखि ५० शय्या र धौलागिरि अस्पताललाई स्तरोन्नती गर्ने उल्लेख गरेको छ। प्रदेशका जिल्ला अस्पतालमा २ देखि ५ शय्याको सघन उपचार कक्ष स्थापना गर्ने लक्ष्य बजेटले लिएको छ।
गोरखाको आँप पिपल अस्पताललाई ५० शय्याको स्तरोन्नति गर्ने, गण्डकी विश्वविद्यालयमा ३५० शय्याको जनरल, ५० शय्याको मुटु रोग, ५० शय्याको अर्बुद र ५० शय्याको मिगौला रोगको उपचार गर्ने सुविधा सहित शिक्षण अस्पतालको निर्माणका लागि बजेट विनियोजन भएको छ।
क्यान्सर, मुटु रोग, पार्किन्सन, मिर्गौलको उपचारमा गरिब विपन्नलाई सहयोग गर्ने गरी मासिक ४ हजार उपलब्ध गराउन बजेट विनियोजन भएको छ।
त्यस्तै, प्रदेशमा कोरोनाबाट मृत्यु भएकाको परिवारलाई प्रदेश सरकारले ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ। कोरोना भएर मृत्यु भएका परिवारका सन्तानलाई ५ हजार रुपैयाँ मासिक भत्ता उपलब्ध गराउने प्रदेशले घोषणा गरेको छ।
यस्तै, प्रदेश सरकारले बहुक्षेत्रीय पोषण कार्यक्रमलाई निरन्तरता दिएको छ। बालबालिका, गर्भवती र अपाङ्गता भएका लागि पोषण पुर्याउन कार्यक्रमलाई निरन्तरता दिन १ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ।